Logo

चार लाख बढी क्युफिट काठ कटान अनुमति

दाङ– जिल्लामा चार लाखभन्दा बढी क्युफिट काठ कटान गरिने भएको छ । काठ कटानका लागि जिल्लामा रहेका दुई वन डिभिजन कार्यालयले अनुमति दिएका हुन् ।

डिभिजन वन कार्यालय देउखुरी र घोराहीअन्तर्गत जिल्लाका ८० वटा सामुदायिक वन समूहबाट यस वर्ष चार लाख २६ हजार ५०८ क्युफिट काठ कटान गरी संकलन गरिनेछ । वन सम्वर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रमअन्तर्गत जंगलमा तयार भएका रुख व्यवस्थापन गर्न थालिएको हो । वन समूहको कार्ययोजनाअनुसार तयार भएका र साना रुखलाई बढ्नमा समस्या गर्ने पहिचान गरिएका रुख कटान गर्न थालिएको हो ।

वन सम्वर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रमअन्तर्गत डिभिजन वन कार्यालय देउखुरीअन्तर्गत रहेका ५१ वटा वन समूहबाट दुई लाख ५० हजार क्युफिट काठ कटान गरी संकलन आदेश भएको सहायक वन अधिकृत हरि पौडेलले जानकारी दिए । सहायक वन अधिकृत पौडेलका अनुसार वन सम्वर्द्धन प्रणाली लागू भएका वन समूहलाई काठ कटानको आदेश दिइएको छ। प्रक्रिया पूरा गरेका ५१ वटा वन समूहलाई कटान अनुमति दिइएको उनले बताए ।

गत वर्ष देउखुरीअन्तर्गत ६३ वटा सामुदायिक वनबाट एक लाख ४४ हजार २०२.४० क्युफिट काठ कटान गरिएको थियो । वन समूहको कार्ययोजनाअनुसार तयार भएका रुखसँगै ढलापडा, तयार भएका खडा तथा वयस्क अवस्थाका पुराना रुख सामुदायिक वन समूहले कटान गरी काठ–दाउरा संकलनका लागि स्वीकृति दिइएको सहायक वन अधिकृत पौडेलले बताए ।

उनले भने, ‘वनमा तयार भएका रुखलाई व्यवस्थापन गर्ने गरी कटान र घाटगद्दीका लागि अनुमति दिएका छौं ।’ अनुमतिअनुसार वन समूहमा कटानको काम भइरहेको उनको भनाइ छ । बूढा–पुराना रुखले नयाँ बिरुवाको वृत्ति विकासमा बाधा पुग्ने भएकाले प्रत्येक वर्ष रुख व्यवस्थापन कार्यक्रमअन्तर्गत तयार भएका रुख कटान गर्ने गरिएको सहायक वन अधिकृत पौडेलले जानकारी दिए ।

यसरी कटान गरिएको काठ वन समूहका माध्यमबाट ५० प्रतिशत वन समूहका सदस्यले उपयोग गर्ने र बाँकी ५० प्रतिशत बाहिरका उपभोक्तालाई बिक्री गरिँदै आएको छ । डिभिजन वन कार्यालय घोराहीअन्तर्गत २९ वटा सामुदायिक वनबाट करिब एक लाख ७६ हजार ५०८ क्युफिट काठ व्यवस्थापनका लागि कटान आदेश दिइएको डिभिजन वन कार्यालय घोराहीका रेन्जर अमित पाण्डेले बताए ।

उनका अनुसार कटान आदेश लिएका सामुदायिक वन समूहले जेठभित्र रुख कटान, मठान र व्यवस्थापन गरिसक्नुपर्ने भनिएको छ । डिभिजन वन कार्यालयले कटान आदेश जारी गरेका सामुदायिक वनमा पर्ने रुखलाई विभिन्न चरणमा अनुगमन गरी कटान गर्न योग्य र मापदण्ड पूरा भएका रुखलाई व्यवस्थापनका लागि कटान आदेश दिएको रेन्जर पाण्डेले जनाए ।

उनले भने, ‘वनमा तयार भएका रुखको व्यवस्थापन गर्ने र साना रुखलाई हुर्कन सहयोग पुर्‍याउने विधि हो ।’ कटानादेशअनुसार रुख कटान भए/नभएको विभिन्न चरणमा अनुगमनसमेत भइरहने रेन्जर पाण्डे बताउँछन् । उनले भने, ‘अनुगमनका क्रममा कटान आदेशभन्दा बाहिर गएर रुख कटान गरिएको पाइए कारबाही हुन्छ ।’ उनका अनुसार जिल्लामा गत वर्षभन्दा यो वर्ष बढी काठ उत्पादन हुने अनुमान गरिएको छ ।

गत वर्ष घोराही डिभिजन वन कार्यालयअन्तर्गत एक लाख ५० हजार क्युफिट काठ कटान अनुमति दिइएकोमा यो वर्ष एक लाख ७६ हजारभन्दा बढी अनुमति दिएको रेन्जर पाण्डेको भनाइ छ । अहिले पनि जिल्लामा काठ उपलब्ध नहुँदा बाहिरी जिल्लाबाट ल्याउनुपर्ने बाध्यता रहेको व्यवसायी बताउँछन् छन् । मागअनुसार काठ उपल्वध नहुँदा बाध्य भएर बाहिरबाट ल्याउनुपरेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्