Logo

लगानी बोर्डको रणनीतिक योजना

डेढ सय फर्मलाई कर तिर्न ताकेता

पर्वत– करदाता सेवा कार्यालय कुश्माले समयमै कर विवरण पेस नगरेका झन्डै डेढ सय फर्म तथा कम्पनीलाई १५ दिने अल्टिमेटम जारी गरेको छ । कार्यालयले वैशाख ११ मा सूचना जारी गर्दै पर्वतका एक सय ४६ फर्म तथा कम्पनीका लागि १५ दिनभित्र विवरण अद्यावधिक गर्न अल्टिमेटम जारी गरेको हो ।

पर्वतमा आठ सय २६ अन्त:शुल्क, सात हजार ६ सय ९८ व्यक्तिगत पान प्रयोगकर्ता, सात सय ७० भ्याटतर्फ र एक सय ३९ आयकरतर्फका करदाता छन् । सूचनाअनुसार ६ महिना बढी कर विवरण पेस नगरेका करदातालाई ताकेता गरिएको हो । सबैभन्दा धेरै नेक्सा कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ सर्भिसेजले दुई सय २८ महिना अर्थात् ७६ त्रैमासिकको विवरण पेस गरेको छैन ।

यो कम्पनीले १९ वर्षदेखि कर विवरण दाखिला नगरेको पाइएको छ । यस्तै, ६ महिनादेखि करिब ६ वर्षसम्म विवरण पेस नगरेका कम्पनी तथा फर्मसमेत रहेको सेवा कार्यालय प्रमुख निमेश पौडेलले बताए । कार्यालयले तोकिएको अवधिमा कर विवरण नबुझाए दर्ता निलम्बन गरी फर्म रोक्का राखेर कारबाही प्रक्रिया अघि बढाउन सकिने चेतावनी दिएको छ ।

कार्यालयले समयमै मूल्य अभिवृद्धि कर नबुझाउने फर्म तथा कम्पनीलाई मूअक ऐन, २०८२ को दफा १७ को उप दफा ८ बमोजिम कारबाही गरिने जनाएको छ । उक्त दफा अनुसार ६ महिनासम्म कर विवरण नबुझाउने फर्म तथा कम्पनीको कर कट्टी गर्नुपर्ने रकम भए रोक्का राख्ने र दर्ता निलम्बन गर्न सकिने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्