Logo

संघीय बजेटमा प्रदेश आयोजना पार्न काठमाडौं पुग्यो सुदूरपश्चिम सरकार

धनगढी– सुदूरपश्चिम प्रदेशमा सञ्चालन भइरहेका ठूला आयोजनामा बजेट विनियोजन माग गर्दै सुदूरपश्चिम प्रदेश सरकार संघीय राजधानी काठमाडौं पुगेको छ । प्रदेश नीति तथा योजना आयोगको आयोजनामा आइतबार काठमाडौंमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसद र मन्त्रीहरूसँग छलफल गर्दै संघीय बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राख्न आग्रह गरिएको हो ।

मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको यसअघिको प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशका लागि विशेष बजेटको व्यवस्था गर्न राष्ट्रिय योजना आयोग, प्राकृतिक स्रोत तथा वित्त आयोग र अर्थ मन्त्रालय पुगेर माग गरे पनि सुनुवाइ भएको थिएन । शाहले दोस्रो पटक मुख्यमन्त्री भई बजेट बनाइरहँदा संघीय बजेटमा सुदूरपश्चिम प्रदेशका आयोजनालाई प्राथमिकतामा राख्न प्रदेश सरकारको नेतृत्व संघमा पुगेको छ ।

सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसद र मन्त्रीहरूसँगको छलफलमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका २६ वटा आयोजनामा प्राथमिकताका साथ बजेट विनियोजनका लागि पहल गरिदिन आग्रह गरेका छन् । उनले डोटीको गहनान क्षेत्र (सेती नदी र सकायल गाड) मा तटबन्ध निर्माण, कैलाली भन्सार गौरीफन्टा नाकाको स्तरोन्नति, फाप्ला क्रिकेट रंगशाला निर्माण, दैजी छेला औद्योगिक क्षेत्र सञ्चालन, प्रदेश स्तरीय अत्याधुनिक सार्वजनिक/निजी साझेदारीमा कम्पोजिट उड इन्डस्ट्री स्थापनाका लागि बजेट विनियोजनको पहल गरिदिन सहभागी सांसद र मन्त्रीहरूलाई आग्रह गरे ।

यसैगरी ९ वटै जिल्लाका लागि जलवायुमैत्री कृषि प्रवर्द्धन कार्यक्रम, बाजुरामा भेडा तथा बाख्रापालन कार्यक्रम, हिमाली जिल्लामा प्रांगारिक कृषि प्रवर्द्धन कार्यक्रम, कैलालीमा आधुनिक वधशाला निर्माण, पर्यटकीय क्षेत्र खप्तड राष्ट्रिय निकुञ्जसम्म जाने पैदलमार्ग निर्माणलाई पनि संघीय सरकारको बजेटमा पार्न आग्रह गरिएको छ । यस्तै, बडीमालिका दर्शन गर्न पहुँच मार्ग (पैदल/सडक) निर्माण, सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड बीच प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटन सम्भावना रहेको देवाटवी सर्किट निर्माणका लागि बजेट विनियोजन पहल गर्न मुख्यमन्त्री शाहले अनुरोध गरे ।

नेपाल–भारत व्यापार व्यवसायमा वृद्धि गर्न कञ्चनपुरमा निर्माणाधीन दोधारा चाँदनी सुख्खा बन्दरगाह, त्रिदेशीय नाकाका रुपमा रहेको महाकाली करिडोर निर्माण, सेती लोकमार्ग निर्माण, पञ्चेश्वर जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माण, कर्णाली चिसापानीदेखि महाकालीसम्मको पूर्वपश्चिम राजमार्ग चार लेनको बनाउन, खुटिया दिपायल द्रुतमार्ग निर्माणलाई तीव्रता दिन संघीय बजेट आवश्यक रहेको मुख्यमन्त्री शाहको धारणा छ । यसैगरी भीमदत्त लोकमार्ग दुई लेनमा स्तरोन्नति गर्न, कञ्चनपुरको मझगाउँ विमानस्थल स्तरोन्नति र सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गर्न माग गरिएको मुख्यमन्त्री शाहका प्रेस संयोजक डम्बर बमले बताए ।

गेटा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न र विशिष्टकृत स्वास्थ्योपचार सेवा सुरु गर्न, डडेल्धुरा मेडिकल कलेजमा ३०० शय्या अस्पतालको रुपमा स्वीकृत गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न, सुदूरपश्चिम विश्वविद्यालयमा ४०० जनाको दरबन्दी स्वीकृत गरी बजेट व्यवस्था गर्नसमेत माग गरिएको उनले जानकारी दिए । संघीय नीति तथा कार्यक्रममा ३०० मेगावाट क्षमताको जलविद्युत् परियोजना प्रदेश सरकारले आफैं लगानीकर्ता खोजी निर्माण गर्न अधिकारसहितको कानुन बनाउने विषय स्पष्ट गर्न प्रदेशले संघीय सरकारसँग आग्रह गरेको छ ।

मुख्यमन्त्री शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसअघि नै भेटेर यी आयोजनामा बजेट व्यवस्था गर्न माग राखिसकेको प्रेस संयोजक बमले बताए । मुख्यमन्त्री शाहको टोलीमा प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा.जीवन राना, आयोगका सदस्य नृप सुनार र प्रदेशका प्रमुख सचिव डा. कमलप्रसाद पोखरेल सहभागी छन् । मुख्यमन्त्री शाहले सोमबार संघीय राजधानीमा यस विषयमा भेटघाट गरी मंगलबार भ्रमणका लागि भारत जाने कार्यक्रम छ । मुख्यमन्त्री शाहको भारत भ्रमण टोलीमा प्रदेशका सांसद लगायतको १० जनाको टोली छ ।

कार्यक्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलगायत सुदूरपश्चिमबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद तथा विज्ञ सहभागी थिए । छलफलमा परराष्ट्रमन्त्री देउवाले सुदूरपश्चिम मानव विकास सूचकांकमा पछाडि रहेकोले प्रदेशका लागि सरकारले विशेष योजना दिनुपर्ने बताइन् । उनले सुदूरपश्चिमको कृषि, पर्यटन, धार्मिक र साँस्कृतिक क्षेत्रको विकास गर्न प्रदेशबाट सरकार र संसदमा प्रतिनिधित्व गर्ने सबैले हातेमालो गर्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्