Logo

वैकल्पिक सडक निर्माणमा ढिलासुस्ती

दाङ- सिमेन्ट उद्योगका लागि चुनढुंगा बोक्ने टिप्पर सञ्चालनका लागि निर्माणाधीन वैकल्पिक मार्गको काम करिब ७५ प्रतिशत सकिएको छ । वैकल्पिक मार्ग निर्माण सुरु भएको पाँच वर्षको अवधिमा करिब ७५ प्रतिशत ट्रयाक खन्ने काम सकिएको हो ।

घोराही उपमहानगरपालिका-४ गोग्लीमा रहेको घोराही सिमेन्ट उद्योगलगायतका उद्योगका लागि सञ्चालन हुने टिप्पर सञ्चालनका लागि वैकल्पिक मार्ग निर्माण गर्न थालिएको हो । २०७६ सालदेखि बंगलाचुली गाउँपालिका–४ जुम्लेपानी–जौलेबाध–ओखलढुंगा–ऊर्जा–बाछी–सुकाखोला मार्गको ट्रयाक खोल्ने काम सुरु भएको थियो ।

सिमेन्ट उद्योगका लागि चुनढुंगा बोक्ने टिप्परका कारण घोराही–कमिरेचौर–मुर्कुटी सडक खण्ड जीर्ण भएपछि लुम्बिनी प्रदेश सरकारको लगानीमा बैकल्पिक मार्ग निर्माणको काम सुरु भएको थियो । वैकल्पिक मार्गअन्तर्गत पाँच किलोमिटर सडकमध्ये हालसम्म करिब चार किलोमिटर सडकको ट्रयाक खन्ने काम भएको सडक पूर्वाधार विकास कार्यालय दाङका सूचना अधिकारी एवं इन्जिनियर लीलाधर गिरिले जानकारी दिए ।

वैकल्पिक सडकअन्तर्गत जुम्लेपानी–जौलेबाध–ओखलढुंगा सम्मको सडकको ट्रयाक खन्ने काम सकिएको छ भने उर्जा–बाछी–सुकाखोला खण्डमा ट्रयाक खोल्ने काम बाँकी छ । बाँकी रहेको खण्डमा पनि ट्रयाक खन्ने काम सकिएपछि टिप्पर सञ्चालन गर्न सकिने छ । ट्रयाक खोल्नका लागि बजेट अभावसँगै पहाडी क्षेत्रमा ठूला–ठूला चटान भएका र चटान फोड्न समय लाग्दा सडक निर्माणमा ढिलाइ भएको सूचना अधिकारी गिरिले बताए ।

सडकको ट्रयाक निर्माणसँगै जोखिमपूर्ण ठाउँमा वाल लगाउनु पर्ने, कल्भर्टसँगै नाला निर्माणको काम गर्नुपर्ने भए पनि बजेट अभावका कारण यो वर्ष काम हुन नसकेको बताए । गत वर्ष काम गरेको पैसा यो वर्ष भुक्तानी दिइएको र यो वर्ष काम हुन नसकेको बताए । गतवर्ष ट्रयाक निर्माणसँगै चट्टान फोड्ने काम उपभोक्ता समितिमार्फत गरिएको थियो ।

वैकल्पिक मार्गको ट्रयाक खोल्ने काम पाँच वर्षअघि सुरु भए पनि बजेट अभावका कारण नियमित काम हुनसकेको छैन । सूचना अधिकारी गिरिले भने, ‘नियमित रुपमा काम भएको भए अहिलेसम्म करिब काम सकिन्थ्यो । बजेटको समस्याले गर्दा नियमित काम हुन सकेको छैन ।’

वैकल्पिक मार्गको ट्रयाक खन्नका लागि हालसम्म करिब दुई करोड ५० लाख बढी रुपैयाँ खर्च भइसकेको र पूर्ण रुपमा सडक सञ्चालन गर्न थप सात करोड बढी रुपैयाँ लाग्ने सूचना अधिकारी गिरि बताउँछन् । सडकको ट्रयाक खन्ने काम लगभग ७०/७५ प्रतिशत भए पनि खोलामा कल्भर्ट, जोखिमपूर्ण ठाउँमा जाली, वाल लगाउनेदेखि नाला निर्माणलगायत काम गर्नुपर्ने भएकाले सात करोड बढी बजेट लाग्ने अनुमान छ ।

वैकल्पिक सडक निर्माण भएमा सिमेन्ट उद्योगका लागि चुनढुंगा बोक्ने टिप्परसँगै बंगलाचुली गाउँपालिका-३, ४, ६, र ८ नम्वर वडाबासीलाई सेवा लिनका लागि करिमरेचौरमा रहेको गाउँपालिकाको कार्यालय पुग्न सहजता हुने बंगलाचुली गाउँपालिका–४ का अध्यक्ष डाँसबहादुर डाँगी बताउँछन् । गाडी हिँड्ने मोटरबाटो नहुँदा अहिले वडाबासीलाई गाउँपालिका पुग्न हिँड्नुपर्ने र गाडीमा जानका लागि घोराही बजार आएर कमिरेचौर पुग्नुपर्ने बाध्यता रहेको भन्दै वडाध्यक्ष डाँगीले वैकल्पिक माग निर्माण भएमा धेरै सहजता हुने उनले बताए ।

त्यससँगै वैकल्पिक मार्ग निर्माण भएमा सिमेन्ट उद्योगका लागि चुनढुगा बोक्ने टिप्परका लागि छोटो बाटो हुने र घोराही–कमिरेचौर–मुर्कुटी हुँदै प्युठान जाने सडकको अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ । टिप्पर सञ्चालनका लागि वैकल्पिक मार्ग नहुँदा धेरै रकम खर्च गरेर निर्माण गरिएको बंगलाचुली गाउँपालिका हुँदै प्युठान जोड्ने सडक जीर्ण अवस्था छ । यसले गर्दा नागरिकलाई याता गर्दासमेत समस्या हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्