Logo

बालुवामा सुन खोजेर आम्दानी

रोल्पा- रोल्पाका विभिन्न स्थानमा सुनखानी रहेको भन्ने गरिन्छ । तर विडम्बना ती खानीहरूको उत्खनन् गरी सरकारले आयआर्जन गर्न सकेको छैन । खानी उत्खनन्को विषयमा विभिन्न समयमा बहस भए पनि तीनै तहको सरकारले खानी उत्खनन्प्रति चासो देखाएका छैनन् । सुनखानीको दृष्टिकोणले पूर्वी रोल्पाको सुनछहरी झरनामा प्रसस्त मात्रामा सुन भएको भन्ने गरिन्छ ।

सुनछहरी झरनामा सुनखानी भएकाले झरनाको नाम नै सुनछहरी झरना राखिएको बुढापाका बताउँछन् । यो झरना समुद्री सतहबाट १५ सय ७५ मिटर उचाइमा अवस्थित छ । बर्खाको समयमा पानीको भेलसँगै सुनछहरी झरनाबाट सुनका कणहरू बग्ने गर्दछ भन्ने गरिन्छ । लुंग्री खोलाको किनारमा हिजोआज सुनछहरी झरनाबाट बगेर आएको सुन भन्दै बालुवा चालेर सुन खोज्नेको भीड बढेको छ । सुनछहरी झरना बगेर यसै खोलामा मिसिन आउँछ ।

तराईमा पुगेपछि लुंग्री खोला राप्ती नदीमा मिसिन्छ । लुंग्री खोलामा बालुवा चालेर सुन खोज्न स्थानीयदेखि बाहिरी जिल्लाबाट समेत मानिसहरू आउने गरेको पाइएको छ । खोलाका बालुवा चालेर सुन खोज्दै राम्रो आम्दानी गरेको उनीहरू सुनाउँछन् । वर्षेनी फागुन–चैत महिनादेखि वैशाख–जेठसम्म उनीहरू लुंग्रीखोला र आसपासका खोलामा सुनखोज्ने गरेको बताउँछन् । बालुवा चालेर कतिपयले ८–९ तोलसम्म सुन भेटाइसकेको उनीहरू बताउँछन् ।

दाङबाट सुन खोज्दै रोल्पाको सुलिचौर बजारनजिकै लुंग्रीखोला किनारमा आएका केशरबहादुर माझी विभिन्न समयमा खोलाबाट आफूले नौ तोलभन्दा बढी सुन भेटाएको बताउँछन् । खोलामा सुन खोज्नु उनको जीविकोपार्जनको मुख्य माध्यम नै बनेको छ । वर्षेनी रूपमा उनले रोल्पा, दाङलगायतका ठाउँमा विभिन्न खोलामा सुन खोज्दै आएका छन् । यो सिजनमा आफूले खोलका बालुवा चालेर करिब डेढ तोला जति सुन जम्मा गरेको बताए ।

परम्परागत प्रविधिको प्रयोग गरेर सुन खोज्ने गरेकाले कम सुन भेटाएको उनी बताउँछन् । ‘हामी काठको प्रयोग गरेर बालुवाबाट छानेर सुन खोज्छौं, कतिपयले मेसिनको प्रयोग गरेर पनि खोज्छन् मेसिनबाट खोज्दा धेरै भेटिने सम्भावना हुन्छ,’ उनले भने । सुनिलस्मृति गाउँपालिकाकी स्थानीय मस्तकुमारी घर्तीमगर लुंग्री खोलमा सुन भएको बताउँछिन् । आफ्नो बाबुहरूले पनि खोलामा सुन खोज्ने गरेको उनी स्मरण गर्छिन् । बाबुहरूले खोजेको देखेर आफूले पनि खोज्न थालेको उनले बताइन् । खोलाका भित्री भागमा सुनका कणहरू प्रसस्त मात्रामा रहेको उनको भनाइ छ ।

बालुवा चालेर जम्मा गरेका ती सुनका कणहरू उनीहरूले स्थानीय बजारमा लगेर बिक्री गर्ने गरेको उनीहरू बताउँछन् । स्थानीय व्यापारीहरू पनि बालुवा चालेर ल्याइएका ती सुन नै भएको बताउँछन् । स्थानीयका अनुसार पूर्वकालमा सुनछहरी झरनामा अथाह सुन भएको मान्छेले सुन राखेको भन्ने गरिन्छ । झरनाको बीचमा सो सुन राखिएकाले जोकोहीले सहजै रूपमा झिक्न नसकिने बुढापाका बताउँछन् । झरनाको भित्र राखिएका ती सुन पानीको छालसँगै बाहिर निस्कने गरेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्