बालीजन्य कृषि अवशेषको कम्पोष्टिङ र माटोको दिगो व्यवस्थापनमा जोड

भैरहवा– तराई मधेशमा धेरै किसानले गहुँबाली भित्र्याए पछि बालीका अवशेष खेतमा जलाउने गरेका छन् । किसानहरुको भनाइमा अवशेष जलाएपछि त्यहाँ रहने खरानीले मलको काम गर्छ । तर बालीजन्य अवशेष खेतमा जलाउँदा फाइदा भन्दा बढी नोक्सान हुने गरेको छ । वातावरण, उर्जा तथा जल अनुसन्धान परियोजना केन्द्र काठमाडौंका अनुसन्धानकर्ता तथा संस्थाका कार्यकारी निर्देशक डा. रविन मल्लले बालिजन्य अवशेष जलाउँदा नजिकमा रहेको बाली, वनजंगल र बस्तीमा आगो सल्केर नष्टसमेत हुने बताए ।
उनले वातावरणमा पर्न जाने क्षति र असरबारे कम मात्रामा ध्यान किसानको रहेको र बालीजन्य अवशेष जलाउँदा माटोको गुणस्तर खस्किनुका साथै वायु प्रदूषण भई जलवायु परिवर्तनमा समेत असर पुग्ने बताए । डा. मल्लका अनुसार नेपालमा वार्षिक सरदर ४४ लाख ८२ हजार ७८७ मेट्रिकटन बालीजन्य अवशेष जलाउने गरिन्छ । यो बालीजन्य अवशेषको कम्पोष्टिङ गरेमा करिब ८० लाख ६८ हजार ९९९ मेट्रिकटन मल उत्पादन गर्न सकिन्छ ।
उत्पादित कम्पोष्ट मलले तराई क्षेत्रको कृषि माटोमा कम मात्रामा रहेको (१ प्रतिशत भन्दा कम) र मध्यम मात्रामा रहेको (१–२.५ प्रतिशत) जैविक पदार्थलाई बढाई खेतीयोग्य माटोको लागि चाहिने जैविक पदार्थ ५ प्रतिशतसम्म बढाउन मद्दत गर्छ । तर यसप्रति कसैको चासो नरहेको उनी बताउँछन् । ‘न सरकार न त किसान कसैलाई बालीजन्य अवशेष जलाउँदा हुने फाइदा बेफाइदाको चिन्ता छ’ डा. मल्लले भने, ‘बालीजन्य अवशेष खेतमै जलाउनुको सट्टा त्यसै छाडे अथवा कम्पोष्टिङ गरी मल मनाउन सकिन्छ ।’
वातावरण, उर्जा तथा जल अनुसन्धान केन्द्रले मायादेवी गाउँपालिका र लुम्बिनी सिड कम्पनीको साझेदार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम–विश्व वातावरण कोष–साना अनुदान कार्यक्रमको सहयोगमा माटोको दीगो व्यवस्थापन तथा परिस्थितीक प्रणाली सुधारका लागि बालीजन्य अवशेषको कम्पोष्टिङ परियोजनाअन्तर्गत रुपन्देही र नवलपरासीका पालिकाहरुसँग परियोजनाबारे आदान–प्रदान तथा विस्तार सम्बन्धि कार्यक्रम गरेको छ ।
कार्यक्रममा रुपन्देही र नवलपरासीका मायादेवी, कोटहीमाई, गैडहवा, सरावल, प्रतापपुर र रामग्राम, तिलोत्तमा र सुनवल नगरपालिकाका ४५६ कृषकलाई तालिम दिइएको थियो । १४ जना अगुवा कृषकलाई यो प्रविधिबारे अभ्यास गराउँदै अन्य कृषकमाझ प्रचारप्रसार र विस्तार गर्न तयार गरिएको छ ।
परियोजनाले गहुँको छ्वाली र धानको पराललाई कुहाउने सक्ने सुक्ष्म जीवलगायत अन्य सुक्ष्म जीवको समिश्रण तयार गरेको छ र यसको प्रयोगले प्रारम्भिक नतिजा अनुसार चाहिने हावा, चिस्यान, तापक्रम र कार्बन नाइट्रोजन अनुपात कम गर्दै मिलाएर लगेको खण्डमा २.५ महिनामा कुहाएर मल बन्न सक्ने बताइएको छ ।
यसैगरी बालीजन्य अवशेष कम्पोष्टिङ गरी मल बनाउन कृषकले आफ्नै स्थानीय ठाउँमा पाइने गाईको गोबर, गाईको मुत्र, सख्खर, बेसन मलिलो माटो १ सय लिटर पानीमा घोल बनाई हरेक दिन केहीबेर चलाई १०–१५ दिन पछि गहुँको छ्वाली र धानको पराललगायत अन्य बालीजन्य अवशेष तथा जैविक अवशेषको कम्पोष्टिङमा प्रयोग गर्न सकिने परियोजनाका सहायक अनुसन्धानकर्ता नविन चौलागाईंले बताए ।
परियोजनाका अनुसन्धानकर्ता डा. मल्लले हरेक पालिकाले माटोको गुणस्तर उकास्न कृषिजन्य अवशेषलाई यस परियोजनाले तयार गरेको प्रविधि र कृषकलाई जोड्न बनाउन सिकाएको कम्पोष्टिङ प्रविधिको प्रयोग र विस्तार गर्न पालिकाहरुलाई प्रस्तावसहित आउन आग्रह गरे ।
परियोजनाका टिम लिडर डा. सविन बसीले तयार भएको प्रविधिले वनजंगलमा हुने पातपतिंगर पनि कुहाउन सक्ने देखिएकाले डढेलो कम गर्न पनि मद्दत हुन सक्ने बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजाना, परियोजाना कार्यान्यन एकाई, भैरहवाका प्रमुख नारायण काफ्लेले परियोजनाले गरेका कार्यक्रमको आफ्ना जोनका कृषकले रुचाएकाले कार्यक्रम बनाई निरन्तरता दिने बताए । मायादेवी गाउँपालिका कृषि शाखा प्रमुख शशी ढुंगानाले माटोलगायत कृषिको सम्पूर्ण पर्यावरण सुधारको खाँचो रहेको बताए ।
सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे र मायादेवीका अध्यक्ष ध्रुवनारायण चौधरीले गाउँपालिकामा सीमित साधनस्रोत हुने हुँदा चुनौती रहेको बताए । तर पनि परियोजाना अगाडि बढाउने र कृषकका लागि सचेतना र तालिमका कार्यक्रममा जोड दिने बताए । बालीजन्य अवशेष खेतमै जलाउँदा शत्रु किरासँगै मित्र किरा पनि मर्ने र माटोको उर्वरा शक्ति घटदै गई प्रत्येक वर्ष उत्पादनमा कमी हुने, वातावरण प्रदुषित हुने, पशु आहार अभाव हुनुका साथै गुणस्तरीय अन्न नफल्ने र आगलागीको जोखिम बढी हुने गर्छ ।