वीरगन्जमा क्रिकेट र फुटबल प्रतियोगिता जारी «

वीरगन्जमा क्रिकेट र फुटबल प्रतियोगिता जारी

वीरगन्जमा शनिबारदेखि सुरु भएको जी.पी. कप फुटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको । गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आयोजना गरेको प्रदेश २ स्तरीय फुटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सा फुटबल संघलाई पराजित गरी धनुषा फुटबल संघ विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम निरीह बन्यो ।
खेलको सुरुवातमा धनुषाका खेलाडीलाई निकै दबावमा राखेपनि गोल भने रोक्न सकेन । दोश्रो हाफको चार मिनेटमा पर्साका जर्सी नम्बर ३ का सुदीश श्रेष्ठले गोल गरेपछि खेल बराबरी भएको थियो । निर्धारित ९० मिनेटको खेल बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटबाट खेलको नतिजा निकालिएको थियो । पेनाल्टी सुटआउटमा धनुषा ४–२ ले विजयी भएको हो । पर्साका खेलाडीले पाएको पहिलो पेनाल्टीमा जर्सी नम्बर ४ का आशिष ताम्राकार र जर्सी नम्बर १० का सुनिल गुरुङले गोल गर्न चुकेपछि खेलको नतिजा धनुषाको पक्षमा गएको हो । यसअघि प्रतियोगिताको उदघाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले गरेका थिए । गिरिजा प्रसाद कोईराला फाउण्डेशनका अध्यक्ष मोहम्मद सहाबुद्दीनको अध्यक्षतामा कार्यक्रम भएको हो । आईतबार महोत्तरी फुटबल संघ र रौतहट फुटबल संघबीच खेल हुनेछ ।
यसैबीच, वीरगन्जमा जारी वीरगन्ज प्रिमियर टि–ट्वाण्टी क्रिकेट प्रतियोगितामा सिंह–११ लायन्स वीरगन्ज र केआईइसी वीरगन्ज विजयी भएका छन् । नारायणी क्रिकेट मैदानमा भएको खेलमा सिंह–११ लायन्सले रौतहट राईनोजलाई ७ विकेटले पराजित गरेको हो । रौतहट राईनोजले दिएको ९३ रनको लक्ष्य तीन विकेटकै क्षतिमा पूरा गरेपछि खेल सिंह ११ लायन्सले जितेको हो । त्यस्तै शनिबार नै भएको अर्को खेलमा केआइइसी वीरगन्ज ५ विकेटले विजयी भएको छ । वीरगन्ज स्टारले बनाएको ९६ रनको योगफल केआईइसीले ५ विकेटको नोक्सानीमा पूरा गरेर भेट्टाएको हो । वीरगन्ज स्टार र केआईइसीबीचको खेलको म्यान अफ दी म्याच आदिल अन्सारी भएका छन् । सिंह–११ र रौतहट राईनोजबीच भएको खेलमा ३ विकेट र ३४ रन बनाएको महबुब आलम म्यान अफ द म्याच घोषित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्