Logo

बजेट अभावले काम अघि बढ्न सकेन

सैनामैनामा स्मार्ट रिफ्रेस सेन्टर निर्माण अलपत्र

बुटवल- रुपन्देहीको सैनामैना नगरपालिका-९ पिपलडाँडामा साढे चार वर्षअघि स्मार्ट रिफ्रेस सेन्टर निर्माण सुरु गरिएको थियो । २०७७ साल मंसिर १२ गते लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले स्मार्ट रिफ्रेस सेन्टर निर्माणको शिलान्यास गरेका थिए । एक बिघा क्षेत्रफलमा सुरु गरिएको रिफ्रेस सेन्टरको निर्माण कार्य अघि बढ्न नसकी अहिले अलपत्र अवस्थामा छ ।

दुर्घटना न्यूनीकरणलाई सघाउ पुर्‍याउने उद्देश्यले लामो दूरीका सवारी चालकका लागि पिपलडाँडामा रिफ्रेस सेन्टर निर्माण थालिएको थियो । यहाँ लामो दूरीमा सवारी चलाएर थाकेका चालकले केही बेर आराम गर्ने, यात्रुको आरामसहित खाना, नास्ता र शौचालयको गुणस्तरीय सुविधा दिने व्यवस्था रिफ्रेस सेन्टरमा हुने भनिएको थियो । रिफ्रेस सेन्टरको पहिलो चरणको काम मात्र सम्पन्न भएको छ । तर दोस्रो चरणको संरचना निर्माणको काम अघि बढ्न सकेको छैन ।

पहिलो चरणमा स्मार्ट ट्वाइलेट, खाजा घर, सवारी चालक बस्ने तथा आराम गर्ने कक्षका लागि भवन, कम्पाउण्ड वाल, नाली लगायतका संरचना बनेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुपन्देहीले जनाएको छ । पहिलो चरणका लागि तीन करोड ७४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ साल असार मसान्तसम्म म्याद थियो । समयमा काम नसकिएपछि सोही वर्ष माघसम्मको लागि म्याद थप गरिएको थियो । अघिल्लो आर्थिक वर्षमा पहिलो चरणको काम सकिएको थियो ।

दोस्रो चरणको काम अघि नबढ्दा रिफ्रेस सेन्टर कहिले सञ्चालनमा आउँछ भन्ने अनिश्चित छ । चालु आर्थिक वर्षमा रिफ्रेस सेन्टरका लागि कुनै पनि निर्माणको काम भएको छैन । दोस्रो चरणको लागत अनुमान ६ करोड ७६ लाख रुपैयाँ रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुपन्देहीका प्रमुख राजकुमार चौधरीले बताए । जसअन्तर्गत भित्र पहुँचमार्ग, सवारी पार्किङ कक्ष, बच्चा खेल्ने पार्क, शौचालयको व्यवस्थापन, गाडीहरुको चार्जिङ सेन्टरलगायतका संरचना बनाउनुपर्ने उनले जानकारी दिए ।

प्रदेश सरकारसँग बजेट अभाव हुँदा दोस्रो चरणको ठेक्का लाग्न नसकेको कार्यालय प्रमुख चौधरीको भनाइ छ । ‘बजेट नहुँदा रिफ्रेस सेन्टरको दोस्रो चरणका लागि टेण्डर प्रक्रियामा जान सकेका छैनौं । प्रदेश सरकारले अरु आयोजनाको भुक्तानी दिन बाँकी छ,’ उनले भने, ‘त्यसैले यो आयोजनाका लागि बजेट छुट्टिन नसकेको हो । अर्को आर्थिक वर्षमा बहुवर्षीय बजेट छुट्याएर ठेक्कामा जाने योजना छ ।’

कानुनी व्यवस्थाअनुसार अहिले स्रोत सुनिश्चितता नगरिकन कुनै पनि आयोजनाको ठेक्का लगाउन पाइँदैन । आर्थिक मामिला मन्त्रालयबाट स्रोतको सुनिश्चितता गरेर मात्र आयोजनाको टेण्डर प्रक्रियामा जानुपर्ने हुन्छ । तर अगामी वर्ष पनि दोस्रो चरणको निर्माण अघि बढ्ने सम्भावना कम छ । प्रदेश सरकारले पहिलो चरणको निर्माण सम्पन्न गरेर दोस्रो चरणको निर्माणका लागि सैनामैना नगरपालिकालाई हस्तान्तरण गर्ने योजना बनाएको थियो ।

तर नगरपालिकाले लिन मानेन । निर्माण पूरा गरेरमात्र सञ्चालनका लागि आफूहरुलाई दिन भनेको सैनामैनाका नगर प्रमुख फणेन्द्र शर्माले बताए । ‘अधुरो लिएर हामीले के गर्ने हो । निर्माण पूरा गरेर, कार्यविधि बनाएर दिएमात्र हामीले चलाउँछौं भनेका हौं,’ उनले भने । नगर प्रमुख शर्माले तीन वर्षमा राम्रो संरचना बन्छ भन्ने आफूहरुले सोचेको तर अहिले केही काम नभई अलपत्र परेको उल्लेख गरे ।

बजेट छुट्याएर काम अघि बढाउन आफूहरुले पटक पटक प्रदेश सरकारलाई भनेको समेत उनले सुनाए । सैनामैनको अलपत्र परेको स्मार्ट रिफ्रेस सेन्टरको संरचना भत्किनसमेत थालेको छ । निर्माण अघि नबढ्दा संरचना जीर्ण बन्नुका साथै यसको कम्पाउण्ड वाल भत्किएको हो । रिफ्रेस सेन्टरको वरिपरि लगाइएको बाउन्डरीको पर्खाल ठाउँठाउँमा चिरा परेर भत्किन थालेको छ भने चौरभरि विरुवा उम्रिएर झाडी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्