Logo

विदेशमा सिकेको सीप र पूँजीलाई समृद्धिमा लगाउन आग्रह

ललितपुर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रवासी नेपालीलाई विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरि तीव्र आर्थिक समृद्धि हासिल गर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित ‘प्रवासमा नेपाली: सरकारको दायित्व र जनसम्पर्क समितिहरुको भूमिका’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले प्रवासी नेपालीको चाहनाअनुसारको वातावरण राज्यको सबै निकायमा बनाइ सक्षम र सबल व्यक्तिलाई सहभागी गराउन क्रियाशील रहेको बताए । सभापति देउवाले विश्वको जुनसुकै भूमिमा भए पनि नेपाली हौँ भन्ने भावनाका साथ उन्नति र प्रगतिमा लाग्न आग्रह गरे । उनले नेपालमा लोकतान्त्रिक गणतन्त्र बलियो बनाउन प्रवासी नेपालीको बलियो साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।

पार्टीका उपसभापति धनराज गुरुङले यस्ता अन्तरक्रिया र छलफलले भएका समस्यालाई समाधान गर्ने गरि काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले विदेशमा रहेका नेपालीको भिसा नविकरण, श्रम स्वीकृतिलगायतका सामान्य काममा समेत ढिलाइ हुँदा असाधारण क्षति व्यहोर्नुपरेको भन्दै पार्टीको केन्द्रीय कार्यालयमा समेत यसको सहजीकरणका लागि डेस्क स्थापना गर्नुपर्नेमा जोड दिए । उनले गैरआवासीय नेपालीलाई परेको समस्या समाधान गर्नेगरी नेपालमा सहजरूपमा काम गर्न सक्नेगरी लगानीमैत्री वातावरण सिर्जना गर्ने गरि छलफल केन्द्रीत भएर पार्टीलाई सुझाव दिन आग्रह गरे ।

नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीको पक्षमा जनमत तयार गर्दै श्रम गर्न विदेश गएका सम्पूर्ण नेपालीको हितमा हुनेगरी पार्टीले सरकार र संसद्मा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । पार्टीका पूर्वमहामन्त्री विमलेन्द्र निधिले जनसम्पर्क समितिको भूमिकालाई प्रभावकारी बनाउन निरन्तर अन्तरक्रिया हुनु आवश्यक रहेको भन्दै संसारमा रहेका नेपालीलाई जोड्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा जनमत सिर्जना गर्न र आर्थिक समृद्धि रक्षाका लागि भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए ।

कांग्रेसका पूर्वमहामन्त्री एवम् राष्ट्रियसभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले विभिन्न देशमा रहेका प्रवासी नेपालीको फरकफरक समस्या रहेको भन्दै उनीहरुमा नेपालको समृद्धि होस् भन्ने साझा धारणा रहेको बताए । उनले प्रवासी नेपालीको हितमा नीतिगत व्यवस्थाका लागि प्रभावकारी कानुन निर्माणमा पार्टीले जोड दिने बताए ।

पार्टीका केन्द्रीय सदस्य अर्जुन जोशीले नेपालमा भन्दा प्रवासमा बढी हुने हो कि भन्ने चिन्ता रहेको भन्दै यसलाई समाधान गर्न पार्टीले उचित निर्णय लिनुपर्ने बताए । उनले पार्टी र सरकारले विदेशमा रहेका नेपालीको भावना बुझ्ने गरी नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

अर्काका केन्द्रीय सदस्य किरणराज पौडेलले नेपालबाट विदेश गएर काम गर्ने आप्रवासी कामदारले नेपालमा आपतकालीन समयमा गरेको सहयोग अतुलनीय भएको बताए । उनले ‘सबै जुटौं, कोही पनि नछुटौं’ भन्ने नाराका साथ विदेशस्थित २९ देशमा रहेका ३७ वटा जनसम्पर्क समिति रहेको जानकारी गराउँदै ४० भन्दा बढी देशमा जनसम्पर्क समिति गठन गर्ने लक्ष्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्