Logo

सूर्यज्योतिले मनायो १७औं वार्षिकोत्सव

काठमाडौं– सूर्यज्योति लाइफ इन्स्योरेन्सले १७औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीका अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनलगायत विभागीय प्रमुखहरु र १५ वर्ष भन्दा बढी अवधि सेवा गरी सम्मान प्राप्त गर्ने २१ जना कर्मचारीको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले १७ वर्षको सफल यात्रामा कम्पनीको बलियो वित्तीय अवस्था, विश्वसनीयता र हासिल गरेका सूचांकहरुको उन्नति र उत्कृष्टताका लागि आभार प्रकट गरे । उनले कम्पनीले अवलम्बन गरेका नविनतम प्रविधि, समयसापेक्ष ग्राहकमैत्री सेवाप्रति प्रतिबद्ध रहि आगामी दिनमा अझ बृहत बनाउने यात्रामा निरन्तर अघि बढ्ने प्रतिवद्धता जनाए ।

कम्पनीले यो आर्थिक वर्ष २०८१/८२ अन्त्य सम्ममा हाल सम्मकै उत्कृष्ट व्यवसाय गरी इतिहास रच्ने लक्ष्य लिएको खत्रीले प्रष्ट पारे । साथै उक्त अवसरमा कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले उपलब्धिमूलक यस यात्रामा सबैको विस्वासले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

इन्स्योरेन्सको हाल चुक्ता पुँजी ५०१ करोड, कुल लगानी ४,४०० करोड, जीवन बीमा कोष ३,९४० करोड, नेटवर्थ ६३० करोड रहेको बताइएको छ । यसैगरी जारी बीमालेख संख्या ३२ लाख ७५ हजार ४७९, प्रशिक्षित अभिकर्ता संख्या १ लाख २ हजार २४० र देशभर रहेका १७४ शाखा सञ्जालद्वारा सेवा प्रदान गरी रहेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्