लुम्बिनीमा लक्ष्यको ३० प्रतिशत मात्रै राजस्व संकलन

दाङ– लुम्बिनी प्रदेशले लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल देखिएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा लक्ष्यको ३०.०६ प्रतिशत मात्र राजस्व संकलन भएको हो । चालू आर्थिक वर्षको चैतसम्म वार्षिक लक्ष्यको ३०.०६ प्रतिशत आन्तरिक राजस्व संकलन भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका वरिष्ठ लेखा नियन्त्रक तथा सूचना अधिकारी रवीन्द्र अर्यालले जानकारी दिएका हुन् ।
प्रदेशमा ९ महिने अवधिमा १ अर्ब ४१ करोड ६२ लाख ४९ हजार ४ सय ७७ रुपैया ३८ पैसा राजस्व संकलन भएको छ, जुन राजस्व मात्र नभई बेरुजु फिर्ता, निकासा फिर्ता र अनुदान फिर्ताको रकमसमेत हो । बेरुजु फिर्ता, निकासा फिर्ता र अनुदान फिर्ताको रकमलाई वास्तविक आम्दानी मान्न नसकिने आर्थिक क्षेत्रका जानकार बताउँछन् । वार्षिक लक्ष्य ४ अर्ब ७१ करोड २० लाख ८३ हजार रहेको छ ।
वार्षिक लक्ष्य हालिस गर्न नसके आन्तरिक स्रोतमार्फत सञ्चालन गरिने आयोजना तथा कार्यक्रममा प्रभाव पर्ने गर्छ । कार्यालयका अनुसार कृषि आयमा लाग्ने करबाट चार हजार रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको ०.०८ प्रतिशत हो । सरकारी सम्पत्तिको बहालबाट ६ लाख ७१ हजार ४ सय २५ आम्दानी भएको छ, जुन लक्ष्यको ८.५७ प्रतिशत हो ।
अन्य स्रोतबाट बाँडफाँट नहुने रोयल्टी ४ लाख ६ हजार २ सय ६७ रुपैया संकलन भएको छ । कृषि उत्पादनको बिक्रीबाट प्राप्त १ करोड २० लाख ५८ हजार ८ सय २० रुपैयाँ १७ पैसा संकलन भएको छ, जुन लक्ष्यको २५.६६ प्रतिशत हो । सरकारी सम्पत्ति बिक्रीबाट प्राप्त २ लाख २३ हजार ७ सय ३५ रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको ८.५७ प्रतिशत हो । अन्य बिक्रीबाट सात सय १३ रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको २.७४ प्रतिशत हो ।
नहर तथा कुलो उपभोगबापतको शुल्क १२ हजार पाँच सय रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको १२.२५ प्रतिशत हो । अन्य सेवाशुल्क तथा बिक्रीबाट ६४ हजार दुई सय रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको ७.०२ प्रतिशत हो । यस्तै, शिक्षा क्षेत्रको आम्दानीबाट ५४ हजार दुई सय ५० संकलन भएको छ, जुन लक्ष्यको ६.९३ प्रतिशत हो । यसैगरी परीक्षा शुल्कबाट ३ करोड ३२ लाख ५१ हजार सात सय ८४ रुपैया ५६ पैसा संकलन भएको छ । यो लक्ष्यको १०.२६ प्रतिशत हो ।
यातायात क्षेत्रको आम्दानी १६ करोड २१ लाख ५४ हजार २२ रुपैयाँ रहेको छ । यो लक्ष्यको ४१.४१ प्रतिशत हो । अन्य प्रशासनिक सेवा शूल्कबापत ६ करोड २८ लाख ६८ हजार ८७ रुपैयाँ ५० पैसा संकलन भएको छ । यो लक्ष्यको ४१.१६ प्रतिशत हो । यसैगरी व्यावसायिक रजिस्ट्रेसन दस्तुरबाट ६ करोड ४७ लाख ११ हजार ६ सय २२ रुपैया संकलन भएको छ । यो लक्ष्यको २६.०९ प्रतिशत हो । रेडियो एफएम सञ्चालन दस्तुरबाट २० हजार राजस्व संकलन भएको छ ।
टेलिभिजन सञ्चालन दस्तुर १ लाख ६० हजार संकलन गरिएको छ, जुन लक्ष्यको १८.६९ प्रतिशत हो । चालक अनुमतिपत्र सवारीबाट ६१ करोड ६ लाख २४ हजार आठ सय ५० रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको ३१.२८ प्रतिशत हो । वन क्षेत्रको आय २७ करोड ७५ लाख ६७ हजार दुई सय ७२ रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको २०.८३ प्रतिशत हो ।
न्यायिक दण्ड जरिवाना र जफतबाट एक लाख ८३ हजार ९ सय ६२ रुपैया संकलन भएको छ । यो लक्ष्यको १८.७७ प्रतिशत हो । यसैगरी प्रशासनिक दण्ड जरिवाना र जफतबाट १ करोड ८४ लाख ७४ हजार चार सय ८४ रुपैया ५५ पैसा संकलन गरिएको छ, जुन लक्ष्यको २९.५५ प्रतिशत हो । यस्तै, धरौटीबाट ४७ लाख ६२ हजार ९ सय ८९ रुपैयाँ संकलन गरिएको छ, जुन लक्ष्यको ७८.७२ प्रतिशत हो ।
अन्य राजस्वबाट २० लाख २ हजार चार सय ३४ रुपैयाँ संकलन गरिएको छ । यो लक्ष्यको ७१.६५ प्रतिशत हो । बेरुजुबाट ४ करोड ९८ लाख ४३ हजार ३ सय १९ रुपैयाँ ८८ पैसा संकलन गरिएको छ, जुन लक्ष्यको २८.७१ प्रतिशत हो । निकासा फिर्ताबाट ९ करोड ४३ लाख २१ ह्जार चार सय ११ रुपैयाँ ८४ पैसा संकलन भएको छ । अनुदान फिर्ताबाट २ करोड १८ लाख ४८ हजार तीन सय २७ रुपैयाँ ६८ पैसा राजस्व संकलन भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।