करोडौं लागतको खानेपानी योजना अलपत्र

पर्वत- दक्षिण पर्वतको विहादी गाउँपालिकाको सोती खानेपानी लिफ्टिङ योजना अलपत्र परेको छ । दुर्गम बस्तीका जनतालाई पिउने पानीको सुविधा पुर्याइने लक्ष्य राखिएको सोती खानेपानी लिफ्टिङ योजना चार वर्षदेखि अलपत्र छ ।
गण्डकी प्रदेश सरकारको चार करोड लागतको बहुवर्षीय खानेपानी योजनाले तीन सय घरधुरीलाई खानेपानी उपलब्ध गराउने लक्ष्य राखेको वडा २ का अध्यक्ष गणेश शर्मा पौडेलले बताए । दुई वर्षमा सम्पन्न हुने भनिएको खानेपानीको योजना वर्षौं लाग्दा स्थानीयवासीलाई पिउने पानीको ज्यादै समस्या रहेको वडाध्यक्ष बताउँछन् ।
पिउने पानीका लागि गाउँलेहरू टाढाटाढा रहेका कुवा र मूलको पानीमा भर पर्नुपरेको छ । चैत महिनादेखि यता भएका पानीका स्रोत पनि सुकेपछि पिउने पानी लिन टाढा खोलातिर लाग्नुपर्ने बाध्यता रहेको पौडेलले बताए । खानेपानी योजना पूरा नहुँदा वडा २ मा रहेका गैरे, सातबिसे, शेरा, ठौवा, बासकोट, कर्मीथर, आरनटोल, उपल्लो बर्राचौर, तल्लो बर्राचौर लगायतका क्षेत्रमा पिउने पानीको हाहाकार छ ।
शेरा टोल बस्ने कृषक लीलाकुमारी नेपालीले खडेरी बढेसँगै खानेपानीको हाहाकार भएको दु:खेसो पोखेकी छन् । कृषक नेपालीले भनिन्, ‘एक गाग्री पिउने पानीका लागि एक घण्टा लगाएर भूपे खोला धाउनु परेको छ । घरमा पालेका तीनवटा बाख्रा, एक घोरेपाडी, भैसी, बंगुर, राँगोलाई पानी खुवाउन गार्हो भएको छ । करेसाबारीमा लगाएको तरकारी पानी नपाएर सुकेको अवस्था छ ।’
खानेपानी योजनाअन्तर्गत निर्माण गरिएका रिजर्भ ट्यांकी एक र ६ वटा शाखा ट्यांकी लामो समयदेखि प्रयोगविहीन अवस्थामा छन् भने विच्छाइएका पाइप लाइन कच्ची सडक खन्ने क्रममा क्षतविक्षत भएको स्थानीयवासीको भनाइ छ । एक घर एक धारा कार्यक्रमअन्तर्गत गाउँका केही घरधुरीमा धारा निर्माण गरेको पनि वर्षौं भइसकेको छ । निर्माण गरिएको धाराबाट पानी कहिले झर्ने हो भन्ने कुरा भने गाउँलेलाई केही टुंगो छैन ।
बर्राचौरका स्वास्थ्य चौकी प्रमुख भूपेन्द्रनाथ पौडेलले खानेपानी ट्यांकीलाई इङ्गित गर्दै भने, ‘स्वास्थ्य चौकीको जग्गामा गाउँलेलाई पिउने पानीको सुविधा हुन्छ भनेर पानी ट्यांकी निर्माण गर्न दिने सहमति भयो तर चार वर्ष बितिसक्दा पनि खानेपानी योजना सम्पन्न भएको छैन । पानी ट्यांकी निर्माण गरिएपछि स्वास्थ्य चौकीलाई जग्गा साँघुरो भएको छ । वर्षांैसम्म प्रयोगविहीन रहँदा ट्यांकी मक्किसकेको छ ।’
कालिगण्डकी किनारनजिकै खानेपानी योजनाका लागि एक सय घनमिटरको ट्यांकी निर्माण गरिएको छ भने ५० घनमिटर बराबरका पाँच वटा ट्यांकी निर्माण गरी अलपत्र छोडिएका छन् । खानेपानी योजनाको प्रमुख पाइप लाइन र शाखा पाइप लाइन विस्तारको काम पूरा गरिएको छैन । निर्माणको ठेक्का सम्झौता लिएका ठेकेदार गिरिजाप्रसाद तिवारीको खानेपानी योजनाको काम ५० प्रतिशत पूरा गरेको दाबी छ ।
अहिलेसम्म दुई करोड बढी रकम खर्च गरिसकेको खानेपानी योजनालाई आर्थिक अभावका कारण पूरा गर्न नसकिएको गुनासो खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोती कुँवरको छ । समितिका अध्यक्ष कुँवरले भने, ‘प्रदेशको खानेपानी मन्त्रालयले बर्सेनि थोरै थोरै आर्थिक बजेट विनियोजन गर्दछ । थोरै बजेट हुँदा काम सम्पन्न हुन ढिलाइ भएर अलपत्र भएको छ । आर्थिक वर्ष २०८१!०८२ मा २० लाख रकममात्रै विनियोजन भएको थियो ।