पोखरामा डेढ अर्बको खानेपानी आयोजना निर्माण हुने

पोखरा– पोखरा महानगरमा डेढ अर्ब रुपैयाँ लागतमा खानेपानी आयोजना सञ्चालन हुने भएको छ । केही वडामा खानेपानी अभाव भएको अवस्थामा पोखराको काँहुडाडा, कृस्ति, भरतपोखरी, निर्मलपोखरी र मट्टीखानलगायत क्षेत्रका बासिन्दालाई स्वच्छ पिउने पानीको उपलब्धताका लागि लागत साझेदारीमा परियोजना सञ्चालन गर्ने गरी त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
उक्त परियोजनाले अभाव भएका केही वडामा पिउने पानी उपलब्ध गराउनेछ । पोखरा २१ र ३३ वडालाई समेट्ने गरी सरकारको केन्द्रीय खानेपानी आयोजनाअन्तर्गत बृहत् भरतपोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजना, मट्टीखान खानेपानी आयोजना पोखरा २१ र जलवायु अनुकूलित आयोजना काँहुधरहरा खानेपानी आयोजना पोखरा वडा–११ मा निर्माण, सञ्चालन र कार्यान्वयन सम्बन्धमा त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
पोखराका मेयर धनराज आचार्य र सिनियर डिभिजनल इन्जिनियर कुलप्रसाद पौडेललगायतको रोहबरमा गरिएको समझदारीपत्रमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराका का.मु आयोजना प्रमुख पदमबहादुर कुँवर क्षेत्री, पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई र खानेपानी उपभोक्ता समितिका तीनै जना अध्यक्षले हस्ताक्षर गरेका छन् ।
बृहत् भरतपोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजना निर्माणका लागि ५१ करोड ७७ लाख ७६ हजार २०२ रुपैयाँ कुल लागतमध्ये पहिलो चरणमा अर्थ मन्त्रालयबाट रु.२८ करोड ४९ लाख ९१ हजार ८२८ स्रोत सुनिश्चित भई कार्यान्वयनको चरणमा रहेको छ । यस्तै, काँहुधरहरा खानेपानी आयोजनाका लागि कुल ४९ करोड १७ लाख १७ हजार ६०३ रुपैयाँमध्ये २१ करोड ६ लाख २४ हजार १४० रुपैयाँ र मट्टीखान खानेपानी आयोजनाको कुल २८ करोड ५४ लाख ६५ हजार १७३ रुपैयाँ मध्ये १९ करोड ७६ लाख ४१ ८७६ रुपैयाँको अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ ।
समझदारीअनुसार स्रोत सुनिश्चित भई कार्यान्वयनमा गइसकेपछि चालू आवमा पोखरा महानगरले त्यसको १० प्रतिशत रकम बेहोर्नेछ । तीन वटै परियोजनाको कुल लागत १ अर्ब २९ करोड ४९ लाख ५८ हजार ९७८ रुपैयाँ लाग्ने अनुमान गरिएको छ । परियोजनाको कुल लागतको ९० प्रतिशत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले बेहोर्नेछ । आयोजनाअन्तर्गत पोखरेलथोकमा निर्माणाधीन अत्याधुनिक पानी प्रशोधन केन्द्रमा पानी संकलन तथा प्रशोधन गरी १७ किमि सिमलेससहित ३५ किमि पाइपमार्फत उपोक्ताहरुको घरघरमा पानी पुर्याइनेछ ।
यस आयोजनाबाट करिब २४ सय घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष दाताराम आचार्यले बताए । आयोजनामा २००, १००, ७५, ५० र २० घन मिटरका ११ वटा पानी ट्यांकी निर्माण हुनेछन् । यस्तै, काँहु धरहरा खानेपानी आयोजनाअन्तर्गत काँहुमा प्रशोधन केन्द्र निर्माण गरी १७ किमि पाइपलाइनमार्फत उपभोक्ताको घरघरमा पानी पुर्याइनेछ । करिब १५ सय घरधुरी लाभान्वित हुने यो आयोजना अन्तरगत तीन सय घनमिटर एक र एक सय घनमिटरका दुई वटा ट्यांकी निर्माण गरिनेछ ।
मट्टीखान खानेपानी योजनाअन्तर्गत सेतीखोलाबाट सम्पवेलमार्फत पानी पम्पिङ गरी फेदीखोला गाउँपालिकाको नुवाकोटमा संकलन गरी मट्टीखान क्षेत्रमा वितरण गरिनेछ । ३५ किमि पानीको पाइपलाइन विस्तार हुनेछ । विभिन्न स्थानमा १५० र ३५ घनमिटर क्षमताका ८ वटा पानी ट्यांकीमार्फत आयोजनाले १२ सय घरधुरीलाई पानी वितरण गर्नेछ । चालू आर्थिक वर्षबाटै योजना सञ्चालन गर्ने गरी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले २०८१ फागुन ८ मा सार्वजनिक टेन्डर समेत आह्वान गरिसकेको छ ।
पोखरा कार्यालय प्रमुख कार्यान्वयन इकाइ रहेको यी आयोजना सम्पन्न भएपछि पाँच हजार घरपरिवार प्रत्यक्ष लाभान्वित हुनेछन् । आयोजना कार्यान्वयन भएको मितिले ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यी आयोजना एक घर एक धाराको अवधारणामा सञ्चालन हुनेछन् । पोखरा महानगरका मेयर आचार्यले नगरबासीलाई आधारभूत खानेपानीको उपलब्धताका लागि क्रियाशील रहेको बताए । नगर क्षेत्रमा संघ, प्रदेश र महानगर स्तरीय विभिन्न आयोजना सञ्चालन गरी उपभोक्तालाई स्वच्छ र सफा पिउने पानीको व्यवस्था गर्न निरन्तर लागिरहेको उनले जनाए ।
‘पोखरा महानगरको भूगोल विविधतायुक्त छ । यहाँ समथर मैदानदेखि अग्ला पहाडी भेग छन् । सबै स्थानमा खानेपानीको सहज उपलब्धता हुन नसकिरहेका बेला पछिल्लो पटक निकै मिहिनेतका साथ हामी यी आयोजना सञ्चालन गर्ने क्रममा आइपुगेका छौं’, उनले भने । ठूला लगानीका आयोजनामा जनसहभागिता जुटाउन निकै कठिन भए पनि नागरिकको संवैधानिक अधिकारको प्रत्याभूतिका लागि पनि यसको दायित्व महानगरले लिनुपर्दछ भन्ने मान्यताका साथ प्रतिबद्धतासहितको अग्रसरता लिएको उनको भनाइ छ ।
जी टू जी अवधारणामा उपभोक्ताको तर्फबाट बेहोर्नुपर्ने १० प्रतिशत जनसहभागिताबापतको रकम महानगरपालिकाले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको खातामा पठाइदिने भएको छ । पानीको महसुल बुझाउन मुस्किल पर्ने उपभोक्तालाई जनसहभागिताबापतको रकम महानगरले तिरिदिने भएपछि उपभोक्तामा उत्साह थपिएको समितिका अध्यक्षहरूले प्रतिक्रिया दिएका छन् । यसले योजना सञ्चालनमा ठूलो राहत मिलेको अनुभूति भएको उनीहरूको भनाइ छ ।
‘पोखरा महानगरले असल अभिभावकत्वको आभास दिलाएको छ । बृहत् भरतपोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष दाताराम आचार्यले भने, ‘महानगरले जनताको दु:खमा सारथिको काम गरेको छ ।’ यी आयोजना समयमा सम्पन्न गर्न उपभोक्ताबाट सबै प्रकारका सहयोग र समन्वय गर्ने उनीहरूले प्रतिबद्धता जनाएका छन् । यसअघि जाइकाको सहयोगमा पोखरामा करिब ५ अर्बको लागतमा बृहत् खानेपानी योजना सम्पन्न भएको छ ।