Logo

बजेट वाच २०८१-८२

लक्षित पर्यटक ल्याउन सरकार असफल

काठमाडौं– चालु आर्थिक वर्षमा लिएका अधिकांश लक्ष्यहरु अपूरै रहेको अवस्थामा पर्यटक ल्याउन पनि सरकार असफल बन्ने देखिएको छ ।

सरकारले यो वर्ष १६ लाख पर्यटक ल्याउने घोषणा गरेको थियो । चालु आवको ९ महिना (चैतसम्म) ७ लाख ९८ हजार ८ सय पर्यटक आएका छन् । यो प्रतिमहिना औषतमा ८८ हजार ७५५ जना हो । आगामी ३ महिना (वैशाख–असार) मा अधिकतम १ लाखका दरले पर्यटक आए पनि यो वर्ष ११ लाखभन्दा बढी पर्यटक आउने देखिँदैन । यो लक्ष्यको करिव ६९ प्रतिशत मात्र हो ।

आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै तत्कालीन अर्थमन्त्री वर्षमान पुनले भनेका थिए, ‘आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिनेछ ।’ नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवद्र्धनका लागि पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गरिने र पर्यटकलाई एकद्वार प्रणालीमार्फत सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने बजेटमा भनिएको थियो ।

यसैगरी २०८० पुस १० मा राष्ट्रका नाममा सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा भएसँगै यो संख्या आगामी वर्ष दोब्बर गर्ने लक्ष्य लिएको बताएका थिए । उनले भनेका थिए, ‘अहिले सुन्दा अपत्यारिलो लाग्ला तर क्षेत्रगत तयारी र योजनाबाट अर्को वर्ष हामी पर्यटकको संख्या झण्डै दोब्बर बनाउँछौं ।’

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ मा १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सरकारले चालु आर्थिक वर्षको बजेटमै २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । सन् २०२४ मा भने साढे ११ लाख पर्यटक आए । सन् २०१९ मा सबैभन्दा बढी ११ लाख ९७ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

पर्यटन व्यवसायी भन्छन्, ‘पर्यटक दोब्बर बनाउने लक्ष्य पूरा गर्न असम्भव थिएन, तर सरकारले लक्ष्य नै कम राख्यो । विगतमा मासिक एक लाख हाराहारीमा पर्यटक आउने गरेकामा पछिल्लो समय भारतीय पर्यटकको गिरावटले यो वर्ष ११ देखि १२ लाखसम्म पुग्ने अनुमान होटल संघ नेपाल(हान)का अध्यक्ष विनायक शाहको छ । उनले भने, ‘सरकारको लक्ष्य १६ लाख भए पनि सडक पूर्वाधार र प्रचारप्रसारको अवस्था हेर्दा आगामी ३ महिनामा पर्यटक संख्या अधिकतम साढे ३ लाखको हाराहारी हुने देखिन्छ । हामीले वार्षिक ३५ लाख पर्यटकलाई सेवा दिन सक्छौं ।‘ पर्यटक आगमन बढाउन तीनवटै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनुपर्ने उनको जोड छ । उनले भने, ‘यसका लागि सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिनुपर्छ ।’

यो वर्ष (सन् २०२५) को पहिलो तीन महिनाको तथ्यांकअनुसार भारतीय पर्यटक आमगनमा गिरावट आइरहेको छ । गएको वर्षायाममा सडक दुर्घटनामा भारतीय पर्यटक परेसँगै नेपालको सडक सुरक्षा कमजोर रहेको सन्देश प्रवाह भएको अध्यक्ष शाहको भनाइ छ । उनले भने, ‘पछिल्लो समय सडकको अवस्था र सडक सुरक्षामा सरकारले औपचारिक प्रतिवद्धताको सन्देश दिएको खण्डमा सुधार हुने आशा छ ।’

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले प्रचारप्रसार, कनेक्टिभिटी, सडक तथा पूर्वाधारमा सुधार गरेको खण्डमा १६ लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य महत्वाकांक्षी नभएको बताए । ‘सरकारले जम्मा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सडक पूर्वाधार राम्रो भएमा यो संख्या स्वतः पुग्ने हो । सडक पूर्वाधारमा सुधार, तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलबाट तेश्रो देशमा उडान र चीन र भारतमा राम्रो मार्केटिङ गर्न सके पर्यटकको चिन्ता गर्नु पर्दैन,’ उनले भने । पछिल्लो ९ महिनाको पर्यटक आगमनदर हेर्दा १६ लाख लक्ष्यमा १० देखि ११ लाख पुग्न पनि मुस्किल रहेको उनको भनाइ छ । ‘होटल, ट्राभल र हवाई सेवाको अकुपेन्सी हेर्दा ६० देखि ७० प्रतिशतसम्म घटेको छ । ११ लाख पुग्न पनि कठिन छ,’ थपलियाले भने । हवाई सेवामा लगाइएको १३ प्रशित भ्याट पनि हटाउनुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस्