पर्यटकीय उत्पादन विस्तार

विगत केही समयदेखि नेपालमा पर्यटकहरूको आगमन दर उत्साहजनक ढंगले बढ्दै गएको छ । सन् २०१७ मै १० लाख पर्यटकले नेपाल भ्रमण गरेको आकलन भएकोमा ९ लाख ४० हजारले भ्रमण गरेको तथ्यांक नेपाल पर्यटन बोर्डको छ, यो त्रिभुवन विमानस्थल र अन्य स्थल नाकास्थित अध्यागमन चेकपोस्टमा अभिलेखित गरेर आएका पर्यटकको संख्या हो । नेपाल–भारतबीचको खुला सिमाना, दुई देशबीचका नागरिकहरूबीच रहेको सम्बन्ध र अन्य कारणहरूले गर्दा अध्यागमन चेकपोस्टमा अभिलेखित नै नगरी आउने भारतीय पर्यटकको संख्या पनि निकै ठूलो छ । यसको सोझो अर्थ के हो भने नेपालमा अहिले आइरहेकै पर्यटकहरूको संख्या दस लाख हाराहारीमा पुगिसकेको छ, यो नेपाल पर्यटन वर्ष २०११ मा राखिएको लक्ष्य बराबरी नै हो । पर्यटक आउने क्रम बढ्दै गएसँगै नेपाल पर्यटन बोर्डले सन् २०१८ मै १२ लाख पर्यटक आउने प्रक्षेपण गरेको छ । नेपालका प्रमुख तारे होटल तथा पर्यटकस्तरीय होटल–रिसोर्टहरूमा भइरहेको बुकिङका आधारमा बोर्डले यो प्रक्षेपण गरेको हो । यस वर्ष नेपाल आउने पर्यटकहरूको संख्या यो भन्दा बढी पनि हुन सक्छ, कम पनि । नेपालले लक्ष्य राख्दैमा पर्यटक आइहाल्दैनन् भन्ने कुराका उदाहरण नेपाल पर्यटन वर्ष–२०११, लुम्बिनी भ्रमण वर्ष–२०१२ ले नै देखाइसकेका छन् । पर्यटक बोर्डले राखेको लक्ष्यअनुसार नै नभए पनि एक डेढ लाख पर्यटक कमै नेपाल आएका भए त्यसले नेपाली पर्यटन उद्योगलाई निकै ठूलो टेवा पुग्ने निश्चित छ ।
यद्यपि, अहिलेकै पर्यटकीय उत्पादन र पूर्वाधार कायमै रहने हो भने तत्काललाई पर्यटकको संख्या त बढ्ला तर त्यसको स्थायित्व कति रहला भन्ने मुख्य सबालमा ध्यान दिनैपर्छ । त्यसै पनि अहिले नै नेपाल आउने पर्यटकहरूको प्रतिदिन खर्च निकै कम छ । नेपाललाई सस्तो पर्यटन गन्तव्यका रूपमा बजारीकरण गरिँदा यहाँ पर्यटकको भिड त बढ्ला तर त्यसले पर्यटन आय विस्तारमा कुनै भूमिका निर्वाह नै गर्न सक्दैन । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा पर्यटन क्षेत्रको योगदान चार प्रतिशतभन्दा कम हुनुको मुख्य कारण पनि यही नै हो । जीडीपीमा पर्यटन क्षेत्रको योगदान बढाउने हो भने पर्यटनमा हुने लगानी र त्यहाँबाट प्राप्त हुने प्रतिफल दुवैमा विस्तार गर्नैपर्छ ।
नेपालमा प्रतिपर्यटक बसाइ अवधि औसतमा १४ दिन पनि छैन भने प्रतिपर्यटक प्रतिदिन खर्च ५५ डलरभन्दा कम छ । नेपाल आउने पर्यटकले यहाँ थोरै दिन बसोबास गर्ने र थोरैमात्र खर्च गर्नुका मुख्य कारण भनेको पर्यटकीय उत्पादन कम हुनु नै हो । अहिले पनि नेपाल आउने पर्यटकले भ्रमण गर्ने स्थानहरू निकै सीमित छन् । होटल–रिसोर्टसहित पर्यटक बस्ने स्थलहरूको संख्या त बढ्दै गएको छ, तर पर्यटकका लागि आवश्यक सेवा विस्तारका लागि नयाँ र रचनात्मक ढंगले सोच्नै सकिएको छैन । यहाँ आउने पर्यटकलाई केबल हरियो डलरको आम्दानीमात्र देख्ने तर न्यूनतम पर्यटकीय सेवा विस्तार गर्न नसक्दा सम्भाव्यताअनुसार पर्यटन क्षेत्रको विस्तार हुनै सकिरहेको छैन । देश संघीय संरचनामा गइसकेको अहिलेको परिप्रेक्षमा प्रत्येक प्रदेशमा रहेका पर्यटकीय सम्भावनाको दोहन गर्नका लागि उचित नीति बनाउनैपर्छ ।