तामाकोसी पाँचौंको अडिट सुरुङको काम सुचारु

दोलखा- तामाकोसी पाँचौ जलविद्युत आयोजनाको अडिटको काम सुचारु भएको छ । विभिन्न माग राखी विगू गाउँपालिका—१ जगतका स्थानीयले बन्द गरेको काम आयोजना व्यवस्थापनसँगको छलफलपछि शनिबारदेखि सुचारु भएको हो । स्थानीयले एक घर एक रोजगारी, ब्लाष्टिङ गर्दाको आवाज आउँदा स्थानीयले भत्ता पाउनुपर्ने, पानीको मुहान सुके सुविधा पाउनु पर्ने, सडकलगायतका विभिन्न माग राखी तीन दिनअघि मुख्य सुरुङ खन्ने अडिट १ को काम रोकेका थिए ।
लगातारको वार्तापछि नौं बुँदे सहमतिपछि आयोजनाको काम सुचारु भएको वार्तामा सहभागी स्थानीय यादव आचार्यले जानकारी दिए । उनका अनुसार आयोजनाको ईआईए प्रतिवेदनमा उल्लेख भएअनुसार आयोजनाले कार्यान्वयन गर्नुपर्ने र सीपअनुसारको रोजगारीमा उमेर हद नलगाउने लगायतका सहमति भएको जानकारी दिए ।
सहमति पत्रमा तामाकोसी पाँचौंका तर्फबाट आयोजना प्रमुख हेमन्त भट्ट, सहायक प्रबन्धक अर्जुन कँडेल साथै आन्दोलनकारी स्थानीयका तर्फबाट पहलमान तामाङ, यादव आचार्य, शेषनारायण श्रेष्ठ, मिरे तामाङ, नेत्रबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् । आयोजनाको निर्माण सामग्री उत्पादन गर्ने गोंगरमा रहेको क्रसर प्लान्ट भने स्थानीयले ध्वनि प्रदूषण र नदी किनारमा भएको भन्दै १० दिनदेखि बन्द रहेता पनि सुचारु भएको छ ।
क्रसर सञ्चालनका लागि शनिबार दिउँसो वार्ता सकिएको आयोजना प्रमुख हेमन्त भट्टले जानकारी दिए । नदीमा तटबन्ध गर्ने, सकड क्षेत्र उकालोमा ढलान गर्ने, धुलो उड्न नदिने लगायतका माग आयोजनाले पूरा गर्ने भएपछि क्रसर र व्याचिङ प्लान्ट चल्ने भएको हो । आयोजनाको सिभिल निर्माण कम्पनी सिनो हाइड्रोकर्पोरेसनले गाेंगरमा क्रसर र ब्याचिङ प्लान्ट राखेको छ । यसअघि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले पनि यही ठाउँमा क्रसर र व्याचिङ प्लान्ट राखेको थियो ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको क्यासकेट आयोजनाको रुपमा रहेको तामाकोसी पाँचौं ९९.८ मेगावाटको हो । यसको मुख्य सुरुङमार्गका लागि चारवटा अडिटमार्फत काम सुरु भएको छ । १, २ र ४ नं. अडिटमा काम जारी छ भने अडिट ३ मा वन क्षेत्र भएकाले डेढ वर्षदेखि वनको स्वीकृति नपाउँदा काम हुन सकेको छैन । आयोजनाको लट १ को ठेकेदार परिचालन भएको ८ महिनामा साढे २ महिना मजदुर र स्थानीयले विभिन्न माग राख्दै आयोजनाको काम बन्द गराएका छन् ।
आयोजनाको सिभिल र हाइड्रोमेकानिकलको कामको चिनियाँ कम्पनी सिनो हाइड्रोकर्पोरेसनले गत जेठमा ठेक्का सम्झौता गरी वर्षात्पछि फिल्डमा परिचालन भएको छ । इलेक्ट्रोमेकानिकल र प्रसारण लाइनको अर्को लटको ठेक्का आह्वान तयारी अन्तिम चरणमा पुगेको छ । यसअघि ठेक्का आह्वान भएर पनि बढी कबोल भएकाले रद्द गरिएको थियो । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तामाकोसी जलविद्युत कम्पनीले ९९.८ मेगावाटको तामाकोसी पाँचौ जलविद्युत आयोजना निर्माणाधीन छ । आयोजना विगू गाउँपालिका वडा नं. १, २, ३, ४ मा आयोजनाको संरचना बन्ने छ ।