Logo

अस्तु सेलाउनसमेत पानी अभाव

जलविद्युत आयोजनाले पानी नछाड्दा लिखु नदी सुक्खा

दोलखा- हिन्दुहरुले लिखू खोलाको शिरलाई उत्तरकाँशीको रुपमा लिने गरेका छन् । रामेछापको उमाकुण्ड गाउँपालिका—१ मा रहेको यो ठाउँमा उमाकुण्डसमेत थियो । पूर्वतिरबाट आउने लिखू खोला र पश्चिमतिरबाट आउने नुप्चे खोलाको संगम उमाकुण्ड रहेको ठाउँ अहिले सुक्खा छ । लिखू खोलामा बाँध बाँधेर पान हिमालय इनर्जी लिमिटेडले ल्याएको पानीबाट ७७ मेगावाटको विद्युत उत्पादन गरिरहेको छ ।

तर जबदेखि खोलामा जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गर्‍यो, तबदेखि हिउँद लागेपछि बाँधबाट थोपो पानी नछाड्दा अहिले खोलामा कमिला हिँड्ने अवस्था आएको छ । लिखूको बाँधमा नुप्चे खोलाबाट समेत बाँध बाँधेर छोटो सुरुङ खनेर दोभानभन्दा माथिबाटै नुप्चेको पानी हालिएको छ । बाँधबाट पानी एक थोपा पनि नचुहिने गरी बाँध बनाएर दोभानभन्दा केहीमाथिबाट नुप्चेको पानी लिखूकोे बाँधमा खसालिएको छ ।

लिखू र नुप्चे खोला मिसिएपछि हिमगंगा पनि भन्ने गरिन्छ । प्रतिष्ठित व्यावसायिक घरना दुगड् ग्रुपको लगानीमा तीनवटा जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएका छन् । पान हिमालय इनर्र्जी लि, ग्लोबल हाइड्रोपावर एसोसिएट लि र नुम्बुर हिमालय हाइड्रोपावर लिको नामबाट ७७ मेगावाटको लिखू १, ५५ मेगावाटको लिखू २ र ५१ लिखू ए जलविद्युत आयोजना डेढ वर्षदेखि विद्युत उत्पादन गरिरहेका छन् । यी तीनैवटा आयोजना रामेछापको उमाकुण्ड गाउँपालिका र सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा पर्छन् ।

लिखू १ को बाँधबाट पानी नचुहिएको मात्रै होइन । लिखू २ को बाँधबाट समेत नियमानुसार पानी छाडिएको छैन । नागरिकको गुनासो आएपछि जिसस सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौला नेतृत्वमा लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतसहितले स्थलगत अनुगमन गरे । अनुगमनका क्रममा नदीमा पानी नछोड्दा स्थानीयले लास जलाएर अस्तूसमेत पखाल्न नपाएर त्यत्तिकै छाड्न बाध्य भएको देखिएको जिसस प्रमुख निरौलाले बताए ।

आफैंले सम्झौता गरेको नियमानुसारको पानीसमेत नछाड्ने आयोजनाका लागि आफूले कानुन पालना गराउन समन्वय गर्ने उनले बताए । हिउँमा खोलामा पानी घटेपछि लिखुपिके गाउँपालिका-५ को लिखू १ मा नुप्चे खोला र लिखू २ मा मार्बू खोलामा स्ट्रेच वेयर बाँध निर्माण गरी आयोजनाको हेडवक्र्स बाँधमा पानी हालिएको छ । बिखे खोला र रामेछापको उमाकुण्डा १ को ताङदिङ खोलाको पानी समेत लगेर लिखू १ को बाँधमा हालेको छ ।

नदीको सहायक खोलाहरुको पानी आयोजनाले लगेको विषयमा स्थानीय आफैं अन्यौल छन् । उमातीर्थलाई उत्तर काँशीको रुपमा लिइन्छ । पवित्र स्नानस्थल, पितृ तर्पणस्थल । पुण्य प्राप्ति स्थलको रुपमा चिनिन्छ । धार्मिक स्थलमा दर्शन गर्न स्नान गर्न र पितृ तर्पण गर्न आउनेका लागि नुहाउने पानीसमेत नहुँदा समस्या भएको छ । लिखू खोलामा निर्माण भएको तीनवटै जलविद्युत आयोजनाको लगानीकर्ता एमभी दुगड् ग्रुप हो । यसका अध्यक्ष मोतीलाल दुगड् हुन् ।

दुगड्ले आफ्नो ‘कृषि उद्यमदेखि जलविद्युतसम्म’ भन्ने आत्मकथा नामक प्रकाशित पुस्तकमा जीवनको उत्तराद्र्धमा लिखूका ३ र लप्चीको एक जलविद्युत आयोजना निर्माण आफ्नो सबैभन्दा ठूलो सफलताको रुपमा लिएको उल्लेख गरेका छन् । पुस्तको पेज नं. २१९ मा ‘तीनवटै आयोजना लिखूखोलामा बनाइने हुनाले लिखुखोला हाम्रा लागि आराध्यदेवी हुन पुगेकी छन् ।’ भन्ने उल्लेख छ । सोही पुस्तकको पेज नं. २२६ र २२७ मा गंगारुपी लिखू र लाप्चे अनी मेरो अन्तिम इच्छा भन्ने छुट्टै शीर्षक राखेर प्राकृतिक सुन्दरता र स्थानीयसँग अपार माया र खुशीको भैको प्रसंग उल्लेख गरेका छन् ।

‘मेरो भित्री हृदयकै आवाज हो: मेरो मृत्युपछि मेरो अस्तु लिखू (यसलाई श्वेतगंगा पनि भनिन्छ) खोलामा, थोरै लाप्चे खोलामा विर्सजन गरियोस् ।’ भनेर उल्लेख गरेका छन् । उनले पुस्तकमा नदीहरु आफ्नो लागि गंगाजत्तिकै पवित्र र नदीप्रति अत्यन्तै आफ्नो श्रद्धा रहेको उल्लेख गरेका छन् । दुगड्ले इच्छा गरेको लिखुमा अस्तु बगाउने पानी उनकै आयोजनाले बन्द गरेको छ । यसबाट स्थानीय त पीडित भएका छन् । तर भविष्यमा पनि आयोजनाले खोलामा पानी नछाड्ने हो भने उनको इच्छा पनि पूरा हुन नसक्ने स्थानीय लाक्पाफुरी शेर्पाको दाबी छ ।

प्रकृति, नदीसँग यति गहिरो भावना भएका दुगड्का आफूले बनाएका आयोजनाले कानुनसमेत उल्लंघन गर्दै पानी बन्द गरेपछि मुख्य लगानीकर्ताकै भावना उल्लंघन गरेको हो कि भन्ने स्थानीयले बताउने गरेका छन् । कानुनअनुसार जलविद्युत आयोजनाले नदीमा भएको न्यूनतम १० प्रतिशत पानी छाड्नुपर्छ । गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रमुख तुलसीप्रसाद दाहालले आयोजनाले पानी नछाड्दा जंगली पशुपन्छी र जलचरलाई प्रत्यक्ष असर पर्ने बताए । यसले प्राकृतिक वातावरणीय सन्तुलन नै बिग्रने बताए ।

संरक्षण क्षेत्रभरको अनुगमनको जिम्मा लिएको संरक्षण क्षेत्रका कर्मचारी आफैं अन्योलमा छन् । आफूहरु अनुगमनमा जाँदा पानी छाड्ने तर अन्य समयमा सुकाउने गरेको आयोजना प्रमुख दाहालले बताए । तर नुप्चे खोलाको बाँधबाट बाढी आउँदा मात्रै पानी खोलामा जाने गरी बनाएकाले बाँधको डिजाइन नै परिवर्तन गर्नु पर्ने उनले बताए । आफ्नो आत्माकथामा दुगड्ले आफ्नो पारिवारिक पृष्ठभूमि व्यापारिक र औद्योगिक विगतको अवस्था, आफ्ना संघर्षको व्याख्यासहित तस्बिरहरु समावेश गरेका छन् । पछिल्लो समय जलविद्युत क्षेत्रमा आफ्नो लगानी सबैभन्दा ठूलो उपलब्धिको रुपमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्