विकासबाट वञ्चित तरंगा गाउँ

वीरेन्द्रनगर- प्रदेश राजधानी वीरेन्द्रनगरसँगै जोडिएको बराहताल गाउँपालिका- ४ को तरंगा गाउँ विकासको आधारभूत आवश्यकताबाट बाहिर रहेको छ । खानेपानी, विद्युत, सडकलगायतका सेवा यो गाउँमा अझै नपुगेको स्थानीयबासीले बताएका छन् । तरंगामा बत्ती बाल्न तार तानिएको चार वर्ष पुगे पनि हालसम्म स्थानीयबासीले बत्ती बाल्न पाएका छैनन् ।
२०७८ मा सुरु भएको बिजुलीको लाइन विस्तारले गति नलिँदा भेरी नदी तटीय क्षेत्र माथिल्लो तरंगा, सिम्लेपानी, केलाडी, तल्लो तरंगा, चन्द्रिबाज, साझघाट, कुटालगायतका दर्जन बढी बस्ती अझै अन्धकारमा छन् । भेरी नदी किनारका बस्तीहरू सदियौँदेखि खानेपानी, स्वास्थ्य, विद्युतको पहुँचबाहिर छन् । स्वच्छ खानेपानी अभावले यहाँका अधिकांश नागरिक भेरी नदीको दूषित पानी प्रयोग गर्न बाध्य छन् । बस्तीको पिँधबाट भेरी नदी बग्छ । तर, खेतीयोग्य जमिन सिँचाइको अभावले सुक्खा टार बनेका छन् ।
मानिसहरूको ठूलो बसोबास भएको माथिल्लो तरंगालगायतका बस्तीमा भेरीको पानी प्रयोग गर्न सोलार लिफ्ट निर्माण गरिएको छ । तर, मर्मत र उचित संरक्षणको अभावमा करोडौँ लगानीका संरचना अलपत्र छन् । २०७६ मा सोलार सिस्टमबाट भेरीको पानी लिफ्ट गरी माथिल्लो तरंगामा सिँचाइ तथा खानेपानीको सुविधा दिने लक्ष्यका साथ निर्माण गरिएको भेरी लिफ्ट उद्घाटन भएकै दिनदेखि बन्द छ । खेतीका गर्न आकाशे पानीको भर पर्नुपर्ने अवस्थामा रहेकी स्थानीय ६८ वर्षीया कमला कामीले बताइन् ।
नेताहरूले भेरीको पानी बारीमा पुर्याउने आवश्वासन मात्रै बाँडेको उल्लेख गर्दै उनले भनिन्, ‘२०७६ मा सोलार सिस्टममार्फत भेरीको पानी ल्याउन काम सुरु भएको थियो । आयोजना बन्यो, उद्घाटन पनि भयो । तर, पानी कहिल्यै आएन । घर छेउ अविरल पानी बग्छ । बस्तीमा शुद्ध खानेपानीको कहर छ ।’ गाउँमा बिजुली नहुँदा खानेपानीसँगै खेतबारी सुक्खा रहेको अर्का स्थानीय ललित सुनारले सुनाए । ‘बिजुली नहुँदा विद्यार्थीलाई पढ्न समस्या छ,’ उनले भने, ‘घरमा बत्ती छैन । विद्यालयमा टिनको पाताले छाएको छ । गर्मीमा भित्र बसेर पढ्न समस्या छ ।’
बिजुली नहुँदा सिँचाइ गर्न एक करोड बढी खर्चेर निर्माण गरिएको लिफ्ट आयोजना काम नलाग्ने अवस्थामा पुगेको उनले बताए । गाउँका हुने खानेका घरमा सोलारको उज्यालो छ । नहुनेहरूका घर अन्धकारमा छन् । स्थानीय ७० वर्षीया पानसरी कठायत भन्छिन्, ‘हुने खानेका घरमा ठूला क्षमताका सोलार बत्ती छन् । नहुनेका घरमा सोलार पनि छैन ।’ विगतमा उज्यालोका लागि वन पैदावार प्रयोग गरिने भए पनि अहिले त्यो चलन हराएको उनले बताइन् ।
साविक तरंगा गाविसको केन्द्र रहेको तरंगामा बिजुली पुर्याउन ठेक्का भए पनि ठेकेदारको बदमासीले तरंगावासी बिजुलीबाट वञ्चित हुनुपरेको स्थानीयसमेत रहेका वडाध्यक्ष बिर्ख सिजापतिले बताए । ‘तरंगा आउने सिधा लाइनअनुसार काम गरेको भए आजसम्म बिजुली आइसक्थ्यो तर, बीचमा लाइन ८ नम्बरतिर मोडियो,’ उनले भने, ‘छिटो लाइन विस्तारको काम अघि बढाउन ठेकेदारसँग छलफल गरेका छौँ ।’ उनका अनुसार भेरी नदी तटीय क्षेत्रका नागरिकलाई लक्षित गरी सडक निर्माणको काम भइरहेको छ ।