मुद्दति निक्षेपमा बचतकर्ता अनिच्छुक, निरन्तर घट्दै निक्षेप

काठमाडौं– बैंक तथा वित्तीय संस्थामा मुद्दति खातामा जम्मा हुने निक्षेपको अनुपात निरन्तर घट्दै गएको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकका अनुसार २०८१ फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाले ६७ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यसको ५७.१५ प्रतिशत अंश मुद्दति निक्षेपको हो । अर्थात् कुल निक्षेपमा झण्डै ३८ खर्ब ६९ अर्ब रुपैयाँ मुद्दति निक्षेपमा रहेको छ ।
२०८० साउनमा ६१.३ प्रतिशत रहेको मुद्दति निक्षेपको हिस्सा २०८१ फागुनमा घटेर ५१.७ प्रतिशतमा झरेको छ । यो अवधिमा मुद्दति निक्षेपको अंश ९.६ प्रतिशत विन्दुले घटिसकेको छ । बैंकहरुले मुद्दति खातामा हुने निक्षेपको ब्याज घटाउँदै जाँदा निक्षेपको अंश घट्दै गएको हो । पछिल्ला महिनाहरूमा बैंकहरूले लागत कम गर्न मुद्दति निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । धेरै बैंकको मुद्दति ब्याजदर साधारण बचतको तुलनामा कम छ । एक दर्जन बैंकले वैशाख १ गतेदेखि लागु हुने गरी बचतभन्दा अल्पकालीन मुद्दति निक्षेपको ब्याजदर तल ल्याएका छन् ।
एनआईसी एशिया, माछापुच्छ«े, सानिमा, एनएमबि, एभरेष्ट, स्टाण्डर्ड चार्टर्ड, कृषि विकास, लक्ष्मी सनराइज, कुमारी, हिमालयन र नेपाल बैंकले साधारण बचतमा भन्दा अल्पकालीन मुद्दतिमा ब्याजदर कम गरेका छन् । यसले कुल निक्षेपमा मुद्दतिको हिस्सा झनै घट्ने देखिन्छ ।
बैंकरहरूले पनि अहिले तरलता पर्याप्त रहेको अवस्थामा मुद्दतिमा भन्दा साधारण बचततर्फ लगानीकर्तालाई आकर्षित गर्नुपर्ने अवस्था रहेको बताउन थालेका छन् । सोहीअनुसार ब्याजदर घटाएर यस किसिमको परिस्थिति सिर्जना गर्न थालिएको उनीहरूको भनाइ छ ।
२०८१ फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.५४ प्रतिशत, विकास बैंकहरुको ५.३२ प्रतिशत र वित्त कम्पनीहरुको ६.३६ प्रतिशत रहेको छ । २०८० साउनमा यो दर क्रमशः ८ प्रतिशत, ९.२८ प्रतिशत र १०.१३ प्रतिशत थियो । निरन्तर ब्याजदर घट्दै जाँदा मुद्दति निक्षेप पनि घट्दै गइरहेको हो । अहिले मुद्दति खाताको निक्षेप झिकेर सेयर बजारमा लगानी गर्ने क्रम बढिरहेको छ । अन्य लगानीका लागि अवसर सिर्जना नभइसकेको भन्दै सेयर बजारमा आकर्षण बढिरहेका बेला बैंक तथा वित्तीय संस्थाको मुद्दति खाताको निक्षेप घट्दै गएको हो ।
मुद्दति निक्षेप धेरै समयसम्म घटिरहेमा समस्या सिर्जना हुने भए पनि अहिले नै समस्या आउँछ भन्न नसकिने जानकारहरू बताउँछन् । अहिले लगानीका लागि उपयुक्त अवसर नभइरहेको सन्दर्भमा मुद्दति खाताबाट रकम झिकेर समस्या नहुने उनीहरूको भनाइ छ
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा मुद्दतिको अंश ५१.७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश ५८.७ प्रतिशत थियो ।
२०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा मुद्दतिको अंश ५७.५ प्रतिशत थियो । जबकी २०८० साउनमा मुद्दति निक्षेपको अंश ६१.३ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार २०८१ फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाले ६७ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो निक्षेपको ५७.१५ प्रतिशत अंश मुद्दतिको हो । गत आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ६१ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकामा मुद्दतिको अंश ५८.७ प्रतिशत थियो ।
मुद्दति निक्षेप निश्चित समय तोकेर राखिने र यस्तो खातामा ब्याजदर तुलनात्मक रुपमा बचत खातामा भन्दा बढी भए पनि तोकिएको समय समाप्त नभएसम्म यो रकम निकाल्न मिल्दैन । बचत खाता रकम बचतको अभिप्रेरित गर्न सञ्चालनमा आउने र यस्तो खाता थोरै रकमबाट खोल्न सकिने हुँदा यसमै बढी आकर्षण छ ।