Logo

बारेकोटको मैनागाउँमा पुग्यो एक घर, एक धारा

वीरेन्द्रनगर- बारेकोट गाउँपालिकाको एक घर, एक धारा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले विभिन्न निकायसँगको सहकार्यमा पालिकाभरि नै खानेपानी पुर्‍याउने लक्ष्यअनुसार काम तीव्र रुपमा अगाडि बढेको अध्यक्ष वीरबहादुर गिरिले बताए । बारेकोट गाउँपालिका–४ मैना टोलका ११० घरधुरीलाई खानेपानीको सुविधा पुगेको अध्यक्ष गिरिले बताए । करिब ६८ लाख रुपैयाँमा उक्त खानेपानी निर्माण भएको उनले बताए ।

हेल्भेटास नेपालसँगको सहकार्यमा गाउँपालिकाले मैना गाउँमा सबै घरमा पिउने पानी पुर्‍याएको उनले बताए । अध्यक्ष गिरिले भने, ‘बारेकोट वडा नं ४ को मैना टोलका ११० सबै घरमा पिउने पानीको सुविधा पुगेको छ । एक घर एक धारा निर्माणको हाम्रो अभियान जारी छ । हाम्रो अभियानमा सहभागी सहयोगी तथा साझेदार संस्थामा हार्दिक आभार छ ।’ वडा नम्वर १,२,५ र ७ मा अघिल्लो आर्थिक वर्ष नै ४६५ घरमा पिउने पानी पुगिसकेको थियो । घरघरमा पानीको धारा पुगेपछि स्थानीयबासी खुसी भएको बताएका छन् ।

गाउँपालिकाले पालिकाभित्रका सबै घरमा सफा पिउने पानी पुर्‍याउने लक्ष्यका साथ काम तीव्र बनाएको बताए । घरमा पानीको धारा पुगेपछि स्थानीय लालमाया बस्नेतले भनिन्, ‘पिउने पानी ल्याउनका लागि डोकोमा गाग्री राखेर खोला पुग्नुपथ्र्यो । अहिले आंगनमै धारा पुगेपछि आफूहरु खुसी भएका छौँ । बच्चा, बच्चीहरुलाई पानी ल्याउन जाँदा बाटोमा लड्ने समस्यासमेत हुने गरेको थियो । अहिले घरको आँगनमै पानीको धारा पुगेपछि पानी बोक्ने दु:ख हटेको छ ।’

भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटमा अहिले गाउँपालिकाले विभिन्न निकायसँग साझेदारी गरेर काम गरिरहेको छ । गाउँपालिकाका अध्यक्ष गिरिले भने, ‘विकास साझेदार निकायलाई हामी बारेकोटमा स्वागत गर्दछौँ । हाम्रो पीडा, दु:खलाई शक्तिमा बदल्नका लागि हामीलाई सहयोग दिन अनुरोध गर्दछु । बारेकोट गाउँपालिकाबाट जुम्ला जोडने सडकको बीचमा रहेको मैना गाउँमा खानेपानी पुगेपछि स्थानीयबासी खुसीमात्र भएका छैनन्,’ शुद्ध पिउने पानी समेत पाएका छन् ।

गाउँको छेउँमै खानेपानी बगे पनि आर्थिक अभावका कारण गाउँलेले पानी घरघरमा धारा मार्फत ल्याउन सकेको अवस्था थिएन । गाउँपालिकाले गाउँका सबै घरमा धारा दिने निर्णय गरेपछि सजिलै गाउँमा पानी आएको वडाध्यक्ष विष्णु रावतले बताए । अधिकांश क्षति समुदाय रहेको मैनामा जाजरकोट–जुम्ला सडकले समेत छोएको छ । गाउँपालिकाले अन्य वडामा समेत पानी पुर्‍याउनका लागि काम गरिरहेको अध्यक्ष गिरिले बताए ।

प्रतिक्रिया दिनुहोस्