माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता

काठमाडौं- माछापुच्छ्रे बैंकले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग रेमिट्यान्स सेवासम्बन्धी सम्झौता गरेको छ । बैंकले कुवेतमा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ अल मुजैनीसँग सहकार्य गरी विधिवत रुपमा रेमिटेन्स सेवा सुरु गरेको जनाएको छ । बिहीबार कुवेतस्थित होटल मिलेनियम साल्मियामा एक औपचारिक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र अल मुजैनी एक्चेन्जका महाप्रबन्धक त्ह्यु फर्नान्डेजले हस्ताक्षर गरेका थिए । बैंकका अनुसार अब कुवेतमा रहेका नेपालीहरूले कुवेतस्थित अल मुजैनी एक्सचेन्जका १४५ वटा शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरू, ९९ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ ।
साथै बैंकले अल मुजैनी एक्सचेन्जबाट पठाइएको रेमिटेन्स नेपालका जुनसुकै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था मिलाएको छ । सोही कार्यक्रमा बैंकले तयार पारेको बैंकको कभर गीत सार्वजनिक गरिएको थियो । बैंकका पूर्व संचालक हरिभक्त सिग्देलले रचना गरेको उक्त कभर गीत बैंकका संचालक समितिका अध्यक्ष रोशन के.सी तथा कार्यबाहक राजदुत राणाले संयुक्तरुपमा सार्वजनिक गरेका थिए ।
कार्यक्रममा कुवेतका लागि नेपालका राजदुत सुजनी राणा, गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा लगायत गैर आवासीय संघका प्रतिनिधिहरू, कुवेतस्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।