Logo

पर्यटन प्रवर्द्धनमा चुम उपत्यका

गोरखा जिल्लाको चुमनुब्री गाउँपालिकामा अवस्थित चुम उपत्यका प्राचीन बौद्ध संस्कृतिको संग्रहालय हो । चुम शब्दको अर्थ पूर्व भन्ने बुझिन्छ । चुम उपत्यकामा पशु हत्या निषेध भएकाले यो अहिंसा क्षेत्रका रूपमा समेत परिचित छ । चुम उपत्यका चुमनुब्री गाउँपालिकाको वडा नं. ६ को चुम्चेत र वडा नं. ७ को छेकम्पार दुई वडामा पर्छ । माथिल्लो चुमको छेकम्पार क्षेत्रलाई वि.सं. १९७७ देखि र तल्लो चुम अर्थात् चुम्चेतलाई वि.सं. २०६९ सासदेखि अहिंसा क्षेत्र बनाइएको पाइन्छ । गाउँमा अहिंसा (शाक्या) महोत्सव गरी चार किल्ला तोकी सो क्षेत्रभित्र हिंसाजन्य पाँच काम नगर्ने प्रतिबद्धता स्थानीयले जनाएको पाइन्छ ।

सो प्रतिबद्धताअन्तर्गतः कुनै पनि जीव–जनावर काटमार नगर्ने, सिकार नखेल्ने, मह नकाढ्ने, डढेलो नलगाउने, मासुको प्रयोजनका लागि जीव एवं पन्छीलाई अहिंसा क्षेत्रभित्र प्रवेश नगराउने आदि पर्छन् । यस उपत्यकाको प्रहरी चौकीमा बस्ने प्रहरीहरूले समेत काटमार गर्न पाउँदैनन् र यहाँ घुम्न जाने पर्यटकले पनि मासु खान पाउँदैनन् । प्रकृति र मानवबीचको अन्तरसम्बन्धलाई उजागर गर्ने यो क्षेत्र जीवजन्तुको खुला संग्रहालय हो । यस क्षेत्रमा झारल, घोरल, कस्तूरी मृग, कालिज, डाँफे, मुनाल, फ्या (स्थानीय भाषामा मुसा भनिन्छ), लंगुर बाँदरजस्ता जीवजन्तु प्रचुर मात्रामा पाइन्छ । यहाँ पशु हिंसा निषेध भएकाले झारल, नाउर, कस्तूरीजस्ता जंगली जनावर र चराचुरुंगी मानिसको घरवरिपरि चरिरहेको देख्न सकिन्छ । त्यसकारण यस क्षेत्रलाई खुला चिडियाखानासमेत भन्ने गरिन्छ । यहाँका स्थानीयवासीले दूध, दही, घिउ र छुर्पीका लागि मात्र पशुपालन गर्ने गर्छन् । त्यस्तै, आपूmले पालेको पशु अन्य कसैलाई पनि काटमारका लागि बिक्री गर्दैनन् ।

भगवान् बुद्धको पञ्चशील— प्राणीको हिंसाबाट टाढा रहने, झुटो नबोल्ने, चोरी नगर्ने, व्यभिचार नगर्ने, मद्यपान नगर्नेजस्ता मान्यता अनुसरण गर्ने यस उपत्यकाभित्र ४० वटाजति गुम्बा छन् भने कतिपय ७ सय वर्षभन्दा प्राचीन छन् । यहाँको शान्तिप्रिय संस्कार र संस्कृति, बौद्ध धर्मसम्बन्धी प्राचीन मानी, कानी, छ्योर्तेन, चैत्य, स्मारक र तिब्बती संस्कृतिको अलग्गै महत्व छ । यहाँ बौद्ध समुदाय धेरै भएकाले बौद्ध भिक्षु–भिक्षुणीहरू पाइन्छन् । यही क्षेत्रमा विश्वकै सबैभन्दा पुरानो डेफु डोल्मा भिक्षुणी (आनी) गुम्बा रहेको छ । यो करिब ८ सय २० वर्षअघि स्थापना भएको स्थानीयको भनाइ छ । स्थापना कालमा उक्त गुम्बामा करिब ५ सय भिक्षुणी बस्थे । त्यहाँ उनीहरूले दैनिक पूजापाठसँगै बुद्ध धर्मसम्बन्धी अध्ययन पनि गर्थे । त्यस्तै यो क्षेत्रमा मु गुम्बा (भिक्षु), राचेन आनी (भिक्षुणी) गुम्बा, मिलारेपा गुफालगायत अन्य गुम्बाहरूसमेत छन् ।

प्राकृतिक सौन्दर्यले सजिएको यो उपत्यका गणेश, बौद्ध र श्रीङ्गी हिमालले घेरिएको छ । यो उपत्यका मनास्लु पर्यटन पदमार्गमा पर्ने भएकाले यस क्षेत्रमा बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक जाने गर्छन् । गोरखा सदरमुकामबाट झन्डै पाँच दिनको पैदल दूरीमा यो क्षेत्रमा पुगिन्छ ।

विश्वमा सूचना र सञ्चारको जगत्मा एक्काइसौँ शताब्दीमा देखिएको दु्रत विकासका साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजीबजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूका लागि वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हासिल गर्दै आएको पाइन्छ ।

आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशका साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गरेको अवस्था देखिन्छ ।

देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायन रोक्दै स्वदेशमै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताका आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ वैकल्पिक व्यवसायका रूपमा विकास गर्नु उपयुक्त देखिन्छ ।

तुलनात्मक रूपमा मध्यमस्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक पर्यटन उद्योगको विकासबाट नेपालले आर्थिक–सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रस्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनका रूपमा रहेको छ, जसबाट नेपाली जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्छ ।

चुम उपत्यका भू–बनोट प्राकृतिक सुन्दर र ऐतिहासिक, सांस्कृतिक समृद्धिका दृष्टिले अद्वितीय रहेको छ । यो क्षेत्र मनोरम प्राकृतिक सुन्दरता, वातावरणीय एवं जैविक विविधतासहित विभिन्न प्रजातिका जीवजन्तु र वनस्पतिले भरिपूर्ण छ । मनोरम सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको संगम स्थल हो । यहाँको परम्परागत जीवनशैली र सभ्यताको प्रतिनिधित्व गर्दै आएको सांस्कृतिक र ऐतिहासिक धरोहर चुम उपत्यका हो । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षण गरी यस क्षेत्रमा पर्यटकको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवम् वातावरणको संरक्षण र संवद्र्धन गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्नु अहिलेको समयको माग हो ।

ऐतिहासिक एवं धार्मिक क्षेत्रको संरक्षण एवं प्रवद्र्धन प्रभावकारी नहुनु, व्यवस्थित सडक यातायातको पहुँचको अभाव, व्यवस्थित रूपमा होमस्टेलगायत पर्यटकीय सुविधाहरूको उपलब्धतामा कमी, सुरक्षित पर्यटनप्रति आश्वस्त पार्न नसक्नु, बैंक, वित्तीय संस्था आदिको अभाव प्रमुख समस्याका रूपमा रहेको छ, जसको फलस्वरुप यहाँका बासिन्दाले खास रूपमा फाइदा लिन सकेको स्थिति छैन ।

अतः यस क्षेत्रको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सृजना गर्न र अन्तरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्वपूर्ण माध्यम हुन सक्छ । चुमनुब्री गाउँपालिकामा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तवरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्वक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक छ । यस क्षेत्रको विकासका लागि व्यवस्थित खानेपानीको पर्याप्त उपलब्धता, बाटोघाटोको आवश्यक व्यवस्था, टे«किङ रुटको व्यवस्थापन, प्रभावकारी होटल तथा होमस्टेको स्थापना, पुरातात्िवक अन्वेषण र संरक्षण, जनचेतना अभिवृद्धि गर्दै नमुना पर्यटकीय गाउँ निर्माण गर्नु आजको आवश्यकता हो ।

नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्नु आवश्यक छ । पर्यटनको माध्यमबाट रोजगारी सृजना गरी गरिबी न्यूनीकरण गर्दै चुम उपत्यकालगायत देशभरिका मानिसको जीवनस्तरमा सुधार ल्याउन सकिन्छ । पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानुन र प्रक्रियालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पर्यटनलाई एक उद्योगको रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्