Logo

लुम्बिनीमा पर्यटक आगमन बढ्यो

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने स्वदेशीसँगै विदेशी पाहुना बढ्दै गएका छन् । कोरोना संक्रमण सुरुको दुई वर्ष शून्यजस्तै रहेको पर्यटक आगमन त्यसपछि विस्तारै बढ्दै गएको हो । पछिल्लो एक वर्षमा निकै उत्साहजनक रुपमा लुम्बिनीमा पर्यटक बढेका छन । एक वर्षमा ९५ बढी देशका पर्यटक लुम्बिनी पुगेका छन् ।

लुम्बिनी विकास कोषको सूचना शाखाका अनुसार सन् २०२४ को अप्रिल देखि २०२५ मार्चसम्म आन्तरिक, भारतीय र तेस्रो मुलुकका गरी १२ लाख ६४ हजार १ सय ६३ जनाले लुम्बिनी भ्रमण गरेका छन् । सन् २०२३ मा ९ लाख ९८ हजार ९ सय ३८ जना पर्यटक लुम्बिनी आएका थिए । यो पर्यटक संख्या लुम्बिनीस्थित मायादेवी मन्दिर प्रवेश गर्नेको हो, जहाँ तथ्यांक राख्ने गरिन्छ ।

लुम्बिनी आउने सबै पर्यटक मायादेवी मन्दिर प्रवेश नगरेका पनि हुन सक्ने र प्रवेश टिकटका आधारमा गणना गरिएको संख्या हो भने रुपन्देही, नवलपरासी र कपिलवस्तुका सर्वसाधारणलाई प्रवेश नि:शुल्क छ । सन् २०२३ मा तेस्रो मुलुकका ७६ हजार २ सय १० पर्यटकले मायादेवी मन्दिर दर्शन गरेकामा २०२४ मा विभिन्न ९५ देशका १ लाख ६ हजार ९८ जना र २०२५ को पहिलो ३ महिनामा ४८ हजार ५ सय ८० जना तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका छन ।

यीमध्ये ५ हजार ३ सय ५ जना विभिन्न देशबाट आएका अतिविशिष्ट, विशिष्ट, विभिन्न देशका प्रतिनिधि, विशिष्ट भीक्षुसमेत रहेका छन् । लुम्बिनी आउने विदेशी पर्यटकमा सबैभन्दा बढी श्रीलंका र त्यसपछि थाइल्यान्डका रहेका छन् । यस्तै, म्यानमार, चीन, दक्षिण कोरिया, भियतनामका पर्यटक बढी छन् । गत वर्षको तुलनामा यो वर्ष लुम्बिनी भ्रमण गर्ने पर्यटक संख्यामा उत्साहपूर्ण वृद्धि भएको कोषका सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राईले जानकारी दिए ।

नेपाली, भारतीयसँगै सबैभन्दा बढी तेस्रो मुलुकका पर्यटकको आवागमन वृद्धि भएको उनको भनाइ छ । विदेशीसँगै नेपाली पर्यटक आगमन पनि लुम्बिनीमा उल्लेखनीय रुपमा बढ्दो छ । २०२३ मा ६ लाख ५६ हजार नेपालीले लुम्बिनी भ्रमण गरेकामा २०२४ मा संख्या वृद्धि भएर ७ लाख २३ हजार ८ सय पुगेको थियो सन् २०२५ मार्चसम्मको तीनमहिने अवधिमा २ लाख ३७ हजार १ सय २७ पर्यटक लुम्बिनीको मायादेवी मन्दिर आएका छन् ।

यस्तै, सन् २०२३ मा भारतीय पर्यटकको संख्या २ लाख ६६ हजार रहेकामा २०२४ मा बढेर ३ लाख ८ सय ८९ जनाले लुम्बिनी भ्रमण गरेको अधिकृत राईले बताए । यीमध्ये १४ हजार ३ सय २८ अतिविशिष्ट, विशिष्ट व्यक्ति र प्रतिनिधि थिए । सन् २०२५ को पछिल्लो ३ महिनामा ८० हजार ३ सय ९ जना भारतीय पर्यटक लुम्बिनी आएका छन् ।

विशिष्ट व्यक्तिको आगमनले पनि भारतीय पर्यटकको संख्या लुम्बिनीमा बढ्दो छ । आन्तरिक एवं बाह्य पर्यटकले लुम्बिनीमा मायादेवी मन्दिर अवलोकन गर्नुका साथै त्यहाँको अशोक स्तम्भ, पुष्करणीकुण्ड, विश्वशान्तिद्वीप तथा विभिन्न स्वदेशी एवं विदेशी बौद्ध विहार अवलोकन गरेका छन् भने केन्द्रीय नहरमा डुंगा सयर गरेको पाइन्छ ।

‘लुम्बिनीप्रतिको आस्था बढ्दै गएकाले र आध्यात्मिक कार्यक्रम पनि हुने गरेकाले बुद्ध जन्मस्थल मायादेवी मन्दिर आउने दर्शनार्थीको संख्या बढ्दै गएको छ । यहाँ धेरै सम्भावना भएकाले थप पर्यटक ल्याउन कोषले पहल गर्न सके यो क्षेत्र गुलजार हुँदै जानेछ’, लुम्बिनी होटल संघका अध्यक्ष संस्थापक अध्यक्ष मिथुनमान श्रेष्ठले भने । न्यूयोर्क टाइम्सले विश्वका घुम्नलायक ५२ उत्कृष्ट स्थानमध्ये लुम्बिनीलाई पनि सूचीमा राखेको छ । सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ठाउँमध्ये लुम्बिनी नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्