भूकम्पले पानीको मुहान सुक्दा किरसेका सिंगो बस्ती विस्थापित

दोलखा- दोलखाको गौरीशंकर गाउँपालिका-८ कृष्णबहादुर तामाङ आफ्नो पुरानो थातथलो किरसेमा पुगेर टोलाइरहेको भेटिए । कहिले आफ्नो भग्नावशेष घरमा पुग्छन् त कहिले आफ्ना वरपरका फलफूल बगैंचामा । यताउता टोलाए पनि बस्ने बास नभएपछि फेरि बासका लागि खोला किनार फर्किन्छन् ।
साविक खारे गाविस वडा नं. ४ किरसे एउटा सिंगो बस्तीमा कृष्णबहादुरको मात्रै एउटा घर ठाडो देखिन्छ । त्यो घर पनि भूकम्पको कम्पनले चिराचिरा परेको छ । वरपरका कुनै पनि घर ठाडो छैनन् । किरसेमा १० घर थिए । ती सबै घर अहिले भग्नावशेष मात्रै छन् । उमेरले ७३ वर्ष पुगेका कृष्णबहादुरले आफ्नो ६ पुस्तादेखि बसोबास गर्दै आएको ठाउँ छाड्नु पर्दा नरमाइलो लागेको दु:खेसो गरे ।
१० वर्षअघि अर्थात् २०७२ वैशाख १२ गतेको विनासकारी भूकम्प र त्यसपछिको पराकम्पनपछि यो बस्ती रित्तिएको हो । वैशाख २९ को पराकम्पन दोलखा नै केन्द्रविन्दु हुँदा सबैभन्दा बढी क्षति भयो । किरसेका सबै तामाङ जातिको मात्रै बसोबास थियो । जग्गा पनि राम्रो छ । फलफूल, अन्नबाली र पशुपालनबाट जीविकोपार्जन गर्दै आएका थिए । पानीको २ वटा स्रोत थियो । तर भूकम्पपछि दुवै पानीको मुहान सुकेपछि कुनै विकल्प नभएर आफूहरु बसाइँ सर्न बाध्य भएको ८४ वर्षीया मुगी तामाङले बताइन् ।
गौरीशंकर गाउँपालिका-६ बरुमा भेटिएकी मुगीले पानी भए आफ्नै थातथलो फर्किने बताइन् । ‘किरसे राम्रो उत्पादनशील जग्गा भएको ठाउँ हो, अहिलेसम्म कोही कामका लागि समेत बाहिर गएका थिएनन्,’ उनले भनिन्, ‘सुन्तला, केरा, अम्बाजस्ता फलफूल र अन्न राम्रो उत्पादन हुन्थ्यो, तर पानी नै नभएकाले राम्रो ठाउँ छाडेर अर्काको ठाउँमा बस्नु परेको छ ।’ सुन्तलाको लागि किरसे यो क्षेत्रमै परिचित थियो । ‘सुन्तला मिठो किर्सेको, माया लाउन बिर्सेको’ भन्ने गीत यो भूगोलमा जात्रा पूजामा चर्चित थियो ।’
एउटै बोटमा ५ हजार दानासम्म सुन्तला फल्ने गरेको अर्का गोकर्ण तामाङले बताए । ‘आफ्ना बाजेले नै रोपेका सुन्तला र केरा सिजनमा गुरुम्फी, सुरीदोभान, सिंगटीसम्म लगेर बेच्थे । व्यापारीहरु खरिद गर्न गाउँमै आउँथे । ‘गाउँमा पहिला कहिल्यै नसुक्ने देवीथान र जामुनेमा पानीको मुहान थियो,’ उनले भने, ‘त्यसैबाट मान्छे र पशुले पानी पिउँथ्यौं, तर २०७२ पुस २१ गतेबाट एक्कासि पानीको मुहान सुक्यो त्यसपछि पानीकै खोजीमा हामी सबै खोला किनारमा बसाइँ सर्न बाध्य भयौं ।’
किरसेबाट खारे खोला, बरु र लुंगटामा बसाइँ सरेका छन् । भएभरको जग्गाजमिन माथि भए तापनि थोरै जग्गा किनेर घर बनाएर बसेका छन् । अहिले खारे खोलामा हरेक वर्षात्मा ठूलो बाढी आउँदा जग्गा कटान गरेर बस्ती पनि जोखिममा परेको उनीहरुको गुनासो छ । कुनै पनि उपायबाट किरसेमै खानेपानीको व्यवस्था भए आफूहरु फर्कने सबैले एक स्वरमा बताए । थोरै घरहरु भएको ७० जना जनसंख्या भएका पनि होला हाम्रा कुरा सरकार र नेताहरुले नसुनेको उनीहरुको भनाइ छ ।
१० वर्षदेखि बाँझो रहेको जग्गामा अहिले युवाले गत वर्षदेखि सुन्तला रोप्न सुरु गरेका छन् । केहीले गत वर्ष रोपेका छन् भने केहीले यस वर्षका लागि जग्गा तयार गर्दैछन् । तर पोहोर रोपेको सुन्तला पनि सिंँचाइ नहुँदा जोगाउनै गाह्रो भएको शुक्रराज तमाङले बताए । वरिपरि भीर छ, बीचमा किरसे बस्ती हो । पानी ल्याउन ४.५ किलोमिटर वरपर पानीको कुनै मुहानै छैन । अर्को विकल्प खारे खोलाबाट लिफ्टबाट ल्याउने वा खोलापारी मूलाबारीबाट ल्याउने मात्रै भएको उनले बताए ।
दुर्गम र एकान्तको गाउँ भए तापनि माटो राम्रो भएकाले उत्पादन राम्रो हुने छिमेकी रवीन्द्र सुरेलले बताए । सानो आफू पनि खेतको रोपाइँ र सुन्तलाका लागि धेरै पटक त्यो गाउँ गएको उनले सम्झिए । गाउँलेका ठूला माग छैनन् मात्रै खानेपानीको सुविधा राज्यले दिए फेरि पुरानै पेशा व्यवसायसँगै गाउँलेहरु फर्कने उनले बताए । अहिले बसोबास गरेको ठाउँ पनि बाढीको जोखिम भएकाले तटबन्ध गरेर बस्ती जोगाउनसमेत उनीहरुको माग छ ।