Logo

आठौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति महिला भलिबलको उपाधि प्रहरीलाई

काठमाडौं– नेपाल प्रहरीले आठौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा प्रहरीले ६ पटकको उपाधि विजेता एपीएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै नयाँ च्याम्पियन बन्यो । प्रहरीले २५–१५, २५–२३ र २५–१६ स्कोर गर्दै उपाधि सुनिश्चित गर्‍यो ।

प्रहरीकी कमला पुन ‘प्लेयर अफ म्याच’ घोषित भइन् । एपीएफ सुरुका पाँच संस्करण र सातौं संस्करणको विजेता हो । छैटौं संस्करणको उपाधि न्यु डायमन्डले जितेको थियो । प्रहरी अपराजित रहँदै च्याम्पियन बन्यो । उपाधि यात्रासम्म प्रहरीले कुनैपनि सेटको नतिजा प्रतिद्वन्द्वीलाई सुम्पेन । प्रहरीले लिगमा न्यु डायमन्डलाई २५–१४, २५–२२ र २५–१३ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।

सेमिफाइनलमा प्रहरीले नेपाल आर्मीलाई २५–६, २५–२२ र २५–२३ ले हराउदै एपीएफसंग उपाधि भेट पक्का गरेको थियो । विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । पहिलो पुरस्कार लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड, दोस्रो पुरस्कार मार्वल टेक्नोप्लास्ट र तेस्रो पुरस्कार नेपाल एसबीआई बैंकले प्रायोजन गरेको छ ।

प्रहरीकी कामना विष्ट सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । कामनाले मुक्तिनाथ विकास बैंकद्वारा प्रायोजित ५० हजार नगद पुरस्कार पाइन् । कामनाले काठमाडौं–बैंकक–काठमाडौंको हवाइ टिकट पनि हात पारिन् । यो प्याकेज सांग्रिला इन्टरनेसनल डिएसभीले प्रायोजन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्