Logo

मर्चवारको मुहार बदल्ने चार लेन सडक

बुटवल- कुनै बेला रुपन्देहीको दक्षिण भेग मर्चवार जिल्लाकै पिछडिएको क्षेत्र मानिन्थ्यो । तर अहिले चार लेन सडक बनेसँगै मर्चवारको मुहार बदलिँदै गएको छ । रुपन्देहीको मायादेवी गाउँपालिकाको बेथरीबाट मर्चवार जोड्ने गरी सडकको एक खण्डको निर्माण सम्पन्न भएको छ ।

भैरहवा–लुम्बिनी सडकअन्तर्गत गुरवानीयाबाट कोटइमाई गाउँपालिकाको मर्यादपुर जोड्ने पाँच किलोमिटर फराकिलो सडकले मर्चवारको सो क्षेत्रमा सुन्दरता थपेको छ । बीचमा नहर दायाँ बायाँ दुई–दुई लेनको सडक, पैदल यात्रुको सडक पेटीसहितको चार लेन सडक निर्माण भएको हो । २८ करोड ४९ लाख लागतमा सो सडक बनेको हो । सडक निर्माणका लागि २०७७ कात्तिक १६ गते ठेक्का सम्झौता भएको थियो ।

सम्झौताअनुसार २०८० जेठ २ गते सडक निर्माण सक्नुपर्ने थियो । काम अघि नबढेपछि २०८१ वैशाख १५ सम्मका लागि म्याद थप भएको थियो । पुन: कात्तिक मसान्तसम्मका लागि दोस्रो पटक म्याद थप भई काम सम्पन्न भएको हो । अहिले सो सडक खण्डमा एउटा ४ लेनको पुल निर्माणको काम भइरहेका छ । लुम्बिनी अर्घाखाँची बाबु जेभीले सडक निर्माणको काम गरेको हो । सुरुमा १० किलोमिटर सडक निर्माणका लागि डिपीआर भएको थियो ।

बजेट अभावका कारण पाँच किलोमिटरको मात्र ठेक्का लागेर काम भएको सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीले जनाएको छ । बाँकी पाँच किलोमिटर सडकका लागि भने बजेट नछुट्टिँदा ठेक्का लाग्न सकेको छैन । रुपन्देहीको कोटइमाई गाउँपालिका–३ का वडाध्यक्ष विष्णुनारायण पाण्डेले डिपीआर भएर पनि बाँकी ठाउँमा काम नभएको बताए । ‘यो सडक बन्दा हामीलाई भैरहवा आउन जान सहज हुन्थ्यो । तर डिपीआर भएअनुसार काम भएको छैन । मर्यादपुरभन्दा तल सडकको निर्माण सुरु हुन सकेको छैन,’ उनले भने ।

सडक पूर्वाधार कार्यालय रुपन्देहीका इन्जिनियर कृष्ण पण्डितले बजेट नभएकाले डिपीआर भएको बाँकी ठाउँमा काम हुन नसकेको बताए । ‘बजेट नआएर काम अघि बढाउन सकेका छैन,’ उनले भने, ‘मन्त्रालयबाट पनि केही आदेश आएको छैन । बजेट आयो भने हामी सुरु गर्छाैं ।’ रुपन्देही ४ क का प्रदेश सांसद कन्हैया बानियाले यो सडकलाई प्रदेश सरकारले योजनामा राखेको बताए । उनले डिपीआर भएको बाँकी सडक निर्माण गर्न आगामी आर्थिक वर्षका लागि बजेट पर्नसक्ने बताए ।

‘मर्यादपुरभन्दा तल सडक विस्तारका लागि चालु आर्थिक वर्षमा बजेट नै थिएन । आगामी वर्षका लागि प्रदेश सरकारले पनि अर्थमन्त्रीसँग बजेट माग गरेको छ,’ उनले भने, ‘काम सुरु होला भन्ने आशा छ ।’ बुटवलबाट रुपन्देहीको दक्षिण भेग मर्चवारलाई सिधा जोड्ने गरी यो सडकको अवधारणा बनेको हो । यसअघि बुटवलको बेलबासबाट बेथरीसम्म २२ किलोमिटर चार लेन सडक बनिसकेको छ । बेथरीबाट दक्षिणतर्फ पनि ४ लेनको सडक विस्तारको योजना अघि बढी सीमा क्षेत्रसम्म जोड्ने योजना छ ।

सीमा क्षेत्र खैरहवा नाकासम्म थप सडकको डिपीआर गरी काम अघि बढाउनुपर्दछ । बुटवलबाट जिल्लाको दक्षिण भेगसम्म ४ लेन सडक बनेमा मर्चवारको मुहार फेरिने प्रदेश सांसद बानियाले बताए । ‘यो सडक मर्चवारका लागि विकासको लाइफ लाइन हो । मर्चवारका ३ वटा गाउँपालिकालाई जोड्ने एउटामात्र मुख्य सडक हो । सदरमुकाम भैरहवा जान छिटो हुन्छ,’ उनले भने, ‘बुटवल पुग्न पनि हामीलाई सिधा हुन्छ । मर्चवारमा उत्पादित कृषि उपजको बजारीकरणका लागि पनि सहज हुन्छ । यहाँ विकासको ढोका खुल्छ ।’

प्रतिक्रिया दिनुहोस्