Logo

कर्णालीमा खाद्यान्न पर्याप्त

वीरेन्द्रनगर- कर्णाली प्रदेशका १० जिल्लामा खाद्यान्न अभाव नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालयले जनाएको छ । खाद्यको सबै डिपो, बिक्री केन्द्र तथा शाखामा पर्याप्त चामल रहेको प्रदेश प्रमुख केशवराज बुढाले बताए । आठ जिल्लाका शाखा, २५ बिक्री केन्द्र, १८ डिपो र ३० पालिकामा खाद्यान्न पर्याप्त रहेको उनले बताए ।

प्रदेश कार्यालयको गोदामसमेत अहिले भरिभराउ भएको उनले बताए । खाद्यान्न पर्याप्त मात्रामा रहेको छ उनले भने, ‘पाँच वर्षपछि उपल्लो डोल्पामा समेत खाद्यान्न पुगेको छ । अन्य हिमाली जिल्लामा समेत पर्याप्त मात्रामा खाद्यान्न पठाएको छ । मागअनुसार नै सबै ठाउँमा ढुवानी भइरहेको छ ।’ कम्पनीले साविकका कर्णालीमा जन्म र मृत्यु संस्कारमा ३० केजी चामल दिने गरिएको छ ।

उक्त चामल लिनका लागि ढुवानी भाडा दूरीअनुसार पाँच सयदेखि एक हजारसम्म दिने गरिएको छ । जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोट जिल्लामा यो कार्यक्रम लागू भएको छ । पालिकाहरुमा खाद्यान्न पुर्‍याउनका लागि कम्पनी र पालिकासँग सम्झौता हुने क्रम जारी रहेको छ । गोदाममा अटेजति खाद्यान्न राखे पनि चामललाई सुरक्षित गर्न समस्या भएको उनले बताए । मुसा, पानी पर्ने समस्याले गर्दा चामल जोगाउन हैरान भएको उनले बताए ।

सधैं खाद्यान्न अभाव हुने खवर सार्वजनिक हुने कर्णालीमा अब खाद्यान्न अभाव नभएको खवर सार्वजनिक भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको पहुँच वृद्धि भएको कार्यालयको दाबी छ । अधिकांश ठाउँमा यातायातको पहुँच हुँदा सबै ठाउँमा खाद्यान्न पुर्‍याउनसमेत सहज भएको छ । पालिकास्तरमै कम्पनीले सम्झौता गरेर चामल आपूर्ति तथा ढुवानीको काम सुरु भएपछि स्थानीयबासीलाई सहज भएको छ ।

सबै प्रकारका चामल सबै ठाउँमा पुर्‍याएको कार्यालयको दाबी छ । यातायातको पहुँच नभएको ठाउँमा घोडा, खच्चडमा समेत ढुवानीको काम भएको छ । दुर्गम जिल्लामा खाद्यान्न पहुँच बढेसँगै स्थानीयबासी खुसी भएका छन् । जिल्ला प्रशासन कार्यालयले लगाएको कोटा प्रणाली सिफारिस गर्ने कुराको सबै अन्त्य भएको छ । हप्ता दिन गन्ती गरेर चामल बाँडने परम्परासमेत अन्त्य भएको छ । बजारमा पाइने महँगो चामलभन्दा कम्पनीले सस्तोमा चामल बिक्री भएपछि आफूहरु खुसी भएको हुम्ला अदानचुलाका प्रेम लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्