बिमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछ: प्रधानमन्त्री
‘इन साइट अफ लाइभ २०३०’ अन्तरराष्ट्रिय सम्मेलन सुरु

काठमाडौं- नेपालमा विश्वका आँखा सेवा प्रदायक संस्थाहरुको अन्तरराष्ट्रिय सम्मेलन सुरु भएको छ । इन्टनेसनल एजेन्सी फर ‘द’ प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी)द्वारा नेपालमा पहिलो पटक आयोजित सो ‘ इन साइट अफ लाइभ २०३०’ नामक सम्मेलनमा विश्वभरका अन्धोपन निवारण तथा आँखा स्वास्थ्य क्षेत्रमा कार्यरत आइएपिबीका सदस्य संस्थाका प्रतिनिधि सहभागिता रहेको छ ।
आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तरराष्ट्रिय परोपकारी संस्था, आँखा अस्पताल, शैक्षिक संस्थान, व्यावसायिक संघ र कर्पोरेट संस्था मुख्यतया आइएपिबिका सदस्य रहन्छन् । नेपालमा आइएपिबीका सदस्य संस्थामा नेपाल नेत्रज्योति संघ, नेपाल आँखा अस्पताल, तिलगङ्गा आँखा प्रतिष्ठान र बिपी आई फाउण्डेशन रहेका छन् । विश्वभरिका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाको छाता संगठनका रुपमा रहेको आईएपिबीले अन्तरारष्ट्रियरुपमा आँखा स्वास्थ्यको क्षेत्रमा वकालत गर्दै आइरहेको छ ।
आँखा स्वास्थ्य क्षेत्रमा विश्वव्यापी रुपमा सहकार्यलाई प्रवर्द्धन गर्ने, नेतृत्वलाई प्रेरित गर्ने र वकालतलाई सशक्त बनाउने हेतुले हरेक वर्ष विभिन्न देशमा विभिन्न अन्तरराष्ट्रिय सम्मेलनको आयोजना गर्ने गर्दछ । सन् २०२४ को आइएपिबी सम्मेलन मेक्सिकोमा आयोजना गरिएको थियो । आईएपिबीको दक्षिण पूर्वी एसियाका प्रमुख युद्धध्वज सापकोटाका अनुसार सम्मेलनमा करिब १०० राष्ट्रका ५०० जनाले सहभागिता रहेको जनाइएको छ ।
सोही सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले दिगो विकास लक्ष्यहरूप्रति प्रतिबद्धता जनाउँदै विशेष गरी दृष्टि गुमाउने जोखिममा रहेकालाई ध्यानमा राखेर प्राथमिक स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवामा आँखा स्वास्थ्यको समायोजनलाई प्राथमिकता दिइएको बताए ।
नेपालमा सन् २०२२ मा बच्न सकिने अन्धोपनको द्रुत मूल्यांकन पूरा भएको र यसले हाम्रा राष्ट्रिय प्राथमिकतालाई मार्गदर्शन गर्न सघाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा सन् २०३० प्रभावकारी मोतियाविन्दु शल्यक्रिया कभरेज ३५/४५ बाट बढाएर ७५ प्रतिशतसम्म गर्ने प्रतिबद्धता राखिएको अवगत गराए ।
उनले यस यत्रामा कुनै पनि मुलुक एक्लै हिँडेर गन्तव्यमा पुग्न नसक्ने भएकाले विश्वव्यापी सहकार्यमा जोड दिए । आँखा स्वास्थ्यलाई अब सार्वजनिक स्वास्थ्य पूर्वाधारको एक हिस्सारुपमा लिइएको बताउँदै उनले विद्यालय तहबाट दृष्टि परीक्षण र नर्स कार्यक्रम सञ्चालन गरी शिक्षामा समानता र लैङ्गिक पहुँच विस्तार गरिएको पनि बताए ।
नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार उक्त सम्मेलनमा विशेषगरी सन् २०३० सम्ममा विश्वमा आँखा स्वास्थ्यका क्षेत्रका लागि आवश्यक रणनीति तथा योजनाका विषयमा छलफल हुनेछ ।
संघका महासचिव भरतबहादुर चन्दले सम्मेलनले नेपालको आँखा उपचार सेवालाई विश्वव्यापीकरण गर्नुका साथै देशको पर्यटन विकासमा समेत महत्त्वपूर्ण टेवा पुर्याउने बताए । उनले भने, ”‘इन साइट अफ लाइभ २०३०’ नेपालमा आयोजना हुनु हामी सबैका लागि गर्वको विषय हो, यसले हाम्रो देशको आँखा उपचार सेवालाई विश्व समुदायसम्म पुर्याउन मद्दत गर्नुका साथै नेपालको पर्यटन विकासमा समेत महत्त्वपूर्ण हुनेछ ।”
संघअन्तर्गत हाल देशभरमा २८ आँखा अस्पताल, एक सय ६० आँखा उपचार केन्द्र तथा ४५ जिल्ला शाखा सञ्चालनमा छन् । स्थापनादेखि हालसम्म संघले नेपाली नागरिक तथा अन्य देशका गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार गरिसकेको छ । एकाउन्न लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ ।