विश्वको साहसिक पदमार्ग: शेर्पेनी कोल

हाम्रो देश नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य एवम् पर्यटकीय गतिविधिहरू गर्न सकिने देशका रूपमा रहेको छ । तथापि, हामीले त्यहीअनुसार हाम्रो देश नेपालमा रहेका त्यस्ता एकसे एक पर्यटकीय गन्तव्य एवम् पर्यटकीय गतिविधिहरूका सम्बन्धमा चाहिँ खासै सूचना प्रवाह (प्रचारप्रसार) गर्न सकेका छैनौँ । हुन पनि हो, हाम्रो देश नेपालमा के मात्रै छैन र ? तापनि यो लेखमा चाहिँ ती सबै विषयमा जानकारी दिने, लेख्नेभन्दा पनि सम्भवतः विश्वकै एक साहसिक पदमार्गका रूपमा रहेको ‘शेर्पेनी कोल’का सम्बन्धमा लेख्दै छु ।
हुन त हाम्रो देश नेपालमा अरू पनि धेरै त्यस्ता पदयात्रा मार्ग रहेका छन् । जुन उच्च हिमाली क्षेत्रमा रहेका अग्ला डाँडा (पास) हरू पार गर्दै उच्च हिमाली क्षेत्रको ट्रेकिङ गर्नुको छुट्टै मजा लिन सकिन्छ । नेपालमा रहेका त्यस्ता केही महत्वपूर्ण पदयात्रा मार्गमा पूर्वको कञ्चनजंघा क्षेत्रमा रहेको सेलेले पास हुँदै आम्फू लाप्चा पास, टासी लाप्चा पास, तिलम्यान कोल पास, लार्के पास, थोरोङ पास, साङ्दा पास, नुमला बगाला पास, से पास आदि रहेका छन्, जुन पदयात्रा मार्गहरूमा पदयात्रा गर्दाखेरि अत्यधिक उचाइको बाटो हिँडेर डाँडो काटेर यात्रा गर्नुपर्ने हुन्छ । हुन पनि नेपालमा रहेका त्यस्ता विभिन्न उच्च हिमाली क्षेत्र पार गर्दै गरिने पदयात्रा मार्गहरू अन्य देशमा त विरलै मात्रै रहेका छन् भनी दाबाका साथ सकिन्छ ।
हो, त्यस्तै विश्वकै उच्च हिमाली क्षेत्र हुँदै पदयात्रा गरिने पदमार्गहरूमध्ये एक हो, शेर्पेनी कोल । यो पदमार्ग नेपालको मात्रै नभएर सम्भवतः संसारकै सबैभन्दा उच्च हिमाली क्षेत्र भएर पदयात्रा गरिने मार्ग हो । त्यसैले आउनु होस्, शेर्पेनी कोल पदयात्रा मार्गका बारेमा केही जानौँ, बुझौँ र पढौँ । त्यसो त शेर्पेनी कोल पदयात्रा मार्ग संसारको उच्च पदयात्रा मार्ग हो भन्ने सम्बन्धमा हालसम्म सर्वेक्षण गरे÷नगरेको बारेमा चाहिँ यो पंक्तिकारलाई केही थाहा छैन । त्यसो भए तापनि अहिलेसम्म यो पदयात्रा मार्गलाई नै संसारकै अग्लो पदयात्रा मार्ग हो भन्न सकिन्छ । किनभने यो पदयात्रा मार्गमा पदयात्रीले ६ हजार १ सय २५ मिटर उचाइ भएर पदयात्रा गर्नुपर्ने हुन्छ । यो पदयात्रा मार्गमा पदयात्रा गर्नअगाडि विदेशी पर्यटकहरू काठमाडौं, इटहरी, धरान, धनकुटा हुँदै हिलेसम्म गाडीमा जान्थे भने हिलेबाट चाहिँ पैदल यात्रा सुरु गर्थे । तर, पछि संखुवासभा जिल्लाको तुम्लिङटारमा विमानस्थल बनेपछि चाहिँ विदेशी पर्यटकहरू हवाईजहाजमार्पmत तुम्लिङटारसम्म जाने गर्थे र तुम्लिङटारबाट बल्ल उनीहरूको पैदल यात्रा सुरु हुन्थ्यो ।
आजभोलि चाहिँ हिउँदयाममा संखुवासभा जिल्लाको चिचिला, नुमसम्म नै ससाना गाडी चल्ने गरेको छ । त्यसैले अहिले विदेशी तथा स्वदेशी पदयात्रीहरू हिउँद याममा चिचिला, नुमसम्म नै गाडीमा जाने गर्छन् र त्यहाँबाट बल्ल पैदल यात्रा थाल्छन् । त्यसरी पैदल यात्रा गर्ने क्रममा टासी गाउँ, याङले खर्क, खोङमा–ला, मकालु बेस क्याम्प, बरुत्से बेस क्याम्प हुँदै शेर्पेनी–कोल पास गरेर सोलुखुम्बु जिल्लाको मेरा–ला, खारे, ठाङ्ना, क्षेत्र–ला हुँदै लुक्ला पुगेर पदयात्रा सक्ने गर्छन् । केही पदयात्रीले चाहिँ मेरा–ला वा बरुत्चेबाट आम्फु लाप्चा हुँदै छुकुङ निक्लेर दिङबोचे, फेरिचे, पाङबोचे, तेङबोचे, नाम्चे, जो सल्ले, फाक्दिङ, चौँरी खर्क हुँदै लुक्लामा आएर आफ्नो साहसिक पदयात्रा समाप्त गर्छन् ।
यो पदयात्रा मार्गमा पनि विभिन्न उपमार्ग छन् तापनि मानेभन्ज्याङ, चिचिला, नुम, सेदुवा, टासिगाउँ, याङ्लेखर्क, खोङ्मा डाँडा, नुम्बुक, हिलारीबेस क्याम्प हुँदै शेर्पेनी कोलमा क्याम्प गर्नुपर्छ भने यहाँ सीधा भिरालो (पर्वतारोहण–पदयात्राको भाषामा ‘स्टिभ–डाउन’) छ । यहाँको बाटो पूरा हिउँ नै हिउँले ढाकिएको हुन्छ, जहाँ नीलो जमेको ‘ब्लु आइस’को ढिक्काको बाटो क्रस गर्दै हिँडेर पास गर्नुपर्छ भने भोलिपल्ट चाहिँ ६ हजार २ सय मिटरको हाराहारीको उचाइमा बरुणत्चे हिमालको क्याम्प–१ मा बास बस्नुपर्छ ।
यो पदयात्रा मार्गमा टासी गाउँसम्म मान्छेको बसोबास रहेको छ । त्यसपछिको प्रायः सबै क्याम्प खर्क र खाली चउरमा गर्नुपर्छ भने हिलारी बेसक्याम्पदेखि हिउँमाथि हिँड्न सुरु गर्नुपर्छ । हिलारी बेसक्याम्प ४ हजार २ सय मिटर उचाइमा छ भने एक दिन नाक ठोक्किने गरी उकालो हिँड्नुपर्छ । जब शेर्पेनी कोल र बरुणत्चे–१ बीचको ६ हजार २ सय मिटरको सेरोफेरोमा पदयात्रीहरू यात्रा गरिरहेका हुन्छन्, त्यतिबेला उनीहरूले खुबै सास्ती खेपिरहेका हुन्छन् । किनभने, उच्च हिमाली भेगमा अक्सिजन कम हुन्छ, त्यसमाथि हिउँमाथि यात्रा गरिरहेका हुन्छन् । थाकेको बेला बिसाउन र आराम गर्न पदयात्रीहरूका लागि सजिलोसँग बस्ने ठाउँ हुँदैन । त्यसैले हिँड्दा हिँड्दै थकाइ लागेमा हिउँमाथि नै थचारिएर सास फेर्छन् बिचराहरू ! त्यो बेला उनीहरूको हालत हेरिनसक्नुकै हुन्छ । प्रायः सबैको हालत त्यस्तै हुन्छ तापनि भरियाको अवस्था बढी नै दयनीय हुन्छ ।
कतिपय पदयात्री तथा भरिया उच्च हिमाली भेगमा अत्यधिक चिसोका कारण लाग्ने अस्थायी रोग (फोक्सो र दिमागमा पानी जम्ने ‘हेप’ र ‘हेस’) का कारणले सिकिस्तै हुन्छन् भने केहीको हिँड्दाहिँड्दै ज्यानै जान सक्छ । कोहीकोहीले त असावधानीका कारण डोरीबाट चिप्लिएर पनि सिलटिम्बुर खान्छन् । स्मरणीय छ, शेर्पेनी कोल पास गरेर बरुणत्चे बेसक्याम्प आउने दिन लगभग ५ सय मिटरजति त डोरी मात्रै टाँग्नुपर्छ । मान्छे, खाना, पाल, पर्यटकको सरसामान भएको बेडिङ प्रायः सबै सरसामान डोरीबाटै पास गर्नुपर्छ । कतिपय भरियाले भारी बोक्न नसकेर खानाको भारी बाटो (हिउँ) मै छाडेर हिँड्छन् । हुन पनि ज्यानभन्दा ठूला त होइनन्, ती खानेकुरा र सरसामानहरू ! त्यसरी छाडेको खानाहरू बीचका हिमबाटोहरूमा प्रशस्तै देखिन्छ । कतैकतै त हिउँले कठ्याङ्ग्रिएर र लेक लागेर मरेका मान्छेहरूको लास पनि भेटिन्छ । ती लास प्रायः नेपाली भरियाहरूको हुन्छ ।
त्यस्तो अप्ठ्यारो र कठिन बाटो भए तापनि ६ पटकसम्म विगतका दिनमा ओहोरदोहोर गरेका संखुवासभा जिल्ला, पाङ्माका युद्ध लोहोरुङ (हाल अस्ट्रेलिया) आफ्नो अनुभव पूर्वेली लबजमा यसरी सुनाउँछन्, ‘अरे हौ सोल्टी, शेर्पेनी कोल त नेपालको सबैभन्दा अप्ठ्यारो र खतरापूर्ण पास हो नि ! तगडा शेर्पा (पदीय हिसाबले गाइड गर्ने मान्छे) भएन भने त खत्तमै हुन्छ नि ! डोरी कसले टाँग्ने ? भरियालाई कसले सहयोग गर्ने ? गु्रपलाई कसले डोर्याउने ? त्यसमाथि तिर्खा लाग्दा पानी पिउनसमेत पाइँदैन । दिउँसोको चर्को घाममा हिउँ टल्किएर आँखाले केही देखिँदैन । भारी बोक्ने मान्छेलाई पार लगाउँदाको हैरान होइन्छ नि हौ । फेरि तल बस्नेले गलत संकेत दियो भने दुर्घटना हुने सम्भावना बढी नै हुन्छ ।’
त्यसैले त यो मार्गमा हत्तपत्त कुनै पनि विदेशी पदयात्रीले पदयात्रा (ट्रेकिङ) गर्दैनन् । जसले यो मार्गमा पदयात्रा गर्छन्, ती जुनसुकै देशका होऊन्, आपूmलाई साह्रै गौरवान्वित र भाग्यमानी भएको ठान्छन् । किनभने, यो पदयात्रा मार्गमा पदयात्रा गर्ने विदेशी पर्यटकले विश्वकै उच्च हिमाली भेगको पास एवम् खतरापूर्ण र साहसिक पदयात्रा गर्न सफल हुन्छन् । हुन पनि यो मार्गमा पदयात्रा गर्न वास्तवमै विश्वका साहसिक पदयात्रीहरूले मात्रै आँट गर्न सक्छन् । किनभने, तीन–चार दिनसम्म हिउँ नै हिउँमा हिँड्नुपर्छ । त्यसमाथि शेर्र्पेनी कोल पास गर्नका लागि हिमाल चढ्ने सामान्य प्राविधिक ज्ञानको पनि जरुरी हुन्छ । कतिपय पदयात्री एक्युपमेन्ट तयार गरेर शरीरमा फिट गरी पठाउँदा समेत बीचमा पुगेपछि आत्तिन थाल्छन् ।
त्यसैले निडर र साहसी हुनुपर्छ, शेर्पेनी कोल पास गर्ने पदयात्रीहरू । त्यसो त विगतका दिनमा सूचना र सञ्चारको अभाव तथा मानव बस्तीविहीनताका कारण बीच बाटोमा केही गरी विदेशी पर्यटक अथवा नेपाली स्टाफहरू बिरामी भइहालेमा उद्धारका लागि हेलिकप्टर मगाउन पनि हत्तपत्त सम्भव हुँदैनथ्यो । बिरामीलाई बचाउन सके वा बिरामी बाँचेमा मान्छेले सकी–नसकी बोकेरै उद्धार गरिन्थ्यो । केही गरी विदेशी पर्यटक मरेमा लास बोकेरै सुगम ठाउँमा ल्याइन्थ्यो । त्यसपछि हेलिकप्टरले लासको रेस्क्यु गथ्र्यो । सुन्दा नमीठो लागे तापनि केही गरी नेपालीहरू मरिहालेमा लास त्यतै छाडिन्थ्यो ।
किनभने, त्यो बेला नेपालीहरूको दुर्घटना बीमा नै हुँदैनथ्यो । अर्को भनेको त्यस्तो अनकन्टार हिउँ नै हिउँको बाटोमा कोही बिरामी भइहालेमा बिरामीका तीन–चार जना स्टाफ साथ लगाएर पठाउनुपर्ने हुन्थ्यो । किनभने, त्यस्तो उचाइ र अनकन्टार ठाउँबाट बिरामी एक्लै जिउँदै फर्केला भन्ने आशा गर्न सकिँदैन थियो, सम्भावना पनि हुँदैनथ्यो । फेरि बाटोमा खाने खाना, बास बस्ने पाल र साथीबिना बिरामीलाई एक्लै पठाउने कुरो पनि भएन । कदाचित बिरामीलाई एक्लै फर्काएमा बाटोमा मर्ने-बाँच्ने केही ठेगान हुँदैनथ्यो । हत्तपत्त बाटोमा खानेकुरो पनि पाइँदैनथ्यो ।