नेपाल जिम्बावेसँग ११६ रनले पराजित «

नेपाल जिम्बावेसँग ११६ रनले पराजित

आईसीसी विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा नेपाल आयोजक तथा टेष्ट राष्ट्र जिम्बावेसँग पराजित भएको छ । आइतबार भएको समूह चरणको पहिलो खेलमा नेपाल जिम्बावेसँग ११६ रनले पराजित भएको हो ।
बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको मैदानमा जिम्बावेले दिएको ३८१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २६४ रन बनाउन सक्यो । नेपालको सम्मानजनक स्कोरमा शरद भेषवाकर र आरिफ शेखले अर्धशतकीय पारी खेले ।
शरदले ४८ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ५२ रन बनाए । यस्तै आरिफले ५८ बलमा ५ चौकासहित ५० रन बनाएर पेभेलियन फर्किए । त्यस्तै कप्तान पारस खड्काले ४० तथा ओपनर ज्ञानेन्द्र मल्लले ३२ रन बनाए । दिलिप नाथ २ रनमा आउट हुँदा दिपेन्द्र सिंह ऐरीले २३ रन जोडे । नेपालका सोमपाल कामी १२ तथा सन्दिप लामिछाने ७ रनमा अविजित रहे ।
यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको जिम्बावेले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३८० रनको उच्च योगफल तयार गरेको थियो । जिम्बावेको विशाल योगफलको लागि ब्रेण्डन टेलर र सिकन्दर राजाले शतकीय पारी खेलेका थिए ।
छनोटको ‘सुपर सिक्स’मा पुग्ने लक्ष्य लिएको नेपालले अब स्कटल्याण्ड, अफगानिस्तान र हङकङसँग खेल्नेछ । विश्वकप छनोटको समूह बी मा रहेको नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग मार्च ८ मा, अफगानिस्तानसँग मार्च १० र हङकङसँग मार्च १२ मा खेल्नेछ । छनोटको समूह ए मा वेष्ट इन्डिज, आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र यूएई रहेका छन् ।
पाँच राष्ट्र सम्मलित समूह बी को शिर्ष ३ टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । शिर्ष ६ भित्र पुग्न नेपालले कम्तिमा २ खेल जित्नैपर्ने हुन्छ । नेपालको लागि यो महत्वपूर्ण प्रतियोगिता समेत हो । यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०१९ विश्वकप खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्