पर्यटन मन्त्रालयको पुँजीगत खर्च १९ प्रतिशत मात्रै

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को त्रैमासिक प्रगति समीक्षासम्म १९.३४ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । मन्त्रालयका लागि चालू वर्ष कुल ५ अर्ब २३ करोड ८७ लाख रुपैयाँ बजेटमध्ये पुँजीगततर्फ २ अर्ब ७४ करोड ६९ लाख र चालूतर्फ २ अर्ब ४९ करोड १८ लाख रुपैयाँ थियो ।
चालूतर्फ ५९ प्रतिशत अर्थात १ अर्ब ४४ करोड र पुँजीगततर्फ ५६ करोड ४१ लाख रुपैयाँ खर्च भएको हो । चालू आवको त्रैमासिकसम्म कुल ३७ प्रतिशत खर्च भएको सोमबार मन्त्रालयको त्रैमासिक प्रगति समीक्षा बैठकमा जानकारी दिइएको हो । मन्त्रालयले सोही अवधिमा २५.५४ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ ।
सरकारले चालू आवमा ११ अर्ब ९१ करोड २३ लाख रुपैयाँ विनियोजन गरेकामा ससर्त पुँजीगत योजनामा २ अर्ब ९१ करोड र वित्तीय व्यवस्थामा ३ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ थियो । गत आवमा मन्त्रालयलाई ११ अर्ब ९६ करोड २६ लाख रुपैयाँ विनियोजन भएकामा २ अर्ब १६ करोड ३७ लाख ३९ हजार रुपैयाँ खर्च थियो ।
पूर्वाधारका काम हुँदै गरेको र अर्कोतर्फ निर्माण पूरा भएका आयोजनाको भुक्तानी हुने क्रममा रहेकाले पनि पुँजीगत खर्च कम देखिएको मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेले बताए । उनले भने, ‘पर्यटन पूर्वाधारका कामको भुक्तानी प्रकृयामा छन् । वित्तीय व्यवस्थापन नभई थप भएका कार्यक्रमको बजेट निकासा हुन बाँकी छ । अर्काेतर्फ राष्ट्रिय गौरवका आयोजनाको बजेट विनियोजन कम हुँदा पनि प्रगति कम देखिएको हो ।’
मन्त्रालयका अनुसार पर्यटन उपज साझेदारी कार्यक्रमको ५० करोड रुपैयाँ बजेट विनियोजन भए पनि नीतिगत अवरोधका कारण ५० करोडमध्ये ४४ करोड फ्रिज भएको छ । लामिछानेले भने, ‘यस्तै पर्यटन विभाग तथा प्राधिकरण मातहतका निर्माणाधीन विमास्थलको भुक्तानी फरफारक बाँकी छ ।’
अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान चालू आवमा १० प्रतिशत पुर्याउने लक्ष्य लिइएकामा हालसम्म २.४२ प्रतिशत पुगेको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मन्त्रालयलाई ६ अर्ब रुपैयाँ सिलिङ–सीमा दिइएको छ । समीक्षा बैठकमा मन्त्रालयले मातहतका निकायलाई सुझाउँदै भनेको छ– आगामी दिन काम गर्ने समय थोरै रहेकाले द्रुत गतिमा गर्न निर्देशन दिइएको छ । छोटो समय काम गर्न र लक्ष्यको नजिक पुग्न चुनौती रहेकाले प्रक्रियामा रहेका आयोजनालाई अगाडि बढाउनुपर्छ ।’
१६ लाख पर्यटक भित्र्याउने लक्ष्य
आर्थिक वर्ष २०८१/०८२ मा पर्यटक आगमन १६ लाख लक्ष्य रहेकामा चैतसम्म ७ लाख ९८ हजार ८२० जना नेपाल घुमफिरमा आएका छन् । मन्त्रालयअन्तर्गत हाल चार राष्ट्रिय आयोजना रहेकामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ९९.५ प्रतिशत भएको छ ।
पशुपति क्षेत्र विकास कोषको ८३ प्रतिशत, लुम्बिनी विकास कोषको ८९ प्रतिशत र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति शून्य छ । मन्त्रालयले समष्टिगत प्रगतिमा सन् २०२४ मा प्रतिपर्यटकको औसत बसाइ १३.२ दिन रहेको र प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४१ अमेरिकन डलर पुगेको बताएको छ ।
कार्ययोजना कार्यान्वयन समस्या
मन्त्रालयले कार्ययोजना कार्यान्वयन समस्यामा छरिएका आयोजना र बजेट व्यवस्थापन नहुनुलाई ठानेको छ । पर्यटन विभाग, पुरातत्व विभाग, राष्ट्रिय अभिलेखालयलगायत निकायबाट त्रैमासिक पुँजीगत बजेटको प्रगति न्यून भई मन्त्रालयको समग्र पुँजीगत प्रगति १९.३४ प्रतिशत हुनु पनि अर्को कारण रहेको मन्त्रालयको ठम्याइ छ ।
राष्ट्रिय गौरवका आयोजनामा पर्याप्त बजेट विनियोजन हुन नसक्नु, बहुवर्षीय आयोजनाको आव २०८०/०८१ सम्मको भुक्तानी दायित्व ६८ करोड रुपैयाँ रहेको र बहुवर्षीय योजना सम्पन्न गर्न थप ३ अर्ब २२ करोड रुपैयाँ बजेट अपुग भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, १ अर्ब ९५ करोड संघीय दायित्व रहेकामा ५० करोड मात्र विनियोजन भएको छ । पर्यटन विभागको नाममा रहेको क्यासिनोतर्फ असुल्न बाँकी बेरुजु १ अर्ब ४४ करोड रहेकामा सर्वोच्च अदालतको यथास्थितिमा राख्ने आदेशलाई कारण देखाई असुल हुन नसकेको अवस्था छ ।