Logo

मझगाउँ विमानस्थलको ‘एप्रोन कक्ष’मा कालोपत्रे गरिँदै

महेन्द्रनगर– कञ्चनपुरमा निर्माणाधीन मझगाउँ विमानस्थलमा एप्रोन अस्पाल्ट कंक्रिटबाट कालोपत्रे सुरु भएको छ । भीमदत्त नगरपालिका–१६ मा मझगाउँ विमान स्थलको एप्रोन कक्ष अस्पाल्ट कंक्रिटबाट कालोपत्रे गरिन लागेको हो । बुधबारदेखि कान्छाराम कुमार श्रेष्ठ/अनमोल कन्स्ट्रक्सन कम्पनीले कालोपत्रेकोे काम सुरु भएको जानकारी दिएको हो ।

निर्माण कम्पनीका इन्जिनियर युवराज रिजालले यसअघि बेस निर्माण भएको एप्रोन, रनवेको काम कालोपत्रे सुरु गरिएको बताए । ‘बुधबारदेखि जहाज पार्किङ स्थलमा कालोपत्रे सुरु गरेका छौं’, ‘इन्जिनियर रिजालले भने, ‘जहाजमा इन्धन भर्नेदेखि यात्रु ओराल्ने, चढाउने स्थलको कालोपत्रे सकेपछि रनवेको काम सक्छौं ।’ ६० मिटर लम्बाइ र ९० मिटर चौडाइको उक्त पार्किङस्थलको काम अघि बढेसँगै मझगाउँ विमानस्थल निर्माणले गति लिने विश्वास व्यक्त गरेका छन् ।

भीमदत्त नगरका नगरप्रमुख पदम बोगटीले तीनै तहका सरकारबाट सञ्चालन भएको मझगाउँ विमानस्थलले अब गति लिने आशा पलाएको बताए । ‘अब कालोपत्रेको काम सुुरु भइसकेको छ। दक्षिणतर्फ रनवे विस्तारका लागि सेनाले पनि जमिन छाड्ने सहमति गरिसकेको छ । विमानस्थलको काम सम्पन्न भएर चाँडै सञ्चालनमा आउँछ ।’ भीमदत्त नगरपालिका–१६ का वडाध्यक्ष केशव विष्टले विमानस्थलको काम अब कालोपत्रेको चरणमा पुगेपछि निर्माणकार्य समयमै सम्पन्न हुने आशा व्यक्त गरे ।

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले विमानस्थल सञ्चालनका लागि प्रदेश सरकारले बजेट कमी हुन नदिने प्रतिबद्धता जनाए । मन्त्री थापाले तीनै तहका सरकारको संयुक्त लगानीमा सञ्चालन भइरहेको विमानस्थल समयमै निर्माण सकेर यातायात सेवा सञ्चालन गरिने बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले सीमावर्ती कञ्चनपुरको विमानस्थल सञ्चालनसँगै स्वदेशी तथा भारतीय पर्यटकलाई समेत नेपालका अन्य पर्यटकीय गन्तव्यमा पुर्‍याउन सहज हुने विश्वास व्यक्त गरे ।

‘मझगाउँ विमानस्थल सुचारु भएसँगै नेपालकै अर्थतन्त्रमा समेत केही सुधार आउँछ’, उनले भने, ‘अब निर्माणमा ढिलाइ गर्नुहुँदैन ।’ कालोपत्रे जिम्मा पाएको अनमोल कन्स्ट्रक्सन सञ्चालक तेजबहादुर चन्दले मूल निर्माण कम्पनीसँग भएको सम्झौताअनुरुप विमानस्थलको पूरै कालोपत्रेको काम समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

‘हामीलाई दायित्वमा आएको काम समयमै सम्पन्न गर्छौं’, ‘उनले भने, ‘कालोपत्रे सम्पन्नपछि बाँकी योजना पनि सुचारु गरेर विमानस्थल छिट्टै सञ्चालन गर्नुपर्छ ।’ दशकौंदेखि बन्द विमानस्थल पुन: सञ्चालनका लागि स्थानीय स्तरबाट दबाब सिर्जना भएपछि तीनै तहका सरकारबाट काम अघि बढिरहेको छ । २०५६ मा असुरक्षाको कारण देखाउँदै बन्द गरिएको मझगाउँ विमानस्थल २०७८ देखि निर्माण सुरु भएको हो ।

विमानस्थलको काम तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । त्यसैगरी विमानस्थल निर्माणका लागि ४५ करोड ६६ लाख २४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । नागरिक उड्डयन प्राधिकरण, २५ प्रतिशत सुदूरपश्चिम प्रदेश, १५ प्रतिशत भीमदत्त नगरपालिका र १० प्रतिशत दोधरा चाँदनी नगरपालिकाको लगानी रहेको छ । ढिलै भए पनि विमानस्थल निर्माण सुचारु भएपछि स्थानीय खुसी छन् ।

प्रतिक्रिया दिनुहोस्