छलफलमा विद्यालय कर्मचारी परिषद्
शिक्षक र सरकारबीचको सहमतिमा कर्मचारी परिषद्को विरोध

काठमाडौं- सरकार र शिक्षक महासंघबीच बुधबार भएको सहमतिप्रति असन्तुष्टी जनाउँदै विद्यालय कर्मचारी परिषद्ले विरोध जनाएको छ । सरकार र महासंघबीच बुधबार भएको सहमतिबारे जानकारी दिन काठमाडौंमा आयोजित कार्यक्रममा विद्यालय कर्मचारीहरुले असन्तुष्टि जनाउँदै महासंघ नेतृत्वमाथि नाराबाजीसमेत गरेका थिए ।
विद्यालय कर्मचारीहरुले आफूहरुको माग समावेश नगरेको भन्दै प्रश्न उठाएका थिए । आफूहरुको माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारीहरुले असन्तुष्टि जनाएको महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन् । उनले आन्दोलनको उपलब्धीबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताइन् ।
सहमध्यक्ष पराजुलीले सरकारसँगको ९ बुँदे सहमति सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीको उर्जाको प्रतिफल भएको बताइन् । त्यसैले ऐन जारी नभए अझ ठूलो आन्दोलन चर्काउने स्पष्ट पारिन् । उनले आन्दोलन अझैपनि जारी रहेको र शिक्षक कर्मचारीको मागमा कुनैपनि हालतमा पछि नहट्ने प्रतिवद्धता व्यक्त गरिन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट छोटो समयमा पारित गर्ने र आफ्ना मागहरु सम्बोधन गर्ने विषयमा सहमति भएको उनको भनाई थियो ।
विद्यालय शिक्षा ऐन जारीलगायतका माग राखेर गत चैत २० गतेदेखि सडक आन्दोलन गरिरहेका शिक्षकहरुले बुधबारमात्र सरकारसँग ९ बुँदे सहमति गर्दै आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए । बिहीबार विद्यालय कर्मचारी परिषद्का सदस्यहरू छलफलमा जुटेका छन् । यतिबेला उनीहरूको रत्नराज्य माध्यमिक विद्यालयमा छलफल जारी छ ।