पर्वतका ४४ होमस्टे खारेज गरिँदै, ६२ मध्ये १८ वटा मात्रै नवीकरण

पर्वत– जिल्लाका ग्रामीण क्षेत्रको पर्यटन र आर्थिक अवस्थामा सुधार ल्याउन सञ्चालन भइरहेका ६२ मध्ये ४२ होमस्टे खारेजीमा पर्ने भएका छन् । पर्यटन तथा उद्योग कार्यालय पर्वतमा दर्ता ६२ मध्ये १८ वटा मात्रै नवीकरण भएपछि बाँकी ४२ वटा होमस्टे खारेजीमा पर्ने भएका हुन् । जनशक्ति अभावसँगै ग्रामीण क्षेत्रमा आउने पर्यटकको आकर्षण कम हुँदै गएपछि होमस्टे व्यवसायीले नवीकरणमा चासो दिन छाडेका छन् ।
कार्यालयका अनुसार पर्वतका सात वटै पालिकामा आर्थिक वर्ष २०८०/०८१ सम्म सामुदायिक ६० वटा र निजी दुई गरी जम्मा ६२ वटा घरबास दर्ता भएका थिए । तत्कालीन गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयमार्फत १० लाख रुपैयाँ अनुदान लिएर सञ्चालन भएका अधिकांश होमस्टे खारेज हुने भएका हुन् । मन्त्रालयबाट जिल्लाका ४८ वटा होमस्टेले अनुदान लिएका थिए ।
आर्थिक मन्दीसँगै होमस्टेबाट पर्याप्त आम्दानी हुन छाडेपछि सञ्चालकले नवीकरण गर्न नचाहेको हुन सक्ने कार्यालय प्रमुख पोषनाथ शर्माले बताए । कार्यालय प्रमुख शर्माका अनुसार घरबासमा आउने पाहुनाको संख्या घटेसँगै ब्यावसायीसमेत पलायन हुन थालेका छन् । मोदी गाउँपालिकामा मात्रै १९ वटाको संख्यामा होमस्टे सञ्चालन रहेकामा जम्मा पाँच वटा मात्र नवीकरण भएका छन् ।
मोदीको चित्रे, भुकताङ्ले र लेसपारमा गण्डकी प्रदेशकै नमुना घरबास छन् । अहिले चार वटा मात्रै सञ्चालनमा छन् । गाउँ आउने पाहुना घटेपछि होमस्टे टिकाउन समस्या भएको लेसपारका होमस्टे व्यवसायी नरसिंह पुनले बताए । कुश्मा नगरभित्र खोलिएका ११ वटा सामुदायिक होमस्टेमध्ये चार वटा नवीकरण भएका छन् भने नवीकरण भएकामा पनि तीन वटा मात्रै सञ्चालनमा रहेको कार्यालयले जनाएको छ ।
बाँकी सामुदायिक होमस्टे बन्द छन् । पाहुनाको संख्या न्यून हुँदै गएपछि होमस्टे सञ्चालन गर्न नसकिएको कुश्मा नगरपालिका वडा–१४ आर्थरमा रहेको सुनाखरी सामुदायिक होमस्टेका सचिव कमल गुरुङले जानकारी दिए । जलजला गाउँपालिकामा सात वटा सामुदायिक होमस्टे सञ्चालनमा रहेकोमा दुई वटा खारेज भइसकेका छन् ।
लोप्रे फलामेडाँडा सामुदायिक होमस्टे मात्रै व्यावसायिक रुपमा सञ्चालनमा रहेको जलजला गाउँपालिकाका सूचना अधिकारी भेषनाथ आचार्यले जानकारी दिए । फलेवास नगरपालिकामा रहेका १० वटा होमस्टेमध्ये अहिले कुनै पनि व्यावसायिक रुपमा सञ्चालनमा नभएको पाइएको छ । कोभिडभन्दा पहिले केही वर्ष सञ्चालनमा आएका होमस्टे त्यसपछि अधिकांश बन्द भएको सञ्चालक निर्मला पुनले बताइन् ।
जिल्लाको बिहादी र पैयुँ गाउँपालिकामा रहेका होमस्टे पनि आंशिक रुपमा मात्र सञ्चालनमा छन् । बिहादीमा रहेको गेप्ताङ र छाप होमस्टे तथा पैंयुको नेकर्गा, चिन्नेखर्क र भोर्लेमा रहेका होमस्टे पनि आंशिक रुपमा सञ्चालनमा रहेको स्थानीय बताउँछन् । होमस्टे व्यवसाय प्रोत्साहनका लागि स्थानीय तहले आवश्यक कार्यक्रम सञ्चालन नगर्दा व्यवसायी पलायन भएको पर्यटन तथा उद्योग कार्यालय प्रमुख शर्माले जानकारी दिए ।