सुस्त अर्थतन्त्रले दबाबमा बैंक

काठमाडौं– अर्थतन्त्रको सुस्तता कायम रहँदा बैंक तथा वित्तीय संस्था दबाबमा देखिएका छन् । सार्वजनिक भएका वित्तीय विवरणहरूले अर्थतन्त्रको अवस्थाका कारण व्यापारमा आएको संकुचनलाई चित्रण गरेको हो । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुलीका लागि विभिन्न उपाय अवलम्बन गरे पनि त्यसले अवस्थामा सुधार आउन सकेको छैन । चौथो त्रैमासमा भने सुधार हुने अपेक्षामा उनीहरू छन् ।
सरकारले चौथो त्रैमासमा पुँजीगत खर्च बढाउँदा निर्माण क्षेत्र केही चलायमान हुने र त्यसले बैंक तथा वित्तीय संस्थाको व्यापारमा केही सहजता सिर्जना गर्ने बैंकरहरूको विश्वास छ । चालु आवको तेस्रो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरूको नाफामा सामान्य सुधार देखिए पनि निष्क्रिय कर्जाका कारण दबाबमा छन् । अन्य महत्वपूर्ण सूचकहरू पनि कमजोर छन् ।
अर्थतन्त्रमा आएको सुस्तताको प्रतिबिम्ब बैंक तथा वित्तीय संस्थामा देखिएको लामै समय भइसकेको छ । अहिले अर्थतन्त्रले सुस्त गतिमै चलायमानको संकेत देखाउँदै गर्दा बैंक तथा वित्तीय संस्थाहरूले राहत महसुस गर्न थालेको र यसले क्रमशः निरन्तरता पाउँदै जाने बैंकरहरू बताउँछन् । यसले निष्क्रिय कर्जा व्यवस्थापनमा समेत सहज हुने उनीहरूको अपेक्षा छ ।
चालु आवको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरूले ४१ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएका छन् । गत वर्षको सोही अवधिमा ४० अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएका बैंकहरूले अहिले १.४० प्रतिशतमात्रै नाफा बढाउन सकेका हुन् । विकास बैंकहरूले गत आवको तेस्रो त्रैमासमा ३ अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएकोमा चालु आवको सोही अवधिमा ३ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाए । जुन ४.३४ प्रतिशतको वृद्धि हो । यस्तै, फाइनान्स कम्पनीहरूले गत आवमा ३७ करोड रुपैयाँ घाटा व्यहोरेकोमा चालु आवको तेस्रो त्रैमासमा १७ करोड ५८ लाख रुपैयाँ नाफा कमाएका छन् ।
समग्रमा तीनै क्षेत्रको नाफामा सुधार भए पनि निष्क्रिय कर्जा व्यवस्थापनमा भने उनीहरू चुकेका छन् । उनीहरूलाई निष्क्रिय कर्जा निकै भारी देखिएको छ । कर्जा असुलीका लागि जति मेहनत गरे पनि त्यसले सुधार हुन नसकेको बैंक तथा वित्तीय संस्था सञ्चालकहरू बताउँछन् । चालु आवको तेस्रो त्रैमासमा अधिकांश बैंकको निष्क्रिय कर्जा बढेको छ । २०८१ चैत मसान्तसम्म २० बैंकको औसत निष्क्रिय कर्जा ४.८२ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा यस्तो निष्क्रिय कर्जा ३.६५ प्रतिशत थियो ।
गत वर्षको तेस्रो त्रैमासमा ३.५८ प्रतिशत रहेको विकास बैंकहरूको औसत निष्क्रिय कर्जा चालु आवको सोही अवधिमा ५.०४ प्रतिशत पुगेको छ । फाइनान्स कम्पनीहरूको औसत निष्क्रिय कर्जा १२ प्रतिशतभन्दा माथि छ । गत आवको सोही त्रैमासमा यस्तो निष्क्रिय कर्जा ८ प्रतिशत हाराहारीमात्रै थियो ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अबका त्रैमासमा बैंकको अवस्था सुधार हुँदै जाने संकेत देखिएको बताए । उनले भने, ‘अहिले ब्याजदर घटेर तल्लो करिडोरमा आएको भनिएजस्तै वर्गीकरण गर्नुपर्ने खराब कर्जा वर्गीकरण भइसकेकाले अब क्रमशः यसमा सुधार हुँदै जाने संकेत देखिएको छ ।’ सरकारले निर्माण क्षेत्रमा बाँकी बक्यौता तिरेमा त्यसले सहज हुने उनी बताउँछन् । यसले बैंकहरूको कर्जाको स्तर पनि सुधार्ने देखिएको उनको भनाइ छ । ‘सरकारले त्यसो गर्न नसकिहाल्दा पनि अब निष्क्रिय कर्जा थप बिग्रिन्छ भन्ने देखिँदैन,’ उनले भने, ‘अबका त्रैमासमा सुधार आउने मलाई विश्वास छ ।’ अब बैंकहरूले असुलीमा ध्यान केन्द्रित गर्ने समेत उनले बताए । ग्राहकसँग भेटघाट गर्ने, कर्जा तिर्नका लागि उनीहरूलाई प्रोत्साहन गर्ने लगायतका काममा ध्यान दिइने उनले जानकारी दिए ।
सानिमा बैंकका सीईओ निश्चल पाण्डेले हरेक वर्षको चौथो त्रैमासमा सुधार हुने ट्रेन्ड रहेको बताए । अन्तिम त्रैमासमा बैंकहरूको कर्जा असुली अन्य त्रैमासमा भन्दा बढ्दै जाने उनले जानकारी दिए । ‘अहिले कारोबार बढ्न थालेको, कर्जा वृद्धि पनि सुस्त नै भए पनि बढ्न थालेको आदि कारण आगामी दिनमा केही सुधार हुन्छ भन्ने आशा छ,’ उनले भने । आयात बढ्न थालेको, राजस्व संकलनको अवस्था पनि बढ्न थालेको जस्ता सकारात्मक सूचकहरूले अबका दिनमा सहज हुँदै जाने देखिएको उनी बताउँछन् । ‘रातारात नै सकारात्मक हुन्छ भन्ने हुँदैन,’ पाण्डेले भने, ‘आगामी दिनमा बैंकको निष्क्रिय कर्जा थप बढ्ने अवस्थामा सुधार हुन सक्छ । साथै कर्जा डिफल्ट हुने अवस्था पनि अहिले कम भएकाले सुधार हुँदै जाने अपेक्षा छ ।’
गरिमा विकास बैंकका सीईओ माधव उपाध्यायले खडेरी परिरहेका बेलामा एक दिन पानी पर्दा पनि हरियाली देखिने जस्तै अवस्था अहिले देखिएको बताए । पहिलो त्रैमासको वित्तीय विवरण सकारात्मक देखिए पनि पछि त्यो खस्किएको उनको भनाइ छ । ‘वित्तीय अवस्था सुधारका लागि केही समय अझै लाग्छ । तेस्रो त्रैमाससम्म आइपुग्दा अर्थतन्त्र केही चलायमान हुन थालेको जस्तो देखिएको छ, तर अझै धेरै काम गर्न बाँकी छ,’ उनले भने ।
नेपाल वित्तीय संस्था संघका अध्यक्ष सुनिल पन्तले पनि निष्क्रिय कर्जाको अवस्था सुधार्न समय लाग्ने बताए । ‘विस्तारै कर्जाको माग हुन थालेको अवस्थामा छौं । वित्तीय अवस्थामा सुधार रातारात हुँदैन । सुधारका सूचकहरू देखिएका छन् । विस्तारै हुने चरणमा छ,’ पन्तले भने । अहिले कर्जा असुली नै मुख्य चुनौती भएकाले सबैको ध्यान त्यसतर्फ बढी रहेको उनले बताए । कर्जाको वृद्धि अपेक्षित गतिमा नहुँदा पनि समस्या भएको उनको बुझाइ छ ।
चालु आवको चौथो त्रैमासमा सरकारको पुँजीगत खर्च बढ्ने विश्वास बैंकरले गरेका छन् । पुँजीगत खर्च बढेको अवस्थामा अर्थतन्त्रले केही हदसम्म गति पाउने र बैंक वित्तीय संस्थाहरूलाई पनि राहत मिल्ने उनीहरूको भनाइ छ ।
राष्ट्र बैंकका कामु गभर्नर नीलम ढुंगानाले पनि अर्थतन्त्र चलायमान हुँदै गएको र अब सुधार हुँदै जाने बताएकी छन् । आइतबार राष्ट्र बैंकको ७० औं वार्षिकोत्सवको अवसरमा ढुंगानाले अर्थतन्त्रको अवस्थामा सुधार हुँदै गएको र अब बिस्तारै निष्क्रिय कर्जा अनुपातमा समेत सुधार हुँदै जाने बताएकी थिइन् । वित्तीय स्थायित्वका लागि अपनाइएका नियमनकारी व्यवस्थाको प्रभावसमेत देखिँदै गएको ढुंगानाको भनाइ थियो ।