ओझेलमा खुंग्रीको ‘त्रिपुरासुन्दरी र शिव मन्दिर’

रोल्पा– पर्यटनको प्रचुर सम्भावना भएर पनि रोल्पाको त्रिपुरासुन्दरी देवी मन्दिर ओझेलमा परेको छ । सुनिलस्मृति गाउँपालिका–२ खुंग्रीमा अवस्थित सो मन्दिरमा केही मात्रामा आन्तरिक पर्यटकको चहलपहल भएको पाइए पनि बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा देखिँदैन । खुंग्रीको फाँटमा त्रिपुरासुन्दरी देवीको मन्दिर अवस्थित छ । नेपालको ४९औं शक्तिपीठको रूपमा त्रिपुरासुन्दरी देवी मन्दिरलाई लिने गरिन्छ ।
परापूर्वकालमा दुई गंगाको संगमस्थल भएकाले योगीहरू आई यस ठाउँमा बसेर स्नान गरी परमात्मामा अविछिन्न रूपले साक्षात्कार गरी आफ्नो स्वरुपमा निमग्न रहनका लागि यो ठाउँ अतिउत्तम भएकाले धेरै योगी अर्थात् सन्यासी यस ठाउँमा आउने, बस्ने, सिद्धि प्राप्त गर्ने आफ्नो स्वरुपमा अडेर साक्षात्कार गर्ने भएका कारणबाट सिद्धबाबाको प्रवलता भएको देखिन्छ भन्ने जनश्रुति पनि छ । पछि गएर कुनै बाबा, योगीहरू लामो समय यतै बस्ने विचार गरेर गृहस्थाश्रमको थालनी गरी बस्न थालेको भन्ने गरिन्छ ।
त्रिपुरासुन्दरी देवीको मन्दिरमा दसैंमा ठूलो मेला लाग्ने गर्दछ । दसैंको समयमा हिन्दु धर्मावलम्बीले यस मन्दिरमा रागाको वली दिने परम्परा रहिआएको छ । भालुवाङ–रोल्पा सडकखण्ड अन्तर्गत रोल्पा र प्यूठानको संगमस्थलमा त्रिपुरासुन्दरी देवीको मन्दिर अवस्थित छ । त्रिपुरासुन्दरी देवी मन्दिरको नजिकै चतुर्भूजमा शिव पञ्चायनको मन्दिर पनि छ । करिब एक किलोमिटरको दूरीमा रहेको यो मन्दिर पनि धार्मिक पर्यटनका दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ ।
त्रिपुरासुन्दरी देवी मन्दिरको दर्शन गर्न आएका अधिकांश पर्यटक शिव पञ्चायन मन्दिरमा पनि दर्शन गर्दछन् । चतुर्भूजको महिमा उल्लेखनीय र महत्त्वपूर्ण पनि मानिन्छ । सुवर्णावती गंगा र माण्डवी गंगाको संगमस्थलमा रहेको चतुर्भूज परापूर्वकालमा ब्रह्माजीको व्रतबन्ध भएको हो भन्ने जनश्रुति पाइन्छ । सदियौं वर्ष अगाडि चतुर्भूजमा उन्मत्तेश्वर महादेवको मन्दिर रहेको र धर्मशाला पनि भएको अग्रजहरूको भनाइ छ ।
चतुर्भूजमा पहिलेदेखि नै मकरसंक्रान्ति, वसन्त पञ्चमी र शिवरात्रीमा ठूलो मेला लाग्ने गर्दछ । अहिले पनि यहाँ वसन्त पञ्चमी, शिवरात्री लगायतको अवसरमा ठूलो मेला लाग्ने गर्दछ । चतुर्भूजमा रहेको लुंग्री र माडीको संगमस्थलमा माघे संक्रान्तिमा नुहाउन जाने र शिवरात्रीका दिन शिव पञ्चायन मन्दिरमा दर्शन गर्न जानेको घुइँचो लाग्ने गर्दछ । प्यूठानको स्वर्गद्वारी मन्दिरसँग पनि यो मन्दिर जोडिने गर्दछ । स्वर्गद्वारी आश्रमका प्रभुमहाराजजीले यस संगमस्थल चतुर्भूजमा गुप्त रुपले गुफामा निस्किएर पानी चढाउनेगरेको जनश्रुति पाइन्छ ।
यसरी स्वर्गद्वारी र चतुर्भूजको सम्बन्ध गाँसिएको छ । गंगा स्नानका साथै शिव मन्दिरमा दर्शन गर्नाले पुण्य प्राप्त हुने भनाइ छ । रोल्पा र प्युठानको संगमस्थलमा अवस्थित यस क्षेत्रमा पर्यटक तान्नका लागि कदम चाल्न आवश्यक रहेको सुनिलस्मृति गाउँपालिका–२ खुंग्रीका स्थानीय तथा साहित्यकार अमर अधिकारीको भनाइ छ ।
‘स्वर्गद्वारी र चतुर्भूजको सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि स्वर्गद्वारी आउने तीर्थयात्रीलाई चतुर्भूजमा पनि स्वागत गर्न सक्नुपर्छ,’ उनले भने, ‘यसले गर्दा पर्यटन व्यवसायमा थप टेवा पुग्ने थियो ।’ देश विकासको महत्त्वपूर्ण आधार पर्यटन विकास पनि रहेको उनको भनाइ छ । खुंग्रीमा अवस्थित यी दुई मन्दिर धार्मिक तथा ऐतिहासिक हिसाबले महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।
मन्दिरमा रोल्पा, प्यूठान, दाङ बुटवललगायतका छिमेकी जिल्लाबाट केही मात्रामा पर्यटकको चहलपहल रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भारतीले बताए । मन्दिरमा थप पर्यटकको संख्या वृद्धि गर्न सबै निकायको साथ सहयोगको आवश्यक रहेका उनको भनाइ छ ।
सुनिलस्मृति गाउँपालिका–२ का वडाध्यक्ष नेत्रबहादुर गिरिले खुंग्रीको त्रिपुरासुन्दरी देवी मन्दिर र चतुर्भुजको शिव पञ्चायन मन्दिरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नका लागि प्रचारप्रसारको अभावका साथै राज्यको नजर नपुगेको बताए । ‘वडाको बजेटले पर्यटकीय क्षेत्रको विकास गर्न सम्भव छैन्,’ उनले भने, ‘यहाँको पर्यटकीय क्षेत्रको विकासका लागि संघ र प्रदेश सरकारको खासै प्राथमिकतामा पर्न सकेको छैन ।’
चतुर्भूजको मन्दिरमा पर्यटक तान्न पार्क निर्माणको काम सुरू गरिए पनि बजेट अभावमा सो काम सम्पन्न हुन नसकेको उनले बताए । ‘पर्यटकीय गन्तव्य बनाउन थप केही संरचना बनाउने काम भए पनि पर्याप्त हुन सकेको छैन्,’ उनले भने, ‘भक्तजनबाट आएको सहयोगबाट केही काम भएको छ ।’ मन्दिरलार्ई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न संघ र प्रदेश सरकारमा बजेट माग गरिए पनि बजेट आउन नसकेको उनले बताए ।
स्वर्गद्वारी घुम्न आएका पर्यटकलाई यहाँ ल्याउन सकिने सम्भावना रहेको वडाध्यक्ष गिरिको भनाइ छ । यहाँ आएका पर्यटकलाई अझ तत्कालीन बाइसे र चौबिसे राज्यअन्तर्गतको खुंग्रीकोट राजदरबारसम्म पुर्याउन सकिने सम्भावना रहेको उनले बताए । धार्मिक तथा ऐतिहासिक हिसाबले महत्त्वपूर्ण रहेका यस्ता मन्दिरको संरक्षण र प्रवर्द्धनमा सरकारले चासो दिन आवश्यक छ ।
जिल्ला प्रवेशको मुख्य नाकामा यो मन्दिर पर्ने भएकाले पनि जिल्ला प्रवेश गर्ने पर्यटकलाई यी मन्दिर दर्शन गराउँदै जिल्लाभित्रका अन्य पर्यटकीय गन्तव्यको यात्रा गर्ने वातावरण तयार गर्न आवश्यक छ । जिल्ला भित्रिने पर्यटकलाई त्रिपुरासुन्दरी देवी मन्दिर र चतर्भूजको शिव पञ्चायन मन्दिर घुमाउन सरकारले ठोस योजना बनाउन आवश्यक छ । यसो गरे जिल्लाका अन्य पर्यटकीय गन्तव्यमा आएका पर्यटक यी मन्दिरमा पनि अवलोकन गर्नेछन् र यहाँका स्थानीयले यसबाट लाभ लिन सक्नेछन् ।