Logo

कोशी लगानी सम्मेलन आजदेखि, ७१ परियोजना प्रस्तुत गरिँदै

विराटनगर– कोशी प्रदेश सरकारको आयोजनामा बिहीबारदेखि लगानी सम्मेलन सुरु हुँदैछ । यसका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रदेश राजधानी विराटनगरस्थित वीरेन्द्र सभागृहमा बिहीबार र शुक्रबार हुने लगानी सम्मेलनमा ७१ वटा परियोजना ‘सोकेसिङ’ गरिने भएको छ । सम्मेलन प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नेछन् ।

प्रदेश लगानी प्राधिकरणले बुधबार पत्रकार सम्मेलन गरेर तयारीका विषयमा जानकारी गराएको छ । प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सरोज कोइरालाका अनुसार प्रारम्भमा ५४ योजना प्रस्तुत गर्ने तयारी गरिएको भए पनि १७ वटा थप गरी ७१ वटा बनाइएको छ । ‘यी सबै योजना एक खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरका छन्,’ कोइरालाले भने । उनका अनुसार उद्योग, पूर्वाधार, कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधिलगायत विभिन्न क्षेत्रमा आधारित परियोजना प्रस्तुत गरिनेछ ।

सम्मेलनकै क्रममा दुई दर्जनभन्दा बढी परियोजनामा समझदारी (एमओयू)मा हस्ताक्षर हुने अपेक्षा गरिएको छ । कोशी प्रदेश सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्न हालै आठवटा कानुन अध्यादेशमार्फत संशोधन गरिसकेको छ । ‘यसले लगानीकर्ताले भोग्नुपर्ने झन्झट अन्त्य हुने अपेक्षा गरिएको छ,’ कोइरालाले दाबी गरे ।

सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारतलगायत देशका लगानीकर्ता तथा गैरआवासीय नेपालीको उल्लेखनीय सहभागिता रहनेछ । यस्तै, स्वदेशका प्रतिष्ठित उद्योगी–व्यवसायीको पनि उपस्थिति सुनिश्चित भएको छ । लगानी सम्मेलनलाई प्रभावकारी बनाउन प्रदेश सरकारले मंगलबार विभिन्न आठवटा ऐन संशोधन गरी राजपत्रमा प्रकाशन गरिसकेको छ । सम्मेलनमा कृषि र पर्यटनको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार र ऊर्जा विकास, स्वास्थ्य सेवा तथा मेडिकल शिक्षामा लगानीका अवसरबारे विभिन्न छलफल सत्र सञ्चालन हुनेछन् । विषय विज्ञहरूद्वारा प्रस्तुतीकरणसहित अन्तरक्रिया हुने कोइरालाले बताए ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लगानीमैत्री संरचना तयार गर्न एकद्वार प्रणाली कार्यान्वयन गर्ने उद्देश्यले ऐन संशोधन गरिएको जानकारी दिए । उनले भने, ‘स्थानीय प्रशासनिक झन्झट अन्त्य गर्न ६ बुँदे नीतिगत प्रतिवद्धता सार्वजनिक गरिएको छ ।’ आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले लगानी सम्मेलनले कोशी प्रदेशको आर्थिक समृद्धि र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनका अनुसार १० करोडभन्दा माथिका लगानीलाई प्राथमिकतामा राखिनेछ । प्रदेशस्तरमा लगानी सम्मेलन पहिलोपटक हुन लागेको हो । यसअघि संघीय सरकारले मात्रै लगानी सम्मेलन गरेको थियो । लगानी सम्मेलनलाई औपचारिकता र कागजमा मात्रै सीमित नराखी प्रतिफल प्राप्त हुने गरी काम गर्नुपर्नेमा उद्योगी व्यवसायीहरुले जोड दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्