पक्राउ परेकी राईको सांसद् पद तत्काल निलम्बन नहुने

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सांसद माया राईलाई पक्राउ गरेको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा सांसद राईलाई शनिबार पक्राउ गरिएको हाे ।
यसअघि सहकारी ठगी र संगठित अपराधको कसुरमा सांसद राईलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियाे । सांसद राईसमेतका व्यक्तिले उक्त सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ । सहकारीको रकम हिनामिनामा संलग्नमाथि अनुसन्धान सुरु भएदेखि सांसद राई फरार थिइन् ।
नेपाली कांग्रेसकी सांसद राई पक्राउ परेको सूचना संघीय संसद् सचिवालयमा पुगेको छ । आइतबार उक्त सूचना सभामुखले प्रतिनिधि सभामा सुनाउँदैछन् । सांसद राई पक्राउ परेको जानकारी सभामुखले संसद्लाई गराए पनि तत्काल उनको सांसद पद भने निलम्बन हुने छैन ।
प्रतिनिधि सभा नियमावलीको नियम २४८ मा सदस्यको पक्राउको जानकारी सम्बन्धी व्यवस्था छ । कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने व्यवस्था नियमावलीको नियम २४८ को उपनियम १ मा छ । बैठक नचलेको अवस्थामा पक्राउको सूचना प्राप्त भए सूचना पार्टीमा सोको सूचना टाँस गर्ने र सभा चलिरहेको अवस्थामा सभामै सुनाउनुपर्ने व्यवस्था छ ।