भूकम्पपीडितको नाममा सामुदायिक जग्गा अतिक्रमण «

भूकम्पपीडितको नाममा सामुदायिक जग्गा अतिक्रमण

सिन्धुपाल्चोक-पुरानो थातथलो भन्दा सुगम ठाउँ पाएपछि विनाशकारी भूकम्पको आपतकालीन अवस्थामा सामुदायिक वनमा आश्रय लिएकाहरुले सोही स्थान छाड्न आलटाल गरिरहेका छन् । भूकम्पपीडितहरु विभिन्न ठाउँका सामुदायिक वनमा बस्न थालेपछि जिल्लाका विभिन्न स्थानमा वन अतिक्रमण बढेको हो ।
पहिला बस्दै आएको थातथलो भूकम्पपछि जोखिम भएको भन्दै स्थानीयहरु सामुदायिक वनमा अस्थायी टहरा बनाएर बस्दै आएका थिए ।
भूकम्पको कम्पनले जमिन चिरा परेपछि पहिरोको डर बढेसँगै स्थानीयले सामुदायिक वनको जग्गामा आश्रय लिएका थिए । जिल्लाको जुगल गाउँपालिका–१ सेलाङ, लिसंखुपाखर गाउँपालिका–५ भगेली छाप, वडा नं. ४ को पात्ले, मेलम्ची नगरपालिका–६ ढुंगाना गाउँ, इन्द्रावती गाउँपालिका–४ भेडीगोठमा भूकम्पपीडित भन्दै वन अतिक्रमण गरेर स्थानीय बसेका हुन् । जिल्लामा भूकम्पपीडितको नाममा ५ वटा वन अतिक्रमण भएको तथ्यांक डिभिजन वन कार्यालयसँग छ ।
लिसंखुपाखर गाँउपालिका ५ स्थित जेठल बीस किलोमा भूकम्पपछि स्थानीय गाउँ केदीका ६२ घर परिवार ओखरेनी सामुदायिक वनमा बस्दै आएका छन् । जस्ताको टहरा बनाइ सार्वजनिक वनमा आश्रय लिइरहेकाहरुले सरकारी अनुदानमा नयाँ घर बनाइसकेका छन् ।
तर, पनि जमिन असुरक्षित र जोखिम हुन सक्ने भन्दै पीडितहरु आफूहरु आश्रित ठाउँ छाडेर आफ्नो थातथालोमा फर्किन आनाकानी गरिरहेका छन् ।
जमिन धाँजा फाटेको स्थानमै सरकारी अनुदानमा घर बनाउन बाध्य भएकाले आफूहरु पुरानो ठाउँमा गएर बस्न नसक्ने लिसंखुपाखर गाउँपालिका ५ जेठल नितु तामाङ बताउँछिन् । “अन्यत्र जग्गा थिएन, अनुदान लिएर पुरानै स्थानमा घर वनाएका छौं,” उनी भन्छिन्, “फेरि भूकम्प आएमा जमिन फाट्छ, घर असुरक्षित स्थानमा छ ।” अन्नपात नयाँ घरमा राख्ने गरेर यहाँका स्थानीय सार्वजनिक वनमा बनाइएको जस्ताको टहरामा सुत्ने गर्छन् ।
भूकम्पपछि साविक पाँच गाविसका पीडितहरु आएर बसेको जुगल गाउँपालिका १ सेलाङस्थित बाँसखर्कको अवस्था पनि उस्तै छ । यहाँ आएर बसेका भूकम्पपीडितहरुले पूरानै गाउँमा सरकारी अनुदानमा आवास निर्माण गरिसकेका छन् । तर, उनीहरु यहींको सामुदायिक वनलाई सुरक्षित मानेर बसिरहेका छन् । सुरुमा आश्रय लिन आएकामध्ये अधिकांश भने पुरानै गाउँ फर्किसकेका छन् ।
अहिले बाँसखर्कमा सेपगाउँ, गोल्चेको लिदी र खानीगाँउका ३८ परिवार बस्दै आएका छन् । यो जमिन मञ्जु सामुदायिक वनमा पर्छ । उनीहरुलाई घर फर्कन गाउँपालिका र वन डिभिजन कार्यालयले पटक पटक अनुरोध गरेपनि पहिरोको जोखिममा छ भन्दै आलटाल गरि बसिरहेका छन् ।
“हामीले यहाँ अन्नबालीलगायत फलफूल र तरकारी लगाएका छौं, त्यसैले केही समयका लागि भनेर बसेका हौं,” जुगल गाउँपालिका १ सेलाङमा बसोबास गरिरहेका तुलाविक्रम सिलवाल भन्छन्, “हामीले दुःख गरेर लगाएको तरकारी उत्पादन भएपछि ठाउँ छाडिदिन्छौं ।”
बाँसखर्कमा आश्रय लिइरहेकाहरुले आलु, मुलालगायत तरकारी खेती गरेका छन् । यहाँ आश्रय लिन आएपछि जंगल फाँडेर उनीहरुले आलु खेती गर्ने गरेका थिए । आलु भदौमा खनिसकेपछि आफूहरु पुरानै थातथलो फर्कने उनको भनाइ छ ।
भूकम्पको समय सामुदायिक वनमा अश्रित एक सय ७३ परिवारमध्ये २० परिवार फर्किसकेका छन् । बाँकी एक सय ५३ परिवार जिल्लाका विभिन्न स्थानमा रहेका सामुदायिक वनमा बसिरहेको डिभिजन वन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
कार्यालयका सहायक वन अधिकृत तुलाराम घिमिरेकाअनुसार भगेली सामुदायिक वन, भञ्ज्याङ सामुदायिक वन, मञ्जु देउराली सामुदायिक वन, ढुंङगानागाँउ सामुदायिक वन र बुहद सामुदायिक वनमा भूकम्पपीडितहरु अझैसम्म आश्रित रहेका छन् ।
अहिले आश्रय लिएर बसिरहेकाहरु पुरानो गाउँ भन्दा सुगम भएकाले फर्कन नमानेका हुनसक्ने अनुमान गरिएको छ ।
“मुख्य बजार केन्द्रबाट नजिक रहेको, सडक पुगेको, फराकिलो र पारिलो रहेका कारण उनीहरु गाउँ फर्कन नचाहेका हुन्,” प्रमुख जिल्ला अधिकारी एवं जिल्ला वन अधिक्रमण नियन्त्रण तथा व्यवस्थापन कार्यदलका संयोजक गोमादेवी चेम्जोङले भनिन्, “कार्यदलले सामुदायिक वन छाड्नका लागि सहमतिका लागि प्रयास गरिरहेको छ ।” भूकम्पपछिको आपतकालीन अवस्थामा उनीहरु वन कार्यालयको अनुमतिमा आश्रय लिन सामुदायिक वनमा आइपुगेका थिए ।

किशोर बुढाथोकी

प्रतिक्रिया दिनुहोस्