Logo

साढे तीन अर्बको सडक र ३९ करोडको पुल निर्माण अलपत्र

धनगढी- पूर्वाधार विकास कार्यालय अछामले अछाम र बाजुरा जिल्लामा दुईवटा प्रदेश गौरवसहित सात सडकमा झण्डै १९ वटा ठेक्का लगाएको छ । तीमध्ये १४ वटा ठेक्काको पटक पटक म्याद थप गर्दा पनि ठेक्का सम्पन्न हुन सकेको छैन । तीन अर्ब ५७ करोड १३ लाख रुपैयाँमा बाजुरा र अछाममा सडक निर्माणका १३ वटा ठेक्का लगाइएकोमा ती सडक निर्माण गर्ने जिम्मा पाएका कम्पनीले ढिलासुस्ती गरेका हुन् ।

सो सडक निर्माणका लागि हालसम्म एक अर्ब ८९ करोड १४ लाख रुपैयाँ खर्च भइसकेको छ भने यस वर्ष ५७ करोड ३० लाख रुपैयाँ विनियोजन भएको छ । अछामको जयगढ–मझठाना–रामारोशन सडकमा २०७५/७६ मा दुई वटा र ०७६/७७ मा एउटा ठेक्का लगाइएको थियो । पहिलो वर्ष भएको ठेक्कामध्ये जिरो प्वाइन्टदेखि १२.४४ किलोमिटरसम्मको खण्ड उपग्रेड गर्न बज्रगुरु कन्स्ट्रक्सनले ३० करोड २४ लाख रुपैयाँमा ठेक्का लिएको थियो ।

यो आठ वषको अवधिमा सो खण्डको प्रगति जम्मा ७८ प्रतिशत भएको छ । सोही वर्ष १२.४४ किलोमिटरदेखि १७.६९ किलोमिटरसम्मको खण्ड अपग्रेडिङ गर्न अनक जयदेवी जेभलाई १३ करोड ७९ लाख रुपैयाँमा ठेक्का दिइएको थियो । ८ वर्षमा यसको प्रगति जम्मा ५१ प्रतिशत भएको छ । अर्को वर्ष ०७६/७७ मा १७.६९ देखि ३८.८४ किलोमिटर खण्डमा ठेक्का लगाइएको सडकको प्रगति ४३ प्रतिशतमात्रै छ ।

५७ करोड ४२ लाख रुपैयाँमा सो खण्ड अपग्रेडिङ गर्ने ठेक्का लिएको पिएस बानिया जेभीले पनि तदारुकताका साथ काम गरेको छैन । अछामकै विनायक लयाटी पुलेतोला रामारोशन सडक अपग्रेडिङ गर्न २०७८/७९ मा लगाइएको ठेक्काको काम शनीदेवी निर्माण सेवाले ठेक्काको अवधि सकिनै लाग्दा ४४ प्रतिशतमात्रै काम गरेको पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ ।

कार्यालयका अनुसार १६ करोड ३७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएकोमा सात करोड चार लाखरुपैयाँ भुक्तानी भइसकेको छ । अछामको प्रदेश गौरवको चिसापानी–जंगलघाट–बडीमालिका सडकमा पनि तीन वटा ठेक्का लगाइएको छ । ०७६/७७ मा जंगलघाट–तुर्माखाँद–बाँसकाँडा खण्ड बानिया निर्माण सेवालाई नौ करोड ४७ लाखमा, ०७८/७९ मा गैरीटाँड–कालागाउँ–दर्ना खण्ड शनिदेव निर्माण सेवालाई १७ करोड १४ लाखमा र ०७९/८० मा गैरीटाँड–कमलबजार–बाँसकाँडा खण्ड पिके निर्माण सेवालाई ६९ करोड ४३ लाखमा ठेक्का दिइएको छ ।

कार्यालयका अनुसार सडक अपग्रेड गर्न लगाइएको पहिलो ठेक्काको ८०, दोस्रो ठेक्काको ५९ र तेस्रो ठेक्काको ६५ प्रतिशत काम भएको छ । अछामकै साँफेबगर–नन्देगडा–मेल्लेख–षोड्ष–ऋषिदह सडक ०७८/७९ मा नाति कन्स्ट्रक्सनलाई १३ करोड २८ लाख रुपैयाँमा ठेक्का लगाइएको दिइएको थियो । सो ठेक्कामा अपग्रेडिङको काम ७९ प्रतिशत भएको कार्यालयले जनाएको छ । यसैगरी बाजुराको मार्तडी–कोल्टी पिलुचौर ४० किलोमिटर सडकको कालोपत्रे गर्नका लागि ठेक्का लगाइएको आठ वर्षसम्म आधा काम पनि भएको छैन ।

०७५/७६ मा ९ देखि १४ किलोमिटरसम्मको सडक खण्ड बनाउन बानिया कुशेश्वर जेभीलाई १२ करोड ११ लाख रुपैयाँमा ठेक्का दिइएको थियो । बानियाले आठ वर्षमा ६० प्रतिशत काम गरेको छ । ०७६/७७ मा १४–४० किलोमिटरसम्मको सडक बनाउन पिएस बानिया भेजीलाई ५० करोड १६ लाख रुपैयाँमा ठेक्का दिइएको छ । दुवै खण्ड निर्माण गर्ने एउटै कम्पनी भएकाले सो खण्डमा पनि बानियाले काम गरिरहेको छ । बानियाले यस खण्डमा सात वर्ष लगाएर ५० प्रतिशत काम गरेको छ ।

बाजुराको प्रदेश गौरवको खप्तड मार्तडी सडकअन्तर्गत तीनवटा ठेक्का लगाइएको छ । सो सडकअन्तर्गत ०७५/७६ सेरा आटीचौर–थामलेक सडक बनाउन १२ करोड २१ लाखमा ठेक्का लिएको अनक जयदेवी जेभीले ७० प्रतिशत काम गरेको छ । सोही सडकको भौनेरा–आटीचौर र डोगडी–गैरीखाँद–काँडा खण्ड २०७८/७९ मा ठेक्का लगाइएको थियो । भौनेरा–आटीचौर खण्ड ३७ करोड ८२ लाख र डोगडी–गैरीखाँद–काँडा खण्ड १७ करोड ६४ लाखमा ठेक्का लिएको केएसएमकेबिसि–तेज जेभीले क्रमश: ३१ र ७० प्रतिशत काम गरेको कार्यालयले जनाएको छ ।

ती सडकमा ठेक्का लगाइएको ६ वटा पुलको योजनासमेत अधुरो छ । भौनेरा, मालागाड, बर्खाली, सिमधारा र अनाईखोलामा पक्की पुल निर्माण गर्न ०७९/८० मा ठेक्का लगाइएको छ । ती पुलको काम क्रमश: ४०, ४२, ३१, ३५ र ८० प्रतिशत भएको कार्यालयले जनाएको छ । त्यसैगरी, बाजुराको बार्जुगाडमा ०७२/७३ मा पक्कीपुल निर्माण गर्न ठेक्का लगाइएकोमा १० वर्षसम्म ९० प्रतिशतमात्रै काम भएको छ । कार्यालयका अनुसार ३८ करोड ८१ लाख ६४ हजार ८०१ रुपैयाँमा ६ वटा पुल निर्माण गर्न ठेक्का लगाइएको थियो ।

हालसम्म ती पुल निर्माण गर्न १३ करोड २६ लाख रुपैयाँ खर्च भएको छ भने १५ करोड ६४ लाख रुपैयाँ दायित्व सिर्जना भएको छ । पटक पटक म्याद थप गरिए पनि ती निर्माणको जिम्मा पाएका कम्पनीले ढिलासुस्ती गरेका कारण प्रगति नभएको पूर्वाधार विकास कार्यालयका प्रमुख जंगबहादुर थापाले बताए । निर्माण कम्पनीले धेरै काम लिएकाले विस्तारै काम गर्ने र थोरै रकम भुक्तानी लिने गरेको बताउँदै उनले काम गरे भुक्तानीका लागि बजेटको समस्या नरहेको जनाए । उनले दुर्गममा काम गर्नुपर्ने भएकाले निर्माण सामग्री ढुवानी, वर्षात्को समयमा सडक भत्किने लगायतको समस्याका कारणले पनि काम हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्