धनकुटामा औद्योगिक प्रदर्शनी तथा पर्यटन उत्सव हुने

धनकुटा– धनकुटामा औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन उत्सव हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको आयोजनामा यही वैशाख २३ जेठ ५ गतेसम्म प्रदर्शनी तथा पर्यटन उत्सव हुन लागेको आयोजकले जानकारी दिएको छ ।
मेलामा कोशी प्रदेशका साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी र बिक्री वितरणका सामन राखिने घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वबहादुर श्रेष्ठले जानकारी दिए । साथै धनकुटा विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रहरुको फोटो प्रदर्शनीसमेत गरिने र कृषि तथा उद्यमी पुरस्कार वितरणलगायतका कार्यक्रम समेटिएको श्रेष्ठले बताए ।
कोशी प्रदेश सरकारले सुरु गरेको पर्यटन वर्ष २०८२ लाई सहयोग पुग्ने गरी धनकुटामा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न लागिएको मेला आयोजक समितिका संयोजक विजय सन्तोषी राईले जानकारी दिए । कोशी प्रदेश सरकारले आयोजना गरेको पर्यटन वर्षलाई धनकुटामा गरिएको पर्यटन उत्सव तथा औद्योगिक व्यापार मेलाले सहयोग गर्ने राईको भनाइ थियो ।
उत्सव धनकुटा नगरपालिका–५ स्थित तल्लो टुँडिखेलमा आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रदर्शनीमा घरेलु उत्पादन, सांस्कृतिक र स्थानीय खानाका परिकारसहित ३५ वटा स्टल रहनेछन् । उत्सव सम्पन्न गर्न करिब २५ लाख लाग्ने र मेला तथा उत्सवमा एक करोड भन्दा बढीको कारोबार हुने आयोजकको अनुमान छ ।