रसुवागढीबाट भित्रिए साढे चार हजार ईभी

धादिङ– चीन जोड्ने उत्तरी नाका रसुवागढीबाट आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि फागुनसम्म चार हजारभन्दा बढी विद्युतीय सवारीसाधन (ईभी) भित्रिएका छन् । आठ महिनामा चार हजार ६ सय ३७ सानाठूला विद्युतीय सवारीसाधन भित्रिएका हुन् ।
तीमध्ये साढे चार हजार विद्युतीय सवारीसाधन रहेको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलले जानकारी दिए । आयातीत सवारीसाधनमा विशेषगरी विद्युतीय कार, भ्यान, माइक्रोबस र थोरै इन्धनबाट चल्ने गाडी छन् । भन्सारको फागुनसम्म राजस्व संकलन लक्ष्य १९ अर्ब ४७ करोड ३६ लाख रहेकामा १९ अर्ब १४ करोड २० लाख असुली भएको भन्सार प्रमुख तुलसीप्रसाद भट्टराईले बताए ।
भन्सारले गत आवको सोही अवधिमा राजस्व संकलन लक्ष्य १२ अर्ब ९६ करोड ४१ लाख रहेकामा १२ अर्ब ७० करोड ६४ लाख असुली गर्न सफल भएको थियो । सो नाकाबाट गत आव २०८०/०८१ मा सात हजार तीन सय ७७ सवारीसाधन नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।
‘नेपालमा ईभी प्रयोग सुरु भएसँगै केरुङ–रसुवागढी विद्युतीय सवारीसाधन भित्रिने नेपालको प्रमुख नाका बनेको छ’, रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले भने, ‘ रसुवागढी नाकाबाट व्यापक आयात–निर्यात हुन थालेको छ ।’ समुद्री मार्ग भएर कोलकाता बन्दरगाहमा सामान आइपुग्न करिब तीन महिना लाग्छ भने केरुङ नाकाबाट एक महिनामै आउने व्यवसायी बताउँछन् ।
यसले सामानको भाडामा ५० प्रतिशत सस्तो पनि हुने उनीहरुको भनाइ छ । यद्यपि, रसुवागढी–गल्छी सडक त्यति सहज भने छैन । बर्खामा यातायातका साधन चलाउन निकै कठिन हुन्छ । सडक खाल्डाखुल्डी र उकालो–ओरालो भएकाले जोखिम मोलेरै गाडी चलाउनुपर्छ । चीनबाट आयात हुने विद्युतीय सवारीसाधन नेपाल ल्याउन रसुवागढी नाका छोटो हुन्छ ।
नेपाल भित्र्याइएका तर कानुनी प्रक्रिया पूरा गर्न बाँकी रहेका धेरै सवारीसाधन नाकानजिकैको टिमुरेस्थित खुला स्थानमा पार्किङ गरी राखिन्छन् । भन्सार छुटाउन सवारीसाधन धनी नआएका कारण सरकारी सुरक्षा घेराभित्र सयौँ सवारीसाधन लामबद्ध गरी राखिएको टिमुरे प्रहरी कार्यालयले जनाएको छ ।
आयात गरिएका सवारीसाधनसहित अन्य सामानको तोकिएको ढाँचामा रसुवागढीस्थित टिमुरे भन्सार कार्यालयलाई ‘घोषणापत्र’ नबुझाएसम्म कार्यालयमा अभिलेख नरहने सूचना अधिकारी प्याकुरेलले बताए । घोषणापत्र अभावमा बरबुझारथ हुन नसक्दा सवारीसाधनको विषयमा यकिन तथ्यांक बताउन नसकिने उनको भनाइ छ ।
रसुवागढी नाकाबाट सवारीसाधनका अतिरिक्त स्याउ, कालो अंगुर, ड्रागन फ्रुट, किबी, हलुवावेद, खजुर, आँप, सुन्तलालगायत फलफूल, मसलाजन्य वस्तु, चकलेट, बिस्कुट, नुडल्स फुड, लत्ताकपडा, पेयपदार्थ आदि सामग्री आयात हुने गरेको भन्सार कार्यालयको तथ्यांक छ ।