Logo

दुई दर्जन हिमाल चढ्न नौ सयलाई अनुमति, झण्डै ६६ करोड राजस्व

काठमाडौं– यो वर्षको वसन्तयाममा हिमाल आरोहणका लागि ९ सय आरोहीले अनुमति लिएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य दुई दर्जन बढी हिमाल आरोहणका लागि ६५ देशका ९ सय जनाले अनुमति लिएका हुन् । यसमा ७०३ पुरुष र १९७ जना महिला छन् ।

पर्यटन विभागका निर्देशक लिलाधर अवस्थीका अनुसार बुधबारसम्म सगरमाथा (८८४८.८६ मिटर) आरोहणका लागि ४० समूहले अनुमति लिएका छन् । यसमा ३ सय ८७ जना (३१३ पुरुष र ७४ महिला) छन् । सगरमाथा आरोहणको लागि ४३ देशका नागरिकले अनुमति लिएका छन् । आमादब्लम (६८१४ मिटर)का लागि ६ समूहबाट ७० जना र लोत्से (८५१६ मिटर) को लागि ४३ जनाले आरोहण अनुमति लिएका छन् ।

यसैगरी अन्नपूर्ण प्रथम (८०९१ मिटर)का लागि ६ समूहबाट ६६ जना, मकालु (८४६३ मिटर)का लागि ५४ जना आरोहीले अनुमति लिएको विभागले जनाएको छ । सगरमाथा आरोहणका लागि ५७ देशका ३ सय ६४ जनाले अनुमति लिएका छन् । सगरमाथाका लागि सबैभन्दा बढी अमेरिका, चीन, बेलायत र जापानका नागरिकले आरोहण अनुमति लिएका छन् । यसबाट सरकारलाई ५७ करोड ३० लाख रुपैयाँ राजस्व प्राप्त भएको छ । सगरमाथासहित अन्य हिमालबाट प्राप्त रोयल्टी ६५ करोड ९४ लाख रुपैयाँ पुगेको निर्देशक अवस्थीको भनाइ छ । उनले भने, ‘गएको वर्ष ६० करोड रुपैयाँ हाराहारी रोयल्टी संकलन भएको थियो । ४६ समूहका आरोही थिए । यो वर्ष शुरुवाती चरणमा नै उत्साहजनक सहभागिता देखिएको छ ।’

आगामी सिजनबाट सरकारले सगरमाथाको रोयल्टी शुल्क वृद्धि गरेका कारण पनि यो सिजनमा आरोहीको आकर्षण बढेको उनको भनाइ छ । धेरै आरोहीहरु ब्रिफिङ सकेर आधार शिविरतर्फ लागेका उनले जानकारी दिए । सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर बाटो बनाउन जाने शेर्पाहरुको समूह चौथो क्याम्पसम्म बिहीबार पुग्ने र बाटो निर्माण हुने जानकारी प्राप्त भएको निर्देशक अवस्थीले बताए । उनले भने, ‘त्यसपछि साउथ पोल र समिटमा अर्काे सातासम्म पुग्ने अनुमान छ । मौसम अनुकूल भएकाले डोरी टाँग्ने काम भइरहेको छ । मे दोश्रो साताबाट आरोहण सुरु हुने र मे २९ सम्म वसन्तयामको आरोहण पूरा हुने हाम्रो आँकलन छ ।’

सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्ने व्यवस्था छ । नेपालीको हकमा प्रतिव्यक्ति ७५ हजार नेपाली रुपैयाँ तिरे पुग्छ । सगरमाथा आरोहणका लागि बढीमा १५ जनाको सम्म समूह बनाउन पाउने व्यवस्था छ । सरकारले पर्वतारोहण नियमावली २०८१ जारी गरी सगरमाथा आरोहणको रोयल्टी बढाएको छ । अर्को सिजनदेखि विदेशी आरोहीले प्रतिव्यक्ति १५ हजार डलर तिर्नुपर्छ । अहिलेसम्म यो शुल्क ११ हजार डलर छ ।

नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित १३ सय १० वटा हिमाल पहिचान भएकोमा ८ हजार मिटरभन्दा माथिका ८ वटा छन् । हाल आरोहणको लागि खुला भएका हिमालको संख्या ४ सय ६१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्