Logo

तनहुँ जलविद्युत्: तीन हजार आठ सय ७८ मिटर सुरुङ निर्माण

दमौली–तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्याकेज दुईअन्तर्गत ३८७८.६६ मिटर सुरुङ निर्माण भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको प्याकेज दुईअन्तर्गत तीन हजार आठ सय ७८.६६ मिटर सुरुङ निर्माण भएको हो ।

प्याकेज दुईअन्तर्गत विद्युत्गृहको मुख्य कंक्रिट सम्पन्न भएको छ भने भर्‍याङ, बिमलगायतका कंक्रिटिका काम जारी रहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनले भने, ‘मेकानिकल तथा इलेक्ट्रोमेकानिकल कार्य पनि लगभग सकिएको छ ।’ मुख्य सुरुङको बेन्चिङ खन्ने कार्य तथा आवश्यक सहयोगका लागि रकबोल्ट जडान तथा सटक्रिट सफा गर्ने, खन्नेलगायतका कार्य भइरहेको भण्डारीको भनाइ छ ।

प्याकेज दुईअन्तर्गत एक हजार तीन सय ८३.८२ मिटरको प्रवेश सुरुङ, २७० मिटरको मुख्य प्रवेश सुरुङ, ३५६ मिटरको मुख्य सुरुङतर्फको अडिट सुरुङ–१, १०२.७ मिटरको मुख्य सुरुङतर्फको अडिट सुरुङ–२, २१८ मिटरको मुख्य सुरुङतर्फको अडिट सुरुङ–३ र चार सय ३७.१२ मिटरको सर्जट्यांकतर्फको सुरुङ खन्ने काम शतप्रतिशत सकिएको छ ।

त्यस्तै, एक हजार चार ५६ मिटरको मुख्य सुरुङ (माथिल्लो भाग), दुई सय २०.५४ मिटरको पेनस्टक सुरुङ, ३८.२० मिटरको मुख्य सुरुङको पेनस्टक तल्लो भाग, ६७ मिटरको पेनस्टक साफ्ट, २०.६ मिटरको वाइफरकेसन पेनस्टक तल्लो भाग, ४७.३७ मिटरको पेनस्टक वाइफरकेशन–१, ४७.३७ मिटरकै पेनस्टक वाइफरकेसन–२ सुरुङको काम सकिएको छ ।

एक सय ४.६ मिटरको ड्राफ्ट ट्युब सुरुङ, ५२.३ मिरको ट्रेलरेस ड्राफ्ट सुरुङ–१, ५२.३० मिटरकै ट्रेलरेस ड्राफ्ट सुरुङ–२, दुई स १०.९ मिटरको ट्रेलरेस सुरुङ, एक सय ८८ मिटरको केबल सुरुङ र तीन सय १५ मिटरको बाँधतर्फ जाने पहुँच सुरुङ खन्ने काम शतप्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

प्याकेज दुईअन्तर्गत चिनियाँ सिनो हाइड्रो कर्पोरेसनले भूमिगत विद्युत्गृह, मुख्य सुरुङ र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कार्य गरिरहेको छ । यो प्याकेजमा हालसम्म ६५ प्रतिशत प्रगति भएको छ । त्यस्तै, प्याकेज एकअन्तर्गत बाँधलगायतका संरचना निर्माण कार्यमा ३६ प्रतिशत र प्याकेज तीनअन्तर्गत प्रसारण लाइन निर्माणमा ७४ प्रतिशत प्रगति भएको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्