संसदीय दलको नेताका लागि देउवा र सिंहको उम्मेदवारी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै पार्टी संसदीय दलको नेता बन्ने निश्चित देखिएको छ । प्रतिनिधिसभातर्फ कांग्रेस संसदीय दलको अंकगणित हेर्दा देउवा दलको नेता बन्ने निश्चित देखिएको छ । दलको नेतामा कांग्रेसका अर्का नेता प्रकाशमान सिंहले पनि उम्मेदवारी भने दर्ता गराएका छन् ।
सभापति देउवाको प्रस्तावकमा सांसद विजयकुमार गच्छदार र मानबहादुर विश्वकर्मा समर्थक रहेका छन् । उता, सिंहको भने प्रस्तावकमा कोषाध्यक्ष सीतादेवी यादव र समर्थकमा सांसद सञ्जयकुमार गौतम रहेका छन् ।
पूर्व महामन्त्रीसमेत रहेका सिंहले उम्मेदवारी दर्ता गर्दै कम्युनिष्टहरुको बाहुल्यता रहेको संसदमा प्रमुख विपक्षीको सशक्त भूमिका निर्वाह गर्न आफूले दलको नेता बन्न चाहेको बताए । सिंहले भने, “पार्टीमा नेतृत्व परिर्वतनको माग सबैतिरबाट उठेको छ । त्यही माग आएकाले पार्टीलाई विधिसम्मत चलाउनका लागि पनि उम्मेदवारी दिएको हुँ ।” जनताको माग सशक्त रूपमा संसद्मा उठाउनुपर्ने भएकाले पनि आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
दलको नेता छान्न कांग्रेस संसदीय दलको आज चुनाव हुनेछ । प्रतिनिधिसभामा कांग्रसका ६३ जना सांसद छन् । जसमा ६ जना सांसद प्रत्यक्ष र ४० जना समानुपातिक सांसद सभापति देउवा निकट मानिन्छन् । पार्टीभित्र रामचन्द्र पौडेल नेतृत्वको समूहसँग १४ जना सांसद निकट रहेको मानिन्छ भने ४ जना सांसद कृष्ण सिटौला गुटका छन् । जसमध्ये १ जना भीमसेनदास प्रधानसमेत देउवाको पक्षमा खुलिसकेका छन् । कांग्रेसभित्रको सांसदहरुको अंकगणित हेर्दा देउवा अत्यधिक मतका साथ जित्ने निश्चित भइसकेको देउवा निकट एक केन्द्रीय सदस्यले दाबी गरे । “प्रतिनिधिसभाको संसदीय दलमा शेरबहादुरजीको बहुमत छ, त्यसैले उहाँ नै निर्वाचित हुनुहुन्छ,” कांग्रेस नेता बिमलेन्द्र निधिले भने ।