उद्योग प्रतिष्ठानमा नियमित काम गर्ने श्रमिक ११ प्रतिशतले घटे

काठमाडौं– रोजगादाता प्रतिष्ठानहरुमा नियमित रुपमा कार्यरत श्रमिकको संख्या घटेको छ । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट)ले मंगलबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार गत वर्षको तुलनामा यो वर्ष ११ प्रतिशतले नियमित रोजगारी गर्ने श्रमिक घटेका हुन् ।
प्रतिष्ठानमा नियमित श्रमिकको संख्या घट्दै जाँदा श्रम ऐन कार्यान्वयनमा चुनौती थपिँदै गएको प्रतिवेदनमा उल्लेख छ । देशभरका विभिन्न प्रतिष्ठानमा नियमित, कार्यगत, समयगत, आंशिक लगायतका श्रमिक कार्यरत छन् । यसमध्ये नियमित काम गर्ने श्रमिक ११ प्रतिशतले घटेका हुन् भने अन्य किसिममा काम गर्नेहरु कोही बढ्ने र कोहीमा कमी आउने भएको छ ।
दुई वर्षअघि गरिएको श्रम अडिट प्रतिवेदनअनुसार प्रतिष्ठानको प्रत्यक्ष रोजगारीमा रहेका श्रमिकमध्ये नियमित रोजगारीमा ५९.७२ प्रतिशत थिए । जिफन्टका अध्यक्ष विनोद श्रेष्ठका अनुसार यो वर्ष श्रम अडिट गरिएका प्रतिष्ठानमा ५३.३५ प्रतिशत श्रमिक नियमित रोजगारीमा कार्यरत रहेको फेला परेको छ । जिफन्टले यो वर्ष श्रम कानुन कार्यान्वयनको अवस्था अध्ययन गर्न उत्पादनमूलक उद्योग प्रतिष्ठान, गार्मेन्ट, जुट, टेक्सटायल, होटल, ट्रेकिङ, ट्राभल्स, प्रिन्टिङ प्रेस, सहकारी, निजी अस्पताल, निजी विद्यालय, निर्माण तथा श्रमिक आपूर्तिकर्ता कम्पनी गरी कुल ३२७ वटा श्रम अडिट प्रतिवेदनबाट श्रम कानुन कार्यान्वयनको अवस्था अध्ययन विश्लेषण गरेको थियो ।
यसैगरी कार्यगत रोजगारीमा गत वर्ष ६.१९ प्रतिशत श्रमिक कार्यरत रहेकोमा यो वर्ष केही घटेको छ । श्रम अडिट गरिएका उद्योग प्रतिष्ठानमा कार्यगत रोजगारीमा ५.५१ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, समयगत रोजगारीमा कार्यरत श्रमिक संख्या गत वर्ष ५.५२ प्रतिशत रहेकोमा यो वर्ष ८.५८ प्रतिशत रहेको देखिएको छ ।
आंशिक समय रोजगारीमा गत वर्ष १.७३ प्रतिशत श्रमिक कार्यरत रहेकोमा यो वर्ष १.४८ प्रतिशत रहेको छ । यसैगरी आकस्मिक तथा अन्य रोजगारीमा कार्यरत श्रमिक गत वर्ष ३.९७ प्रतिशत रहेकोमा यो वर्ष ४.६६ प्रतिशत रहेका छन् ।
गत वर्ष श्रमिक आपूर्तिकर्ता (आउटसोर्स) कम्पनीमार्फत काम गर्ने श्रमिक ९.९३ प्रतिशत रहेकोमा यो वर्ष श्रम अडिट गरिएका उद्योग–प्रतिष्ठानमा यस्ता श्रमिकको संख्या १४.९१ प्रतिशत छ । रोजगार सम्झौता गरेर वा नियुक्तिपत्र दिएर श्रमिकलाई काममा लगाउने उद्योग प्रतिष्ठान संख्या गत वर्ष ६५ प्रतिशत रहेकामा यो वर्ष ६०.१ प्रतिशत रहेको छ । यो वर्ष रोजगार सम्झौता गरेर श्रमिकलाई काममा लगाउने उद्योग प्रतिष्ठान करिब ५ प्रतिशतले घटेका छन् । यसले श्रम अनुगमन गर्ने निकाय अर्थात् श्रम प्रशासन फितलो बन्दै गएको पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ ।
दुई वर्षअघि श्रम अडिट गरिएका उद्योग प्रतिष्ठानमा १.६६ प्रतिशत तालिम प्राप्त श्रमिक र १.५६ प्रतिशत प्रशिक्षार्थी श्रमिकलाई काममा लगाएको पाइएको थियो । यो वर्ष यस्तो संख्या क्रमशः १.१० प्रतिशत र ०.८० प्रतिशत रहेको छ । तालिम लिएका श्रमिकको बाहुल्य रहने बैंक तथा वित्तीय क्षेत्र श्रम अडिटमा समावेश नै नगरिएको र होटल, अस्पताल क्षेत्रबाट उत्पादनमूलक उद्योग प्रतिष्ठानको तुलनामा न्यून संख्यामा श्रम अडिट प्रतिवेदन प्राप्त भएकोले यस्तो संख्या घटेको देखिएको हो ।
यसैगरी गत वर्ष प्रशिक्षार्थी र तालिमी श्रमिकलाई काममा लगाउने ८०.९ प्रतिशत उद्योग प्रतिष्ठानले श्रम ऐनको दफा १६ र १७ पालना नगरेको अवस्था थियो भने यो वर्ष ८८.७ प्रतिशतले पालना गरेका छैनन् । श्रम ऐन २०७४ को दफा १८ अनुसार एक वर्षभन्दा बढी तालिम अवधि नहुने साथै तालिमीलाई न्यूनतम पारिश्रमिक, बिरामी बिदा, उपदान, सञ्चयकोष, बीमा र सामाजिक सुरक्षामा कमी नहुने गरी सुविधा दिनुपर्ने व्यवस्था विपरीत गत वर्ष ७९.६ प्रतिशत उद्योग प्रतिष्ठानले काममा लगाएका थिए । यो वर्ष श्रम अडिट गरिएका उद्योग प्रतिष्ठानमध्ये ९१.६ प्रतिशतले यो व्यवस्थाको पालना गरेका छैनन् ।
यसैगरी विदेशी श्रमिकलाई काममा लगाउने प्रतिष्ठानले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट स्वीकृति लिएर मात्र काम लगाउन सकिने व्यवस्था छ । तर, भारतीय मूलका श्रमिक काममा लगाउने उद्योग प्रतिष्ठानले भने श्रमिकको अभिलेखिकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । २०८० सालमा गरिएको श्रम अडिटबाट २५.५ प्रतिशत उद्योग प्रतिष्ठानले विदेशी श्रमिक काममा लगाएको अवस्था थियो । यो वर्ष यस्तो श्रम संख्या ११.८ प्रतिशत छ ।