लुङ्दीखोला सिँचाइ बन्याे, कृषकलाई राहत

पर्वत- पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतमार्फत कार्यान्वयन भएको उक्त योजना सम्पन्न भएको हो । सिँचाइ आयोजना सम्झौता अवधिको १९ महिनामा निर्माण सम्पन्न गर्न विसं २०८० भदौमा सम्झौता भएकोमा दुई महिना अगावै गत माघमा सम्पन्न भएको हो ।
९२ लाख ७७ हजारमा ठेक्का सम्झौता भएकोमा ८४ लाख ८५ हजारमा ठेकेदारलाई अन्तिम भुक्तानी दिइएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सागर भट्टराईले जानकारी दिए । ठेक्का सम्झौता भएको आठ महिनामै पानी सञ्चालन गरेर कृषकलाई राहत दिएको निर्माण कम्पनीले सम्झौता अवधिभन्दा अगावै पूर्णरुपमा काम सम्पन्न गरेको उनले बताए ।
निर्माण व्यवसायीको सक्रियता, उपभोक्ताको जागरुकता र कार्यालयका तर्फबाट नियमित रूपमा सुपरीवेक्षण भएकाले निर्धारित समयमै काम सम्पन्न भएको उनको भनाइ छ । सिँचाइ योजनाबाट यस क्षेत्रका करिब एक सय घरधुरीको झण्डै १७ हेक्टर खेतबारीमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ ।
भेडाबारीबाट एक हजार आठ सय मिटर टाढा रहेको ढल्केको टाकुरानजिक रहेको लुङ्दीखोलाबाट पानी ल्याइएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर रामचन्द्र तिमिल्सिनाले बताए । उनका अनुसार मुहानमा इन्टेक, दुई स्थानमा क्रसिङ पुल र चारवटा वितरण च्याम्बर निर्माण गरी नहर विस्तार गरिएको छ । योजनामा कुलोको मुहानबाट भेडाबारीसम्म एक हजार आठ सय मिटर दूरीको पाइप लाइन जडान गरिएको छ ।
कमजोर भूभागका कारण नहर बनाउन असम्भव भएकाले पाइप लाइन जडान गर्दा सिँचाइ योजना दिगो हुने आशा गरिएको इन्जिनियर तिमिल्सिनाले बताए । विगत ६ वर्षअघि मिलनचोक–सल्यान–घायखेत–धारापानी–ठोटनेरी सडक निर्माणका क्रममा पहिरोले क्षति पुर्याएपछि गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष विसं २०८०/०८१ मा बजेट विनियोजन गरेर पुनर्निर्माण गरेको हो ।
सिँचाइ नहर पुरिएपछि यस क्षेत्रका किसानले अकाशे पानीका भरमा खेती गर्दै आएका थिए । तरकारी पकेट क्षेत्रसमेत रहेको यहाँ सिँचाइको अभावमा तरकारी उत्पादनमा समेत कमी आएको थियो । सिँचाइ योजना सम्पन्न भएसँगै भेडाबारी, दुलेपानी र लामाबगरका किसान खेतमा सिँचाइ गर्न पाएपछि खुसी भएका छन् ।
सिँचाइ नहुँदा बाँझै भएको जमिनमा खनजोत गरेर बालीनाली लगाउन थालेको जलजला गाउँपालिका–७ का वडाध्यक्ष टुङ्गनाथ आचार्यले बताए । माघमै योजना सम्पन्न भएपछि चैत वैशाखको खडेरीमा पनि खेतबारीमा सिँचाइ गरेर खेती गरिएको आचार्यले बताए । चैत, वैशाखको खडेरीमा पनि पानी ल्याएर खेतबारीमा सिँचाइ गरेकाले खेतबारी हराभरा भएको उनले बताए ।
बाह्रै महिना सिँचाइ सुविधा पुगेपछि यस क्षेत्रमा तरकारी उत्पादनमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ । धाइरिङको सल्यान फाँटबाट बर्सेनि तीन करोड रुपैयाँभन्दा बढीको तरकारी बिक्री हुने गरेको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतका अनुसार चालु आर्थिक वर्षमा सञ्चालित ५० वटा सिँचाइ योजनामध्ये झण्डै १० वटा यसै वर्ष सम्पन्न हुने चरणमा छन् ।