सात वर्षमा १४ प्रशासकीय अधिकृत

स्याङ्जा– २०७२ को संविधान जारी भएपछि बनेका स्थानीय तहको हालसम्मको तथ्यांक हेर्ने हो भने स्याङ्जाको हरिनास गाउँपालिकामा छ महिनामै प्रशासकीय अधिकृत फेरिने गरेको पाइएको छ । हरिनासमा पछिल्लो ७ वर्षमा १४ प्रशासकीय अधिकृत परिवर्तन भएका छन् ।
गाउँपालिकामा हालसम्म १४ प्रशासकीय अधिकृत परिवर्तन भएका छन् । साविकको क्याक्मी, चित्रेभञ्ज्याङ्ग र मग्याम चिसापानीका सम्पूर्ण वडा तथा किचनास र चिन्नेवासका केही वडा मिलेर बनेको गाउँपालिकाको प्रशासकीय अधिकृतको अनावश्यक सरुवाले अपेक्षाकृत विकासमा गति लिन नसकेको स्थानीयको गुनासो छ ।
सरकारी कर्मचारी सुविधा भोगमा लिप्त छन् भन्ने उदाहरण हरिनास गाउँपालिकाले देखाएको स्थानीय जनप्रतिनिधिको भनाइ छ । जिल्ला सदरमुकामदेखि झण्डै ३५ किलोमीटरको दूरीमा रहेको पालिका जिल्लाबाट जाने पक्की सडक नभएपनि तनहुँको दुलैगौडा हुँदै पक्की सडकले जोडिएको भएपनि पालिकालाई विकट मानिन्छ ।
जिल्लाका ११ पालिकामध्ये सदरमुकामबाट विकटमा रहेको पालिका अन्तरगत पर्ने यो पालिकामा सरकारी कर्मचारीहरु काम गर्न जान आनाकानी गर्ने गरेका छन् । सोही कारण २०७३ सालदेखि हालसम्म प्रशासकीय अधिकृत परिवर्तन भएको संख्या १४ पुगेको छ । १५औं प्रशासकीय अधिकृत रुपमा शिवकुमार पौडेल २०८१ फागुनबाट कार्यरत छन् ।
पालिकामा एक कार्यकाल प्रशासकीय अधिकृतको रुपमा कार्यरत एक अधिकृतले पालिकामा अध्यक्षका कारण प्रशासकीय अधिकृत टिक्न नसकेको आरोप लगाए । उनले भने ‘वर्तमान अध्यक्ष रहँदासम्म हरिनासमा कर्मचारी टिक्न सक्दैनन् ।’ २०७९ सालको स्थानीय निर्वाचनमा एमालेबाट खिमबहादुर मानन्धर अध्यक्षमा निर्वाचित भएका थिए । उनी दोस्रो पटक सो गाउँपालिका अध्यक्षको रुपमा निर्वाचित भएका हुन् ।
‘हामी कानुन र विधिसम्मत काम गर्न चाहन्छौं, तर जनप्रतिनिधिमा आफू अनुकुल काम गर्ने प्रवृत्तिका कारण तालमेल हुन नसक्दा समस्या उत्पन्न भएको हो’ अर्का एक अधिकृतले भने, ‘हामीलाई चल्न विधि हेर्नुपर्यो, जनप्रतिनिधिले बलमिच्याँई गरेर अगाडी बढ्न खोज्दा समस्या थपिएको हो ।’ झमेलामा बसिरहनुको सट्टा कतिपय अधिकृतहरु सुविधा प्रयोगको लागि अन्यत्र सरुवा भएको हुन सक्ने उनको भनाइ छ ।
गाउँपालिका अध्यक्ष र अधिकृतबीच तालमेल नमिल्दा छोटो समयमै प्रशासकीय अधिकृत सरुवा भएर अन्यत्र जाने गरेको वडा–५ का वडाध्यक्ष निर्मल लम्सालले बताए । जनप्रतिनिधि जनतामुखी र प्रशासकीय अधिकृत कानुनमुखी हुँदा प्रशासकीय अधिकृत टिक्न नसकेको पनि हुन सक्ने उनको भोगाइ छ । हरिनासमा अध्यक्ष र अधिकृतबीच तालमेल नमिल्दा आन्तरिक कारणले देखाउँदै अधिकृत सरुवा हुने गरेको अध्यक्ष लम्सालको अनुभव छ ।
कतिपय अधिकृत व्यक्तिगत कारणले पनि रहन सक्नु भएन होला र कतिपय आपसी समझदारी तथा समन्वयमा कमी भएका कारण अधिकृत सरुवामा जाने गरेको गाउँपालिका अध्यक्ष मानन्धरले बताए । गाउँपालिका विकट क्षेत्रमा रहेकाले चाहे जस्तो सुविधा नहुँदा सरुवा भएर गएको हुन सक्ने अध्यक्ष मानन्धरले सुनाए ।
जनप्रतिनिधि र कर्मचारी मिल्न सके गाउँपालिकाकै विकास हुनसक्ने थियो तर बलमिच्याँई र कानुन देखाउँदै दुवै निकाय उम्कन खोज्नु गलत भएको स्थानीय कृष्णबहादुर चन्दले बताए । जनप्रतिनिधि निर्वाचित हौं भन्ने घमण्ड नत्याग्दासम्म समस्याको समाधान ननिसक्ने दाबी गरेका चन्दले कर्मचारीले पनि कानुन मात्रै देखाएर भन्दा राज्यप्रति बफादार बन्नुपर्ने औल्याए ।