सुदूरपश्चिममा होमस्टे महोत्सवको तयारी

धनगढी– सुदूरपश्चिम प्रदेशमा सञ्चालित होमस्टेहरुको बजारीकरण र व्यवसायीकरण गर्ने उद्देश्यसहित धनगढीमा होमस्टे महोत्सव आयोजना हुने भएको छ । उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रवर्द्धन र थारु होमस्टे भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय होमस्टे महोत्सव आयोजना हुने भएको हो ।
वैशाख १८ देखि २० गतेसम्म धनगढी–१६ स्थित थारु होमस्टे गाउँ भादामा महोत्सव आयोजना गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ । महोत्सव सम्बन्धि जानकारी दिन शुक्रबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले प्रदेशमा सञ्चालित होमस्टेहरुको बजारीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्ने तयारी भइरहेको बताए ।
उनले होमस्टे सञ्चालन गरिरहेको समुदायको संस्कार, संस्कृति, खानपान, भेषभुषा, कला, सीप, प्राकृतिक सम्पदा, परम्परा झल्किने गरी महोत्सव आयोजना गर्ने बताउँदै महोत्सवमा प्रदेशका ३२ वटा होमस्टेको सहभागिता रहने बताए । उनले देशभरका तीन सय जना होमस्टे सञ्चालकलाई समेत आमन्त्रण गरिएको बताए ।
महोत्सवका लागि मन्त्रालयले १५ लाख रुपैयाँ विनियोजन गरेको छ भने महोत्सव स्थलमा राखिने स्टलबाट उठेको रकम, केही थप प्रायोजकले दिएको रकमले महोत्सव आयोजना गरिने अध्यक्ष चौधरीले बताए । उनले महोत्सवमा नौ वटै जिल्लाका १३ वटा सांस्कृतिक कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, शुक्लाफाँटा जंगल सफारी, थारु हस्तकला प्रदर्शनी, होमस्टे कार्यशाला, काठेपिङ महोत्सवको मुख्य आकर्षण रहने बताए ।
महोत्सवमा स्लोसाइकल रेस, घैटोफोर, भलाद्मी दौड, पेनाल्टी सुटआउट जस्ता खेलकुदसमेत राखिएको बताए । तीन दिनमा एक लाख जनाले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको होमस्टे महोत्सवमा प्रवेश नि:शुल्क गरिएको छ । महोत्सवमा आउने आमन्त्रितका लागि बास र खानाको समेत व्यवस्था गरिएको अध्यक्ष चौधरीले बताए । उनले महोत्सव व्यवस्थापनमा नुक्लीपुर होमस्टे र मजगाउँ होमस्टेले समेत सहकार्य गरिरहेको बताए ।