इन्द्रेणीजस्तै संघीय संसद् «

इन्द्रेणीजस्तै संघीय संसद्

सप्तरंगी इन्द्रेणीजस्तै विभिन्न रंग र वेशभूषाको अनुपम संयोगको रूपमा आइतबार संघीय संसद्को शपथ ग्रहण समारोह आयोजना भयो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा रहेको संघीय संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु आ–आफ्नै वेशभूषामा पद तथा गोपनियताको शपथ लिन पुगेका थिए । नेपालको जातीय विविधता र सहअस्तित्व र भातृत्वको विराट संगमको रूपमा शपथ ग्रहण समारोहलाई लिन सकिन्थ्यो । अन्य दिनमा साधारण पोशाकमा देखिँदै आएका अधिकांश सांसदहरु आ–फ्ना जातीय वेशभूषामा देखिँदै कतिपयलाई त झट्ट चिन्न पनि गाह्रो पर्दथ्यो ।
आ–आफ्नै वेशभूषामा सजिएका प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य आपसमा बधाई साटासाट गर्न र सेल्फी खिच्न व्यस्त थिए । नेपाली पोशाक दौरा सुरुवाल लगाउने पनि भेटिएका थिए भने थारु, मगर, गुरुङ, मारवाडी, मुसलवान समुदायको वेशभूषामा सजिएका सांसद्ले राष्ट्रिय तथा स्थानीय समस्या समाधान गर्न र संविधान कार्यान्वयनमा पूर्णरुपमा प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धतासमेत जनाएका थिए ।
थारु वेशभूषामा शपथ ग्रहण समारोहमा उपस्थित भएकी सांसद शान्ता चौधरीसँग सेल्फी खिच्नेदेखि बधाई साटासाट गर्नेको राम्रै भीड लागेको थियो । उनले जनताले विश्वास र भरोसा व्यक्त गरेर आफूलाई प्रतिनिधिसभा सदस्यमा जिताएको स्मरण गरिन् ।
उनले भनिन्, “प्रतिनिधिसभा सदस्यमा शपथ लिएपछि एक प्रकारको उत्साह र एक प्रकारको चिन्ता पनि लागेको छ । जनताले दिएको ज्म्मिेवारी पूरा गर्छौँ ।”
पाँचपटकका अर्थमन्त्री डा. रामशरण महतलाई पराजित गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित नुवाकोट क्षेत्र नं १ का हितबहादुर तामाङ आफ्नै समुदायको वेशभूषामा शपथ लिन संघीय संसद् भवन नयाँ बानेश्वर पुगेका थिए । “वाम गठबन्धनको तर्फबाट आफू विजयी भएकाले गठबन्धनको कार्ययोजनाअनुसार नै अगाडि बढ्छ,” तामाङले भने, “आफूलाई निर्वाचित गराउने जनतालाई सम्झेको छु । उनीहरुका सपना पूरा गराउनुपर्छ भन्ने जिम्मेवारी छ । हामी सफल हुन्छौं भन्ने लाग्छ ।”
सर्लाहीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपालको अल्पसंख्यक समुदाय मुसलमान समुदायकी रुहिनाज मिकरानी आफ्नै वेशभूषामा शपथ लिन संघीय संसद् भवन पुगेका थिए ।उनीसँगै भेटिएकी शेषचाँद तारा पनि अल्पसंख्यक मुसलमान समुदायबाटै प्रतिनिधित्व गर्छिन् । राष्ट्रिय महिला आयोगको पूर्वअध्यक्ष चाँदताराले राम्रोसँग जिम्मेवारी पूरा गर्ने योजनामा रहेको बताइन् । उनले भनिन्, “पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै राष्ट्रिय रुपमा केही योगदान गर्ने योजनामा छु ।”
अनेरास्ववियूका अध्यक्षसमेत रहेकी नवीना लामा शपथ ग्रहण गर्न तामाङ वेशभूषामा नै संघीय संसद् भवन पुगिन् । “पहिला सडक आन्दोलनमार्फत विभिन्न दबाबमूलक कार्यक्रम गरिन्थ्यो । अब देशको संविधान कार्यान्वयन गर्ने नीतिको नेतृत्व गर्दैछु । खुसी पनि लागेको छ । जिम्मेवारी बोध पनि भएको छ,” लामाले भनिन् ।
आर्थिक समृद्धि र विकासको योजनाका साथ आफूहरु जनताका माझ गएको र जनताले सोही जिम्मेवारी पूरा गर्ने तिर लाग्ने कार्ययोजना समेत उनले सुनाइन् । सांसद् लक्ष्मी परियारले पनि जनताको अपेक्षाअनुसार काम गर्ने विश्वास व्यक्त गरिन् ।
हिमाल, पहाड र तराईका जनताले उठाएका माग सम्बोधन गर्न अझै पनि सहकार्य र सहअस्तित्वको जरुरी रहेको भन्दै सांसद राजेन्द्र महतोले राजनीतिक एजेण्डा र आर्थिक समृद्धिलाई सँगै अगाडि बढाउनु जरुरी रहेको प्रतिक्रिया दिए । मारवाडी पहिरनमा ठाटिएर शपथ ग्रहण समारोहमा सहभागी भएकी मोती दुगडले विकासको एजेण्डा पूरा गर्ने कार्यभार पूरा गराउन लागिपर्ने बताए ।
नेवारी वेशभूषामा सजिएका राजेन्द्र श्रेष्ठ धेरैको आकर्षणमा परेका थिए । सेल्फी खिचाउनेदेखि फोटो खिच्नेसम्म पनि उनलाई भ्याइनभ्याई थियो ।
पर्साबाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित प्रदीप यादव पनि धेरैको आर्कषणको केन्द्रबिन्दुमा थिए । उनले लगाएको मधेसी समुदायको पोशाकमा धेरैको आँखा परेको थियो ।
पूर्वसभामुख ओनसरी घर्ती मगर समुदायको परम्परागत वेशभूषामा शपथ लिन आएकी थिइन् । उनीसँग सेल्फी खिच्नेको भीड उस्तै थियो । यस्तै संघीय संसद्मा शपथ लिन आएका अधिकांश पुरुष सांसद्ले ढाका टोपी, भादगाउँले कालो टोपी लगाएका थिए । दौरा सुरुवाल लगाउने पनि उत्तिकै थिए । परम्परागत पोशाक नलगाउने महिला सांसदले नेपाली महिलाले लगाउने साडी चोलो लगाएका थिए । गायिका कोमल ओली भन्दै थिइन्, “संघीय संसद् एउटा इन्द्रेणी जस्तै लागेको छ ।”
संघीय संसदमा श्रीमान्–श्रीमती नै सदस्य रहेका शक्ति बस्नेत र सत्या पहाडी, देवप्रसाद गुरुङ र यशोदा सुवेदी तथा वर्षमान पुन र ओनसरी घर्तीलगायत पनि सँगसँगै शपथ लिन संसद् भवन पुगेका थिए ।
यस्तै संघीय संसदमा पहिलोपटक प्रतिनिधित्व गरेका बिना मगर, रामकुमारी झाँक्री, र स्वतन्त्र सांसद छक्कबहादुर लामा पनि आकर्षणको केन्द्रमा थिए ।

प्रतिक्रिया दिनुहोस्